संविधान संशोधनको एजेन्डा सेलाएको छैन

रामनरेशप्रसाद यादव पर्सासँगै प्रदेश २ कै लागि चिनिएको नाम हो । २०२५ सालमा वीरगञ्जको वगहीमा जन्मेका यादवले बगहीमा रहेको श्री महानन्द प्रसाद उपाध्याय स्कुलमा २५ वर्षसम्म अध्यापन गराए । उनी शिक्षक पेसासँगसँगै समाजिक संस्था जिल्ला समन्वय समिति पर्साको अध्यक्ष भई लामो समय सक्रिय रहे । यस्तै नेपाल रेडक्रस सोसाइटी पर्सामा १२ वर्ष सक्रिय रही समाजिक कार्यमा योगदान पु¥याएकोले उनी पर्साका लोकप्रिय समाजसेवीको रूपमा स्थापित छन् । सामाजिक कामका साथै राजनीतिमा समेत लागेका यादव तत्कालीन संघीय समाजवादी फोरम नेपालमा आबद्व हुँदै प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । प्रदेशसभमा पराजित भएका उनी हाल समाजवादी पार्टी पर्सा जिल्ला अध्यक्ष छन् । अध्यक्ष यादवसँग समसमायिक विषयमा सौर्य दैनिकका लागि सन्तोष पौडेल र बलिराम यादवले गरेको संवादको सम्पादित अंशः

पर्साले मुख्यमन्त्रीलगायत धेरै जनप्रतिनिधि पाएको छ । तर, यहाँको विकासले भने गति लिन सकेको छैन किन होला ?
–पर्साको हकमा यो सही हो । सबैले केही नगरेको होइन, राम्रो काम गर्ने पनि छन् । केही निर्वाचित जनप्रतिनिधि जनमुखी नभएर व्यक्ति विशेष र व्यक्तिवादी भई कार्यपालिकालाई कम्पनीको रूपमा चलाएका छन् उनीहरूमा म नै सर्वपरी हुँ, बाँकी केही होइनन् भन्ने छ, त्यसले विकास हुदैन् । विकास निर्माणको कार्यमा जबसम्म जनताको सहभागी र साझेदारी हुँदैन तबसम्म जनताले विकासको अनुभूति गर्न सक्दैनन् । हाम्रो पार्टीले पालिका अध्यक्षको कामको अनुगमन गरेको छ र जनताको पक्षमा काम गर्न निर्देशन दिएको छ । नप्रतिनिधिको कामका बारेमा पार्टी अध्यक्षलाई जानकारी गराइएको छ । यदि त्यस्ता व्यक्ति समयमै पार्टीको धारमा उभिएर विकास निर्माणको कार्यलाई अगाडि बढाएन भने पार्टीको विधि विधानअनुसार कारबाही गर्ने प्रक्रिया अगाडि बढाइने छ ।

राजपा र सपा मिलेर बनेको प्रदेश सरकारले गरिरहेको कामलाई कसरी हेर्नुभएको छ ?
–पर्साले प्रदेश नम्बर २ को मुख्यमन्त्री पाउनु हाम्रो लागि सौभाग्य हो । स्वच्छ छवि र प्रस्ट रूपले विकासको अवधारणा लिएर अगाडि बढ्ने भिजन भएका मुख्यमन्त्री प्रदेशले पाएको छ । प्र्रदेशमा समाजवादी र राजपाको मिलिजुली सरकार छ । सपाको एक्लो छैन त्यसैले मन्त्रालय मिलिजुली छ । अहिलेसम्म हेर्दा सबै मन्त्रालयको काम सन्तोषजनक छ भन्न सकिने अवस्था छैन । तर, व्यक्तिगत रूपमा मुख्यमन्त्रीले यो प्रदेशमा अघिसारेको ‘बेटी बचाउ, बेटी पढाउ’ र ‘मुख्यमन्त्री स्वच्छता अभियान’ भने राम्रो छ । मुख्यमन्त्रीले ल्याएका ‘छोरी बिमा’ योजना अरू प्रदेशले पनि लागू गरिरहेका छन् । तसर्थः यी योजना अरू प्रदेशले पनि स्वीकार्य गरिरहेका छन् । यो अन्य प्रदेशको लागि प्रेरणा बन्दै छ । यति हुँदा हुँदैन मन्त्रालयहरूले गरेको काम चित्तबुझ्दो भने छैन ।

प्रदेशलाई समृद्ध बनाउन सरकारका लागि तपाईँको सुझाब के छ ?
– प्रदेश २ लाई भौगोलिक रूपमा सधैँको लागि परनिर्भरता रहिरहून् भन्ने जस्तो बनाएको छ । यो प्रदेश जमिन र जंगलको हिसावले प्रकृतिले दिएको एउटा उर्वरभूमि हो । कृषिमा नविनतम काम गरेर अघि बढ्ने हो भने यो प्रदेश समृद्ध बन्छ । यस्तै प्रदेशमा भएको सार्वजनिक सम्पति र धार्मिक स्थलहरूलाई संरक्षण, सम्वर्धन गरी यहाँको पर्यटकीय स्थलहरूलाई साधन स्रोत समपन्न रूपले विकास गर्न पर्छ ।

त्यस्तै वीरगञ्जदेखि पथलैयासम्मको औधोगिक करिडोरलाई व्यवस्थापन गरी व्यापार व्यवसाय फस्टाउन सहयोग पुगने गरी योजनासहित कार्यावन्वय गरिनुपर्छ । यसले प्रदेशसँगै सिंगो मुलुक समृद्व हुन्छ । अन्य प्रदेशको तुलनामा यो प्रदेशमा टेक्नीकल कलेज, मेडिकल कलेज, शिक्षण अस्पताल आदिको अवस्था कस्तो छ हेरिनुपर्छ । अहिले जनकपुरमा महर्षी राजाको नामबाट विश्वाविद्यालय आउने सुनिएको छ । देशलाई सबैभन्दा बढी राजस्व दिई मुलुकलाई टेवा पु¥याउने ठाउँमा यस्ता पूर्वाधारहरू बनाउनुपर्छ ।

संविधान संशोधनको एजेन्डासहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो । तर, संविधान संशोधन नै नगराई सरकारबाट बहिरएयो । अब संविधान संशोधनको मुद्दा के हुन्छ ?
–नेपाल कम्युनिस्ट पार्टीसँग बहुमत हुँदाहुँदै ०६३ देखि ०७४ सम्मको राजनीतिक घटनाक्रमलाई विशलेषण गरेर समाजवादी पार्टीले दुई बुदेँ सहमती गरी सरकारमा सहभागी भएको थियो । तर पटक पटक मन्त्रीमन्डलमा प्रधानमन्त्रीज्यूसँग उपेन्द्र यादवजीले संविधान संशोधनको कुरा गर्दा आश्वासनमै सिमित राखियो । यस्तै बेला उहाँलाई स्वास्थ्य मन्त्रालयबाट हेरफेर गरी कानुनमन्त्री बनाइयो । त्यस्ले संविधान संशोधनको प्रस्ताव क्याबिनेटमा लैजान सजिलो बनाएको थियो । संविधान संशोधनको प्रस्ताव लैजाने अधिकार कानुन मन्त्रीलाई हुन्छ ।

त्यसकारण कानुन मन्त्रीको हैसियतले मन्त्रीमन्डलको पहिलो बैठकमा संविधान संशोधन बिज्ञ कमिटि गठन गर्नको लागि उहाँले प्रस्ताव लैजानु भयो । मुख्यतः संविधान संशोधनको चरणमा प्रवेश गराउनको लागि मन्त्रीमन्डलमा लिखित प्रस्ताव जादाँ पढदै नपढी प्रधानमन्त्रीजीले संविधान संशोधनको बारेमा दायाँ बायाँ कुरा गरेको भन्दै सञ्चार माध्यममा बोल्नुभयो । प्रधानमन्त्रीले संविधान संशोधनको विषय बैठकमा प्रवेश गराउन नचाहेपछि सरकार त्यसको पक्षमा नरहेको प्रस्टै देखियो । यसमा वेवास्ता गरेकोले सरकारमा बस्नुको औचित्य नदखेर सरकार छाडेको हो । तर, संविधान संशोधनको एजेन्डा सरकारमा बस्दा वा हट्दा उत्तिकै महत्वको छ । ओझेलमा परेको छैन ।

बहुमत आए सत्ताको भोग गर्ने पराजित भए अधिकारको लागि भन्दै आन्दोलन गर्ने आरोप छन् नि तपाईंहरूलाई !
–सपाले कहिल्यै बहुमत प्राप्त गरेको छैन । ०६४ मा ५४÷५५ सांसद थिए । त्यसपछि कम हुँदै अहिले १६ वटा सांसद छ । सरकारमा जानु हाम्रो रहर होइन बाध्यता हो । सरकारसँग नजिक भएपछि हाम्रो कुरा पनि सुनिन्छ कि भनेर सरकारमा गएको हो । यदि उपेन्द्र यादवजी स्वास्थ्यमन्त्री नभएको भए राजविराजमा नर्सरी हस्पिटल बन्ने थिएन । यस्तै नारायणी उप–क्षेत्रीय अस्पताल केन्द्रीय अस्पतालको रूपमा परिणत हुन गाह्रो थियो । जहाँ एमबिबिएस पढाइ हुन्छ । यसको टेन्डर भइसकेको छ, शिलन्यास हुन बाँकी छ । तसर्थ उहाँ स्वास्थ्यमन्त्री भएका वेला स्वास्थ्यको क्षेत्रमा धेरै उन्नति भएको छ ।

अधिकारका क्षेत्रमा यहाँहरूको कुन–कुन माग पूरा भए, बाँकी के छ ?
–हाम्रो लिखित ११ बुँदे माग छ । अन्तरिम संविधानले इन्डोर्स गरेको समानुपातिक समावेशिका कुराहरू २०७२ सालको संविधान निर्माणमा छोडिएको थियो । भूगोल र संख्याको आधार जुन भूगोल छुट्याइएको छ, त्यसमा पनि हाम्रो पार्टीको अवधारणा सात प्रदेशमा चित बुझेको छैन । हाम्रो अवधराणा दश प्लस एक प्रदेश हो । कहि जनसंख्याको आधारमा कही भू–गोलको आधारमा अवैज्ञानिक किसिमले क्षेत्रहरू विभाजन गरिएको छ, त्यो निन्दनीय छ । कुनै सिमित ठाउँको लागि भू–गोल हेरेर बनाउन सक्छौँ । तर, हामी कहाँ कसरी मधेसीहरू दबिएर संख्यात्मक रूपमा कम रहन्छन् भने गणितीय खेलका आधारमा क्षेत्र विभाजन भएको छ । समानुपातिक समावेशी हुँदा हुँदै पनि अहिले लोक सेवा आयोगले मधेसी, दलित, जनजाति आदिजस्ता आरक्षण हटायो ।

समाजवादी पार्टी सरकारबाट बाहिर आए राजपाले सपासँग एकता गर्ने प्रस्ताव राखेको थियो अब राजपा र सपाको एकता होला छ ?
–राजपा र सपाको विचारधारा र सिद्धान्त मिल्ने भएकोले पार्टी एकीकरण ठुलो कुरा होइन । राष्ट्रियसभा निर्वाचनसँग पार्टीको एकीकरणलाई दाँज्नु हुँदैन । राजनीतिक रूपमा भएको सम्झौता हो भने दुवै पार्टीको आधारभूत मौलिकतालाई आधार बनाएर पार्टी एकता हुन्छ । त्यसका लागि सरकारबाट बाहिरिएपछि वातावरण सहज हुँदै गएकाले एकीकरणको ढोका खुल्ला भएको छ ।

राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाबीच सहमति भएमा तपाईंहरूले नेपाली कांग्रेस सहमति गर्ने कुरा आएको छ । यस्ले मधेसी दलको गठबन्धन टुट्दैन ?
–असहज परिस्थिति सिर्जना भएपछि पार्टीगत ध्रुवीकरण हुनु सवभाविक हो । अहिले राजनीतिक विचलन भएपछि कांग्रेस देशको अहम पार्टी हो, त्यसकारण कांग्रेससँग सहकार्य हुनुलाई स्वाभाविक मान्नुपर्छ । निर्वाचनमा सबै पार्टीले आफ्ना प्रतिनिधि अगाडि बढाउँछन् । यो निर्वाचनमा निकै प्रतिस्पार्धा हुन्छ । त्यसैले, पार्टीले कांग्रेससँग सहकार्य गरेको हो । राजपाले पनि त्यसैका आधारमा नेकपासँग सम्झौता गरेको होला ।

यदि कुनै कारणबस यो प्रदेशमा राजपा र नेकपाको सरकार बन्यो भने प्रदेश नम्बर २ बाट राजपा समाप्तै भइहाल्छ । प्रदेश नम्बर २ का जनताले राजपा वा समाजवादी पार्टीको सरकार हुने माइन्डेड नै दिएका छन्् । यो दुवै पार्टी मधेस आन्दोलनबाट उब्जेको हो । फरक यति हो, मधेसको मुद्दासँगसँगै मधेसी जस्तो अपहेलित र पहँुचभन्दा टाढा रहेका पहाड र हिमालमा बस्ने दलित, जनजाती, आदिवासी, अल्पसंख्यकको मुद्दा पनि हाम्रो पार्टीले स्वीकार्य गरेको छ । त्यसकारण यस विषयमा राजपाका नेताहरूलाई अवगत छ ।

अपराध र भ्रष्टाचारको सवालमा वर्तमान सरकारले चालेको कदमलाई कसरी लिनुभएको छ ?
–अपराध, भ्रष्टाचार विरुद्ध कदम चाल्नु सकारात्मक काम हो । तर, कुनै देश, भावना र हेर्ने दृष्टिकोणको हिसाबले नेपाल सरकारले अगाडि बढाएको प्रक्रियालाई हामीले निन्दा गर्छांै । तसर्थः गतल गरेकोलाई कानुनी प्रक्रियामा ल्याएर कारबाही होस । तर, केन्द्रिकृत सत्ता सञ्चालकहरूले प्रदेश २ पनि नेपालकै प्रदेश हो भन्ने कुराको आभास दिन सकेको छैन ।

यो पनि नेपालको नक्साभित्रकै प्रदेश हो, यसलाई दोस्रो दर्जाको रूपमा नहेरी हरेक कुरामा समान रूपले लिएर जानु पर्ने दायित्व सरकारको हो । मुख्यतः भ्रष्टाचारीविरुद्ध कारबाहीको प्रक्रिया बढ्नु सराहनीय कु्रो हो । सरकारले पूर्वसभामुख महरा र आलमविरुद्ध चालेको कदम राम्रो हो । नेपालको इतिहासमा यस्तो निर्णय कहिले पनि भएको थिएन, यो पहिलोपटक हो । यहाँको जनताको बुझाइमा जनताले निमुखाहरूको लागि मात्रै कानुन हो हुनेखानेको लागि छैनन् भन्ने कुरा तोडिएको छ ।

पर्सा पार्टीभित्रको गुट उप–गुटलाई कसरी निराकरण गर्दै हुनुहुन्छ ?
–पर्सामा जस्तो समाजवादीको जित कुनै जिल्लामा भएको छैन् । यहाँ सपाबाट ३ वटा संघीय सांसद, ५ प्रदेश सांसद र महानगरको मेयर सहित २ वटा गाउँपालिका अध्यक्ष जितेको छ । यसमा वामपन्थी, प्रजातान्त्रिक र मधेसवादी धाराबाट आएका छन् । यी फरक–फरक परिवेशबाट आएका नेता कार्यक्रर्तालाई एक बनाउन समय लाग्छ । यसैलाई गुट उप–गुटको संज्ञा दिनु हुँदैन । म जिल्ला अध्यक्ष भएपछि सबैलाई एक ठाउँमा ल्याएर पार्टीको साझा एजेन्डाको नजिक ल्याउन प्रयास गरेको छु । यहाँ कुनै गुट छैन ।

प्रतिक्रिया