टनर्सिङ संघमा प्रगतिशील समूहको क्लिनस्विप

काठमाडौं । नेपाल नर्सिङ संघको नेतृत्वमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध नर्सहरूको प्यानल नै विजयी भएको छ ।

बुधबार काठमाडौंमा सम्पन्न संघको १९औँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष निर्वाचित भएकी नेकपा समर्थित प्रगतिशील समूहकी मनकुमारी राईले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी हुन् । बिहीबार सार्वजनिक चुनाव परिणामअनुसार अध्यक्षमा राई १२ सय मतको फराकिलो अन्तरसहित निर्वाचित भएकी हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस समर्थित प्रजातान्त्रिक समूहकी मुना राना थापाले २ हजार ८५ मत प्राप्त गरिन् । अध्यक्षसहित सबै पदमा नेकपा समर्थित उम्मेदवारले क्लिनस्विप गरेका हुन् । नर्सिङ संघका वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानियाँ, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली र कोषाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरूमा विजया अधिकारी, हरिप्रसाद कोजु, सोनु शेर्पा, सपना विक, सन्जुकमारी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसी निर्वाचित भएका छन् । देशभरमा २१ वटा मतदानकेन्द्रमा बुधबार मतदान भएको थियो ।

नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ८९ हजार ७ सय ८७ नर्स दर्ता भइसकेका छन् । नर्सिङ अभ्यासका लागि अनुमति पाउनेको संख्या यति धेरै ठूलो भए पनि पेसागत संगठन संघमा आबद्ध हुने नर्सको संख्या भने ज्यादै न्यून देखिन्छ । संघले यसपटकको निर्वाचनका लागि कुल १५ हजार १ सय ५९ मतदाता रहेको जनाएको थियो । यसपटकको चुनावका लागि अन्तिम समयमा आएर उल्लेख्य मात्रामा मतदाता बढेका थिए । हरेक ३ वर्षमा हुनुपर्ने संघको निर्वाचन २ वर्ष ढिलो गरी ५ वर्षपछि भएको हो ।

संघकी निवर्तमान सचिव लक्ष्मी केसीका अनुसार २१ मतदान केन्द्रमध्ये धरान, विराटनगर, वीरगञ्ज र लमजुङमा मुना राना समूहको समावेशी प्यानलले जित हासिल गरेको थियो । अन्यत्र भने राई नेतृत्वको प्यानल हाबी भएको थियो । सधँै प्रगतिशील प्यानल हाबी हुने नर्सिङ संघमा यसपटक पेसागत समूहले कडा टक्कर दिने र प्यानल भत्किनेसम्म कतिपयको अनुमान थियो ।

तर प्रगतिशीलले सो अनुमानलाई गलत सावित गर्दै प्यानल नै विजयी गराएको छ । दुवै अध्यक्षका उम्मेदवार महाराजगञ्ज नर्सिङ क्याम्पसका प्राध्यापक हुन् । प्रा. राई गत वर्ष सेवा निवृत्त भएकी थिइन् । राई प्रा. थापाकी गुरु समेत हुन् ।

एकतिहाइ मात्रै मतदाता सहभागी
संघको मतदानमा करिब एकतिहाइ मतदाताले मात्र मतदान गरेको पाइएको छ । यसै पनि कुल नर्सको १६ प्रतिशत मात्रै छाता संघमा आबद्ध रहेका छन् । यो निर्वाचनमा संघका कुल मतदाता १५ हजार १ सय ५९ थिए । त्यसमा पनि यसपटक अन्तिम समयमा आएर उल्लेख्य मात्रामा मतदाता बढेका थिए ।

तर, निर्वाचनमा करिब साढे ५ हजारले मात्र मतदान गरेका थिए । यसरी हेर्दा संघमा आबद्ध नर्सहरूको पनि संस्थाप्रति खासै आकर्षण नभएको देखिन्छ । अध्यक्षका दुई प्रत्याशीबीच मात्र भएको प्रतिस्पर्धामा राई र थापाको कुुल मत ५ हजार ३ सय ६१ मत प्राप्त गरेका थिए । यसरी हेर्दा ९० हजार नर्सको नेतृत्व गर्ने छाता संघको नेतृत्व चयनमा जम्मा साढे ५ हजार नर्स सहभागी छन् ।

प्रतिक्रिया