पर्यटकको सुविधा र सन्तुष्टि नै हाम्रो उद्देश्य

यति वेला धेरै मान्छेका लागि छोटो समय बिताउने र घुम्ने रमाइलो ठाउको रोजाईमा परेको छ राजधानी काठमाडौं नजिकै रहेको चन्द्रागिरि केबलकार । केबुलकारको यात्रा गरी डाँडामा गएर भालेश्वर मन्दिरको दर्शन गर्ने र वरपरको रमणीय दृश्य अवलोकन गर्नेका लागि यो ठाउँ निकै लोकप्रिय वनदै गएको छ । हरियो विनका बीचबाट सरर केबुलकारमा माथि पुग्दा र त्यहाँको चिसो हावामा एकछिन समय बिताउँदा जो कोहीलाई आनन्द लाग्छ । कम्पनीले आफू छोटै समयमा स्थापित भएको र थारै खर्चमा कम समय हुनका लागि घुम्न यो उपयुक्त स्थान रहेको बताउने गरेको छ । यस सम्वनधमा कम्पनीका महाप्रवनधक अभिषेक विक्रम शाहसँगै सौर्य दैकिका लागि चमिना भट्टराईले गरेको सवांदको अंशः

चन्द्रागिरि केबलकारको अवस्था कस्तो छ ?
–यो केबलकार सन २०१६ सुरु भएको हो । यसले छोटो समयमा नै राम्रो प्रगति गरेको छ । सुरु गर्दा ४ जनाले काम गर्थे अहिले विभिन्न क्षेत्रमा गरी यस कम्पनीमा काम गर्ने कर्मचारीको संख्या तीन सय पुगेको छ । यसैको माताहतमा रिसोर्टसमेत सञ्चालनमा आएको छ । हामीले १० महिना भयो रिसोर्ट सञ्चालन गरेको । यसलाई समय अनुकूल अझै विकास र सेवामूलक वनाउँदै लैजाने छौँ । हाम्रो ध्यान यहाँ आउने पर्यटकलाई राम्रो सुविधा कसरी दिन सकिन्छ भन्नेमा छ । अहिले यस केबलकार र यहाँ रहेको भालेश्वर मन्दिर प्रति मान्छेको ध्यान बढेको छ । त्यसैले केबलकारको अवस्था दिन दिनै राम्रो हुँदै गएको छ ।

केबलकारसँगै पृथ्वी नारायणको सालिक किन बनाउनु भयो ?
–चन्द्रागिरिसँग पृथ्वीनारायण शाहको सम्बन्ध गाँसिएको छ । विभिन्न टुक्रामा विभाजित रहेको मुलुकको एकीकरणको सुरुआत यहीँबाट भएको हो । त्यो ऐतिहासिक काम उनै पृथ्वीनारायण शाहले गरेको भएर इतिहासलाई मेटाउनु हुँदैन भन्ने सोचका साथ सालिक बनायौँ । इतिहासलाई जीवित राख्न र नयाँ पुस्तालाई उहाँका बारेमा स्मण गराई राख्ने उद्देश्यले नै यहाँ पृथ्वीनारायण शाहको शालिक निर्माण गरेका हौँ । यहाँ आउने सबै जसो पर्यटकले उक्त शालिकको अवलोकन र दृश्य लिने गरेका छन् । यहाँ रहेको सालिकप्रति सबैको राम्रो प्रतिकृयासमेत पाएका छौँ ।

यहाँ केवरकार सञ्चालनमा आउनुपूर्व भालेश्वर मन्दिरको अवस्था कस्तो थियो ?
–सानो थुम्को जस्तो थान थियो । जहाँ यहाँ नजिक रहेका मान्छेले श्रद्र्धाले पूजा गर्थे । यसलाई हामीले नै पगौढा शैलीमा वनाएका हौँ । यहाँ केबुलकार वनेपछि यस मन्दिर र यस ठाउँका बारेमा धेरै मान्छेले जानकारी पाएका छन् । पहिला भालेश्वर मन्दिर कमैलाई थाहा थियो र चन्द्रागिरिको बारेमा इतिहास पढनेले थाहा पाएका थिए । अहिले यहाँ आउने सबै धार्मिक आस्था भएका पर्यटकले मन्दिरको दर्शन गर्छन । यस ठाउँलाई हामीले पर्यटकीय रूपमा विकास गर्न यो मन्दिर पनि निर्माण गरेका हौँ ।

यहाँ आउने पर्यटक कस्ता कस्ता हुने गरेको पाउनु भएको छ ?
–यहाँ आउने स्वदेशी एवं विदेशी पर्यटक फरक फरक प्रकारका हुने गरेकाछन् । कोही सेल्फी खिच्न आउँछन्, कोही समय बिताउन । कोही धार्मिक दृष्टिले, हाइकिङ गर्न, स्वच्छ हावा खाने दृष्टिले । खास गरी काठमाडौंबाट नजिकै रहेको र यातायातको समेत सुविधा भएकाले दुई चार घण्टा आएर समय बिताउन पनि धेरै आउँछन् । यहाँ आउँदा उपत्यका लगायतको रमरणीय दृश्य देख्न पाउनुको साथै खर्च पनि कम हुने भएकाले मान्छेको रोजाइ वनेको छ ।

मान्छेका आफ्ना रोजाइ र बुझाइ हुन्छन् । मैले बुझेअनुसार चन्द्रागिरि हरेक मान्छेको लागि रमाउन वा शान्त भएर केही समय बिताउने ठाउँ हो त्यसैले यहाँ हरेक प्रकारका मान्छे आउने गर्छन् । खास गरी हिउँ परेका बेला युवाहरू बढी आउँछन् । यहाँ गर्मी महिनामा पनि चिसो हुने भएकाले पनि सधैँ भरी उत्तिकै मान्छे आउँछन् ।

केबलकार बनाउँदा धेरै रूख काटिए, वन नाश भयो भन्ने आलोचना पनि थियो नि ?
–कहाँ भएको छ वन विनास ? चन्द्रागिरि केबलकार वनाउँदा साना ठूला गरी जम्मा एक सय ६० वटा रूख काटिएको हो । त्योबाहेक कहीँ कतै पनि रूख काटिएको छैन । हामीले काटिएको भन्दा धेरै विरुवा रोपेका छौँ । बरू केबलकार वननु पहिला धेरै रुख काटिन्थे । यहाँ प्रसस्त गुराँस पाइन्छ । गुराँसको काठको कोइला सुन पगाल्नका लागि राम्रो हुने रहेछ । त्यसैले कोइला वनाउनका लागि काटिन्थ्यो । हामी आएपछि यहाँ रहेका वन्यजन्तुको पनि संरक्षण भएको छ । वातावरण राम्रो भएको छ । पहिला पानीको व्यवस्था नभएकाले जनावरलाई खाने पानीको समस्या थियो । हामीले उनीहरूका लागि ठाउँ ठाउँमा खाने पानीको व्यवस्था गरेका छौँ । त्यसैले पानी खान जनावर आउँछन् । ड्रम राखेर पानी खाने व्यवस्था भएको छ । हामीले त भएका रूखको संरक्षण गरी नयाँ विरुवासमेत रोपेका छौँ । त्यसैले यो गलत कुरा हो ।

यहाँ कुन कुन जनावर छन् ?
–चितुवा, मृग, सारस, कालिज, जरायो, रतुवा, दुम्सी जस्ता जनावर यस वरपरका जंगलमा छन् । यिनीहरू बेला बेला देखिन्छन् । हामीले जंगलको ठाउँ ठाउँमा पानी खाने व्यवस्था गरिदिए पछि तिनीहरूलाई सजिलो भएको छ । ती जनावरहरू कहिले काहीँ केबलकारबाट पनि देख्न सकिन्छ । हामी आए पनि तिनीहरूको पनि सुरक्षा भएको छ । पहिला सुनशान भएकाले चोरी शिकारी हुने गरेको सुनिन्थ्यो, अहिले त्यो रोकिएको छ ।

केबलकार वनाएपछि रचनात्मक काम के के गरिएको छ ?
–यहाँका स्थानीयलाई हित हुने गरी समाजिक काममा सहयोग गरेका छौँ । यो ठाउँ मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका र काठमाडौंको चन्द्रगिरि नगरपालिकामा पर्छ । हामीले फाकेलमा एक जना शिक्षकको सम्पूर्ण खर्च व्यहोर्ने गरेका छौँ । यस्तै थानकोटमा डिपबोरिङ गरेका छौँ त्यसले पनि सहज भएको छ । यस्तै स्थानीय बाटो वनाउने काम भएको छ । हाम्रो आफ्नै सहयोग र पहलमा बाटो वनेको हो । यहाँको बाटो वनाउने ५० प्रतिशत काम सकिएपछि हामी आएका हौँ । यस्तै स्थानीय सरकारसँग मिलेर मन्दिरमा चढेको भेटी फाउन्डेसनमा राख्ने गरेका छौँ । यहाँका जनतालाई हित हुने र यो ठाउँको संरक्षण विकास हुने काममा हाम्रो सबै प्रकारका साथ र सहयोग रहने गरेको छ ।

यहाँ आउने पर्यटकले बाहिरका खानेकुरा ल्याउन पाइँदैन, यहीँको किनेर प्रयोग गर्नुपर्छ भन्ने गुनासो छ नि ?
–हो । हामीले बाहिरबाट पकाएर ल्याएका खाने कुरा रोकेका छौँ । फलफूल ड्राइ फ्रुट रोकेका छैनौँ । बाहिरबाट ल्याएको खाना खाने र बाँकी रहेको जहाँ पायो फ्याँक्दा यहाँका जनावरले खाएर बिरामी पर्छन् । यस्तै यहाँको वातावरणमा पनि त्यसले असर पार्छ । विदेशमा पनि त्यसरी जहाँ पायो त्यहीँ खाने कुरा लगेर खाने र जहाँ पायो फाल्न पाइँदैन । डस्विनमा फोहर फाल्ने संस्कार अझै पनि सबैमा छैन । त्यसको विकास गर्नु जरुरी छ । त्यसैले रोकका छौँ ।

यो हाम्रो लागि मात्रै होइन चन्द्रागिरिमा आएर पनि फोहोर देखियो भने के अर्थ । कम्तिमा यहाँ आउनेले स्वच्छ हावा खान पाउनु प¥यो सबैतिर सफा वातावरण देखिनु प¥यो यो ठाउँमा । दुइ चार घण्टा समय बिताउनेले आनन्दको अनूभूति गरुन भन्ने हाम्रो उद्देश्य हो । कतिसम्म हुन्छ भने, डस्विनकै छेउमा फोहर फाल्ने तर डस्विनमा नहाल्ने पनि छन् । यहाँ आउने दर्शनार्थीलाई सहज होस् भनेर हामीले ठाउँ ठाउँमा डस्विन राखिदिएका छौँ । यस्तै सरकारले निषेधित गरेका प्लास्टिकका सामान ल्याउन रोकेका छौँ । यस्ता कुराले यहाँको वातावरणमा सकारात्मक प्रभाव पारेको छ ।

स्थानीयको सहयोग कस्तो पाउनु भएको छ ?
–अहिलेसम्म स्थानीयबाट राम्रो सहयोग पाएका छौँ । यहाँका जनाताले सुरुका दिनबाटै राम्रो सहयोग गरे । हामीले पनि स्थानीयलाई केबुलकार प्रयोगमा २५ प्रतिशत छुट दिएका छौँ । चन्द्रागिरि केबलकार चल्न थाले पनि यस ठाउँको पनि विकास भएको छ । सुरुका दिनमा यहाँ आउने बाटो राम्रो थिएन त्यसको मारमा यहाँका जना पनि थिए । आज बाटो वनेको छ । तल साना साना होटल खेलेका छन् । अन्य पसल पनि सञ्चालनमा आएका छन् । मान्छेले रोजगारी पाएका छन् । यसले यहाँका जनतालाई पनि हित गरेको छ भन्ने हामीलाई लाग्छ । सुरुदेखि अहिलेको अवधिसम्म यहाँका जनताको राम्रो साथ पाएका छौँ ।

यतिका काम गर्दा समस्या पनि होला नि ?
–यो पनि विजनेश हो । हामीले राज्यलाई कर तिर्नुपर्छ । तर, सरकरले करको दायरा वैज्ञानिक वनाई दिनुप¥यो । अहिले कर प्रणाली वैज्ञानिक छैन । हामी थाहा नगरपालिका, इन्द्र सरोवर गाउपालिका र चन्द्रगिरि नगरपालिकामा कर तिर्छौं । अहिलेसम्म कार्यविधि नवनेकाले पनि समस्या छ । लगानी गरेर केही गर्छु भनेर अघि सर्ने व्यक्ति वा कम्पनीलाई काम गर्न सहज वातावरण वनाई दिनुपर्छ ।

कतिपय कामविना कारण अल्झनमा पर्ने गरेका छन् त्यसैले दु्रत मार्गबाट काम गर्ने वातावरण वनाइदिनु पर्छ । अहिले पनि कतिपय काम अलमलको अवस्थामा छन् । त्यसलाई कार्यविधि वनाई टुंग्याउनु पर्छ । यस्तै यस्ता काममा सरकारको संरक्षण र सहयोग हुनुपर्छ । यसले राज्यलाई हित आर्थिक विकासमा टेवा पु¥याउने भएकाले संरक्षण गर्ने दायित्व राज्यको पनि हो । अरू त खासै समस्या छैन ।

पर्यटन वर्ष सुरु हुनै लागेको छ । यो पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान भएकाले त्यसमा हित हुने गरी के योजना बनाउनु भएको छ ?
–हामीले पर्यटन वर्षलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएका छौँ । नेपाल भ्रमणमा आउने सबै पर्यटकलाई एक दिनका लागि यहाँ वास बस्न प्रेरित गर्नुपर्छ । भ्रमण वर्ष नारामा मात्रै सीमित नराखी व्यावहारिक वनाउनु पर्छ । हामीजस्ता निजी कम्पनी र सरकारले हरेक वर्ष यस्ता कार्यक्रम गर्नुपर्छ । हामी पर्यटकलाई यहाँसम्म आई यहाँको सुन्दर दृश्य अवलोकन गर्न उत्साहित गर्ने छौँ ।

सरकारले पनि यहाँको भौतिक विकासमा ध्यान दिएर उनीहरूको सुविधाका बारेमा ख्याल गर्नुपर्छ । यही पनि अहिले कलंकीको बाटोका कारण यात्रुलाई सहज भएको छ । पहिला निकै समस्या थियो । हामी आफ्नो तर्फबाट सरकराले अघि सारेका भ्रमण वर्ष सफल वनाउन हरेक दृष्टिले लाग्ने छौँ । हाम्रो तर्फबाट पर्यटकको सुविधा र सन्तुष्टि नै हाम्रो उद्देश्य हो । त्यस कुरामा कुनै पनि कमी रहने छैन ।

प्रतिक्रिया