काठमाडौं । स्वास्थ्यको समायोजनमा भएको त्रुटि मन्त्रिपरिषद् बैठकले सच्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समायोजनको क्रममा तह तथा पद घटुवा भएको त्रुटि सच्याउने निर्णय गरेको हो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निजामती किताब खानामा भएको विवरणअनुसार नै पद तथा तह कायम हुने गरी निर्णय भएको बताए । यसरी अब समायोजनका क्रममा देखिएको नाम र पदको विवाद समाधान हुने देखिएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले नाम, पदमा घटुवा नहुने गरी समायोजन गर्ने निर्णय गरेसँगै उक्त विवाद समाधान भएको हो ।
क्याबिनेटले निजामती किताब खानामै भएको नाम, पदअनुसार नै स्वास्थ्यको समायोजन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यस्तै, स्वास्थ्यको समायोजनमा देखिएको अर्कोे समस्या पनि हल हुने भएको छ । अब अप्राविधिक ठाउँमा समायोजन भएका प्राविधिकलाई प्राविधिक ठाउँमै समायोजन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
यसअघि कतिपय प्राविधिकहरू अप्राविधिक ठाउँमा समायोजन भएपछि त्यसले स्वास्थ्य संस्थाहरूमा समस्या देखिएको थियो । अब त्यसलाई सच्याइने भएको छ । मन्त्री ढकालले भने, ‘समायोजनका क्रममा कतिपय कर्मचारीको तह तथा पद घटुवा भएको रहेछ । त्यसलाई सोमबारको मन्त्रिपरिषद् बैठकले टुुंगो लगाएको छ । अब पद घटुवा हुँदैन ।’ यसअघि तह तथा पद घटुवामा परेका स्वास्थ्यकर्मीहरूले सर्वोेच्च अदालतमा मुद्दा हालेर व्यक्तिगतरूपमा समायोजनको घटुवा गर्ने निर्णय उल्ट्याउँदै आएका थिए ।
स्वास्थ्यले सर्वोेच्चको आदेश ल्याउने स्वास्थ्यकर्मीलाई समायोजन सच्याएर पठाउने निर्णय गर्दै थियो । त्यस्तै सोमबारकै बैठकले अप्राविधिक ठाँउमा पुगेका प्राविधिकलाई पनि फिर्ता गर्न सकिने निर्णय गरेको छ । मन्त्री ढकालले थपे, ‘अस्पतालमा काम गरिरहेको स्वास्थ्यकर्मी अथवा चिकित्सक स्थानीय तहमा जाने र त्यहाँ उसको विशेषज्ञता प्रयोगमा ल्याउन नसक्ने अवस्था पनि कतिपय ठाँउमा देखियो । यस्ता प्राविधिज्ञलाई पुरानै ठाँउमा वा काम लाग्ने ठाँउमा ल्याउन लैजान सक्ने निर्णय भएको छ ।’
काउन्सिलको रजिष्ट्रारमा डा.अधिकारी
नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. अधिकारीलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । सोमबारकै बैठकले रिक्त पाँच सदस्य पदमा डा. हरिहर अवस्थी, डा.सुप्रभात श्रेष्ठ, डा. प्रेनितकुमार पोखरेल, डा. सन्ध्या चापागाईं र किशोर विक्रम मल्ललाई नियुक्त गरेको हो ।
डा. कृष्ण अधिकारी र डा. सुप्रभात यसअघि पनि काउन्सिल सदस्य रहेका थिए । मन्त्री ढकालले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि यसअघिका स्वास्थ्य मन्त्री उपेन्द्र यादव रहेको समयमा मन्त्रिपरिषद्मा पेस गरेका प्रस्ताव फिर्ता मगाएका थिए । जसमा विभिन्न काउन्सिलहरूमा रिक्त पदमा पदपूर्ति गर्ने प्रस्ताव पनि थियो । मन्त्री ढकालले आफू एक्सनमा उत्रिएका छन् ।००
प्रतिक्रिया