इलाम । एकैपटक ४ वटा खोप लगाएपछि माङसेबुङमा डेढ महिने शिशुको मृत्यु भएको आरोप परिवारजनले लगाएका छन् । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइमा एकैपटक ४ वटा खोप लगाइएपछि त्यसको केही दिनमा डेढ महिनाकी बुनु देवानको मृत्यु भएको थियो ।
एकैपटक बिसिजी, एफआइटिभी, डिपीटी र पिभीसी खोप लगाएपछि बिरामी भएकी देवानको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शिशुलाई २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बिसिजीसहित ६ हप्ताभित्रमा लगाइसक्नुपर्ने एफआइटिभी, डिपीटी र पिभीसी एकैपटक दिइएको थियो । बिसिजी लगाउन ढिला भएको भन्दै एकैपटक ४ वटै खोप लगाइएको उनको परिवारले बताएको छ ।
खोप लगाएपछि बिरामी भएकी शिशुलाई विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष (आईसीयु) मा राखेर उपचार गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण सघन उपचार कक्षमा राखेर उपचार गर्न नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृत्यु भएको जनाइएको छ ।
यता स्वास्थ्यकर्मीहरूले खोपकै कारण शिशुको मृत्यु भएको भन्ने प्रमाण नभएकाले मृत्युको कारण अरू नै हुन सक्ने बताए । मृतकको परिवार र स्वास्थ्यकर्मीबीच भएको छलफलका सहभागी स्थानीय आदिपुर स्वास्थ्य चौकीका अहेब सुरेन्द्र साम्बाले खोपकै कारण बच्चाको मृत्यु भएको प्रमाण नभएको बताउँछन् ।
साम्बाले नेपाल सरकारको तालिकाअनुसार नै स्वास्थ्यकर्मीहरूले खोप दिएकाले मृत्युको कारण खोप नभएको जिकिर गरे । ‘स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको तालिकाअनुसार नै खोप दिएका हुन् । यदि त्यही कारणले भए खोप लगाएको आधा घण्टादेखि नै प्रतिक्रिया देखिन्थ्यो’ साम्बाले भने, ‘तर भोलिपल्टदेखि मात्र रुन थालेको भन्ने सुनियो । अभिवाकले तुरुन्त स्वास्थ्यकर्मीलाई देखाएनन् ।
बाहिर उपचारमा लगिएछ । तसर्थ खोपको कारण नै हो भन्न सकिँदैन ।’
सिमलटार सामुदायिक स्वास्थ्य इकाईमा कुमारी योङहाङ र सन्ध्या कार्की स्वास्थ्यकर्मीका रूपमा कार्यरत छन् । उनीहरूले नै शिशुलाई खोप लगाएका थिए । यस विषयमा बुझ्न माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप राईसँग सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ भएका कारण सम्पर्क हुन सकेन ।
यता माङसेबुङ गाउँपालिका–४ का वडाअध्यक्ष अमृत राईले घटनाको बारेमा आफूले ढिला मात्र जानकारी पाएकाले केही गर्न नसकिएको बताए । शिशु बिरामी भएको, उपचारमा लगिएको र मृत्यु भएको समेत ढिलो मात्र थाहा पाएकाले थप केही गर्न नसकिएको बताए । ‘मलाई २९ गते राति मात्र फोन गरेर परिवारले जानकारी दिए । सुरुमा नै जानकारी पाएको भए पोस्टमार्टम गर्न सकिन्थ्यो । त्यहाँबाट मृत्युको कारण थाहा हुने थियो’ अध्यक्ष राईले भने, ‘दाहसंस्कारसमेत भइसकेको हुनाले अरू केही प्रक्रियामा जान सकिएन ।’
यसैबीच सो घटना सार्वजनिक भए पनि मृतकका परिवारलाई गाउँपालिकाबाट आर्थिक सहयोग उपलब्ध गराईदिने शर्तमा घटना टुंग्याइएको छ । बिहीबार मृतकको परिवार, माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा, सामुदायिक स्वास्थ्य इकाइ, जनप्रतिनिधि र नागरिक समाजलगायतको छलफलमा मृतकको परिवारलाई गाउँपालिकाबाट राहत उपलब्ध गराउने सहमतिपछि घटनाको टुंगो लगाइएको छ ।
‘मृतकको परिवार र स्वास्थ्यकर्मीलाई राखेर छलफल गरियो । मृत्युको कारण यही हो भन्ने यकिन नभएकाले सबैको सहमति भयो’ वडाअध्यक्ष राईले भने, ‘शिशुको पोस्टमार्टम भएको भए सहज हुने थियो । सबै दाहसंस्कार गरिसकेछन् । यहाँबाट मृत्युको कारण यकिन हुन सकेन । त्यसैले विपन्न परिवार भएकाले गाउँपालिकाको राहत कोषबाट आर्थिक सहयोग उपलब्ध गराउने गरी सबै सहमत हुनुभयो ।’ मृतकका परिवारले राहत लिनका लागि वडा कार्यालयबाट सिफारिससमेत लिईसकेको वडाअध्यक्ष राईले जानकारी दिए ।
इलाम
प्रतिक्रिया