अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन नै हो

नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रूपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्पसहित राष्ट्रिय अभियानका रूपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन अब दुई साता मात्रै बाँकी छ । सन् २०२० जनवरी १ तारिखमा काठमाडौंको दशरथ रंगशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । सरकारले उद्घाटन समारोहमा विश्वका ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा दिइसकेको छ । यो अभियानको नेतृत्वकर्ता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको भ्रमण वर्षको मुख्य तयारी र नीतिगत सुधारका काममा व्यस्त छन् । नेपाली राजनीतिमा आशा र भरोसा गरिएका युवा नेतामध्येका एक भट्टराई आफूले परीक्षाकै रूपमा मन्त्रालयको नेतृत्व लिइरहेको र आफ्नाबारेमा वस्तुगतरूपमा मूल्यांकन गरिदिन आग्रह गर्छन् । मन्त्री एवं सत्तारूढ नेकपाका स्थायी कमिटीका सदस्य भट्टराईसँग नेपाल भ्रमण वर्षको तयारीलगायत मन्त्रालयको कार्यभारसँग सम्बन्धित विविध विषयमाका लागि प्रकाश सिलवाल र सिबी अधिकारीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

हालै नेपालमा दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न भएको छ, यसले नेपाल भ्रमण वर्षलाई कुन रूपमा सघाएको ठान्नहुन्छ ?
नेपालमा साग ऐतिहासिकरूपमा सम्पन्न भएको छ, नेपाली खेडालीले उत्साहजनक परिणाम पनि दिएका छन् । व्यवस्थापकीय, पूर्वाधार, नेतृत्वको क्षमता वा बाह्य प्रस्तुतिजस्ता सबै दृष्टिकोणले साग भव्य भएको छ । यसले नेपालीको आत्मबल बढाएको छ । यस आयोजनाले नेपाल जस्तोसुकै अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गर्न सक्षम छ भन्ने उदाहरण हामीले प्रस्तुत गरेका छौँ । हामी यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन र उच्चस्तरीय भ्रमण नेपालमा सफल गराइसकेका छौँ । सागका अवसरमा भएका विभिन्न सम्बोधन र भेटघाटले भ्रमण वर्षको तयारीलाई महत्वपूर्ण टेवा दिएको छ ।

सागका अवसरमा आएका विशिष्ट पाहुनासँग भ्रमण वर्षका लागि तपाईंको विशेष छलफल भयो कि ?
सागका अवसरमा उद्घाटन र समापानका साथै खेलहरू हेर्न जाने क्रममा मेरो खेल क्षेत्रका अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि, सेभ द मिसनसँग अनौपचारिक भेटघाट र कुराकानी भयो । उहाँहरू भ्रमण वर्षबारे जानकार नै हुनुहुँदो रहेछ । उहाँहरूको सद्भाव र समर्थन सम्पूर्णरूपमा हाम्रो नेपाल भ्रमण वर्षका लागि रहेको महसुस गरेँ । त्यसकारण हामीले भ्रमण वर्ष तयारी गरिरहँदा सागको नेपालमा आयोजना हुनु एक सुखद संयोगमा रूपमा लिनुपर्छ । राष्ट्रिय खेलकूद परिषद् र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीले पनि उहाँहरूलाई भ्रमण वर्षको तयारीबारे अवगत गराउनुभएको रहेछ । त्यो कुरा उहाँहरूको मन्तव्यमा पनि व्यक्त भयो । स्वयं सम्माननीय प्रधानमन्त्रीको समापन सम्बोधनमा यो विषय परेको थियो ।

विभिन्न गतिविधिहरू त भइरहेका देखिन्छन्, अहिले नेपाल भ्रमण वर्षको समग्र तयारी कुन रूपमा भइरहेको छ ?
भ्रमण वर्ष खासमा हामीले सन् २०२० लाई लक्षित गरेर घोषणा गरे पनि यो निरन्तर चलिरहने प्रक्रिया हो । भ्रमण वर्ष सन् २०२० को जनवरी १ मा सुरु भएर डिसेम्बर ३० मा सकिने विषय होइन । अब नेपालमा ‘पर्यटनका लागि एक दशक’ भन्ने नाराका साथ हामी एक योजना बनाएर अघि बढ्छौँ । विशेषगरी अहिले जनवरी १ को उद्घाटन शत्रको तयारीमा हामी जुटेका छौँ । देशभित्र जनवरी १ मा काठमाडौं उपत्यकासहित सातवटै प्रदेशमा र देशबाहिर जनवरी ७ मा एकसाथ भ्रमण वर्षको उद्घाटन हुनेछ । अहिले हामी यसको मुख्य तयारीमा छौँ । तयारीका लागि विभिन्न सरोकारवाला संघ संगठनसँग मैले नियमितजसो छलफल र अन्तक्र्रिया गरिरहेको छु । साथै, भ्रमण वर्षको सचिवालय, नेपाल पर्यटन बोर्ड, मन्त्रालयका सबै जनशक्ति यसमा सम्पूर्ण शक्ति लगाएर तयारीमा जुटेका छौँ । हामीले सम्पूर्ण ध्यान यसमा लगाएका छौँ ।

भ्रमण वर्षको उद्घाटन समारोहमा कति देशका कस्ता विशिष्ट व्यक्ति सहभागी हुँदै छन् ?
भ्रमण वर्षको शुभारम्भ सम्माननीय राष्ट्रपतिबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जनवरी १ का दिन भव्य समारोहका बीच हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भ्रमण वर्षलाई सफल बनाउन विश्व समुदायलाई विशेष आह्वान गर्नुहुनेछ । यसका लागि देशभित्रका सबै राजनीतिक दललाई हामी निमन्त्रणा गर्छौं । मन्त्रिगण, उच्च सरकारी अधिकारी, राज्यका सबै अंग र निकाय, सुरक्षा निकाय प्रमुख र उच्च कर्मचारीका साथै उद्योगी, व्यवसायी, नागरिक समुदायलगायत सम्पूर्ण क्षेत्रलाई भ्रमण वर्षको समारोहमा निमन्त्रणा पठाउँछौँ ।

अन्तर्राष्ट्रिय हिसाबले पनि यसलाई भव्यता दिन हामीले विभिन्न देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरेका छौँ । करिब ४० देशका पर्यटनमन्त्रीलाई हामीले निमन्त्रणा पठाएका छौँ र पाहुनाहरूको निरन्तर ‘फलोअप’ भइरहेको छ । कति देशका कस्ता विशिष्ट व्यक्ति आउनुहुन्छ भन्ने उहाँहरूको ‘कन्फरममेसन’ पछि हामी केही दिनभित्रै सार्वजनिक गर्छौैं । उद्घाटनकै लागि हामीले पर्यटन क्षेत्रसँग क्रियाशील विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसमेतलाई निमन्त्रणा गरेका छौँ ।

पर्यटकीय पूर्वाधारको क्षेत्रमा सुधार आइनसकेको स्थितिमा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सकिएला ?
यस्तो हुन सक्छ, सबै पूर्वाधार पूरा गरौँ अनि पर्यटकलाई बोलाउ भन्ने कुरा युक्तिसंगत होइन । पूर्वाधारको काम पनि सँगसँगै हुँदै गर्छ, पर्यटन प्रवद्र्धनको काम पनि हँुदै गर्छ, त्यसकारणले नै नेपालमा अब अर्थतन्त्रको प्रमुख जग पर्यटन हो भन्ने कुरा स्वीकारेर नेपाल सरकारले पर्यटन पूर्वाधारमा पर्याप्त लगानी बढाएको छ । निकट भविष्यमै भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । एक वर्षपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण भइसक्छ ।

यहीबीचमा हामी बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको थालनीतिर धेरै सकारात्मक ढंगले अघि बढिसकेका छौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरण र विस्तारको काम पनि हामीले एक साथ अघि बढाउँदैछौँ । देशभरिका ५३ वटा आन्तरिक विमानस्थलको सेवा विस्तार र भौतिक पूर्वाधारको स्तरोन्नतिका साथै सबै विमानस्थलाई व्यावसायिक ढंगले सञ्चालन गर्ने गरी लागिपरेका छौँ । अर्को पक्ष, पर्यटन गन्तव्यसम्म पुग्नका निम्ति सडक यातायातलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउन लागिपरेका छौँ । काठमाडौं नजिकका पर्यटकीय गन्तव्यमा जान असहज सडकमार्गको सुदृढीकरण तथा उपत्यकाको वातावरण प्रदूषण नियन्त्रणका कार्यक्रम पनि अघि बढाइनेछ ।

साथै, भ्रमण वर्षकै सिलसिलामा ‘काठमाडौं भ्याली बाई नाइट’ कार्यक्रम पनि सञ्चालन गर्दैछौँ । काठमाडौं, ललितपुर र भक्तपुरको दरबार क्षेत्रलाई बेलुका पनि भ्रमण तथा अवलोकन गर्न सक्ने गरी त्यसको लाइटिङको व्यवस्थालगायत सम्बन्धित स्थानीय तहसँग समन्वय गरिरहेका छौँ । पर्यटनलाई राजधानी केन्द्रित मात्रै गरिनुहुन्न र उपत्यका बाहिरका गन्तव्यको प्रभावकारी प्रवद्र्धनका निम्ति सरोकारवालासँग लगानी प्रवद्र्धनलगायतका विषयमा छलफल र पहलकदमी भएको छ । पछिल्लो समय म आफैँले पाँचवटा पाँचतारे होटल सञ्चालनका लागि स्वीकृति दिएको छु ।

नेपालमा भ्रमण वर्षको तयारी पुगेन भन्ने सरोकारवालाको गुनासो सुनिन्छ, कतै भ्रमण वर्षको घोषणामा हतार भएको त होइन ?
भ्रमण वर्षको तयारी पुगेन भन्ने कुरा स्वाभाविक हो किन भने तयारी जति हुनुपर्ने थियो त्यति नभएको हुनसक्छ, तर केही पनि नभएको भने होइन । हामी अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यमा जाने र नेपालको कुरा राख्ने काम भएको छ । विदेशी सञ्चारमाध्यममा नेपाल भ्रमण वर्षको प्रचारप्रसार भईनैराखेका छन् । देशभित्र पटकपटक हामीले निजी पर्यटन व्यवसायी र नीति निर्मातासँग अन्तरक्रिया गरेकै छौँ र प्रक्रिया अगाडि बढेकै छ, हो र यसमा सन्तुष्टि लिनु हुँदैन सन्तुष्टिले अगाडिको बाटो बन्द हुन्छ । त्यसैले तयारी जति हुनुपथ्र्यो, त्यति नभएको कुरालाई स्वीकार्दै अब भएका अपूर्णतालाई परिपूर्ति गर्ने ढंगले अगाडि बढ्नुपर्छ ।

भ्रमण वर्षको सचिवालय सक्रिय ढंगले लागेकै छ । बोर्डको सम्पूर्ण टिम त्यसमा लागि राखेको छ । नेपाल सरकारको तर्फबाट हालैको मन्त्रिपरिषद् बैठकबाट सम्बन्धित मन्त्रालयले भ्रमण वर्षका लागि गर्नुपर्ने कामका लागि निर्देशन प्राप्त भइसकेको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई भ्रमण वर्षका लागि आवश्यक परिचालन गरिएको छ । गैरआवासीय नेपाली संघसँग सम्झौता गरिएको छ । सबै निजी व्यवसायीलाई उत्साहका साथ लाग्न अनुरोध गरिएको छ । जे–जे गर्नुछ, हामी गर्दै जानेछौँ । हामीले पर्यटनको विश्वव्यापी प्रचारका लागि आवश्यक सामग्रीसहित सन्देश लगेका छौँ ।

भ्रमण वर्ष सचिवालयको नेतृत्व अनुपयुक्त भन्ने आलोचनालाई के भन्नुहुन्छ ?
कहीँकतै तालमेल नमिलेको रहेछ भने त्यसलाई मिलाउँदै लान्छौँँ । अहिले कसैको आलोचना र टिप्पणीमा समय खर्च गर्ने पक्षमा म छैन । सबै जिम्मेवार निकायले आफूलाई दिएको जिम्मेवारी पूरा गर्नुपर्छ, जुनसुकै सर्तमा पनि ।

मुलुकको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशतको हाराहारी मात्रै छ, यस क्षेत्रको योगदान विस्तार गर्ने नीतिगत योजना के छ ?
आगामी १५औँ पञ्चवर्षीय योजनामा हरेक वर्ष कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ । कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको हालको ३ प्रतिशतबाट योगदानलाई १० प्रतिशत पु¥याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष एक लाख ५० हजारदेखि दुई लाखसम्म रोजगारी सिर्जना गर्ने योजना छ । वार्षिक ४४ अमेरिकी डलरबाट ८० डलर खर्च गर्न सक्ने पर्यटकको क्षमता बढाउनुपर्छ र उनीहरूको बसाइ लम्ब्याउनुपर्छ । देश तथा विदेशबाट लगानीमैत्री वातावरण बनाउनुपर्छ भनिएको छ । यो लक्ष्य पूरा गर्न नै हामीले पूर्वाधार विकासमा जोड दिन थालेका छौँ ।

पर्याप्त पूर्वाधार विकास र पर्यटकलाई सेवा नदिइकन उनीहरू पैसा खर्च गर्न आउँदैनन् । त्यसका लागि सबै हिसाबले वातावरण तयार गरिदिनुपर्छ । त्यस कारण हामीले सन् २०२० लाई आधार वर्षका रूपमा लिएका हौँ । यसले हाम्रो आत्मविश्वास बढाउँछ । छिमेकी मुलुक भारत र चीनका उच्च नेतृत्व तथा एसियाली मुलुकका विभिन्न उच्च पदाधिकारीको भेटले हामीलाई उत्साहित बनाएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा दूरगामी महत्व पनि राख्नेछ । युरोपेली आयोगले राखेको कालोसूची हटाउन, आइकाओको आवश्यक मापदण्ड पूरा गर्न र आवश्यक संवाद गर्न पनि हामी लागेका छौँ । सुरक्षित र सुरक्षामा हामी कुनै पनि सम्झौता नगरीकन नागरिक उड्डयनको कार्यक्षेत्रलाई प्रष्ट बनाउनेगरी आउँदो हिउँदे अधिवेशनमा कानुन पेस गर्दैछौँ ।

भ्रमण वर्षमा प्रदेश सरकार र स्थानीय सरकारबीच के कस्तो समन्वय भइरहेको छ ?
भ्रमण वर्षको मूल आयोजक समितिमा प्रदेश सरकारका मुख्य मन्त्रीहरू र प्रदेशका पर्यटनमन्त्रीहरू पनि हुनुहुन्छ । साथै सबै प्रदेशमा पर्यटनमन्त्रीको संयोजकत्वमा भ्रमण वर्ष २०२० प्रदेशस्तरीय मूल आयोजक समिति गठन गरिएको छ । केन्द्रमा पर्यटनमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति छ । हरेक जिल्लाका प्रमुखको संयोजकत्वमा समिति र स्थानीय निकायमा पनि प्रमुखको संयोजकत्वमा समिति गठन गर्न पहल गरिएको छ । नयाँ गन्तव्य प्रवद्र्धन र पर्यटनको लाभ स्थानीय जनतासम्म पु¥याउनुपर्ने दायित्वअनुरूप हामी योजना बनाएर काम अघि बढाइरहेका छौँ ।

रूखकटानको विषयको मुद्दामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ, यसले निर्माण कार्य प्रभावित हुन्छ कि हुँदैन ?
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक निर्विकल्प विकल्प हो, यसमा सरकार पछि हट्दैन । यसको अरू विकल्प छैन । यो विमानस्थल नेपालको निम्ति एउटा ‘गेम चेन्जर’ आयोजना हो । विशेषज्ञले दर्जनौँ ठाउँका अध्ययन गरेपछि यो उपयुक्त स्थल किटान भएको हो । त्यस आधारमा राजनीतिक नेतृत्वले यस आयोजनालाई आत्मसात गर्दै अगाडि बढाएको हो । र, अहिले सरकार निजगढबाट पछि हट्ने अवस्था छैन । यो अगाडि बढिसक्यो । त्यहाँ जति पनि प्रश्न उठेका छन् हामी त्यसको व्यवस्थापन गछौँ ।

वातावरणीय दृष्टिकोणले के गर्नुपर्छ, वातावरण जोगाउन, त्यो हामी गर्नेछौँ । हामी वातावरणीय सुरक्षामा सचेत छौँ । गौरवका साथ भन्नुपर्छ कि नेपालको ४५ प्रतिशत हिस्सा जंगलले ढाकेको छ र विश्व वातावरण सन्तुलन कायम गर्न यसले महत्वपूर्ण योगदान गरेको छ । हाम्रा हिमालबाट आएको पानी विश्वका कैयौँ मानिसको बाँच्ने आधार बनेको छ । त्यसैले सरकार वातावरण सन्तुलनप्रति सचेत हुँदै वातावरणीय पक्षलाई कम क्षति हुने गरी अघि बढ्छ । हामीले अन्तरमन्त्रालय छलफल र परामर्श गरेका छौँ । यसबारे लगानी बोर्डसँग पनि छलफल गरेर निचोडमा पुगिसकेका छौँ, त्यसैले हामी यो आयोजना निर्माणको पूर्वतयारीको अन्तिम चरणमा पुगेका छौँ ।

तपाईंले त निजगढ विमानस्थल मंसिरभित्र शिलान्यास गर्छौं भन्नुभएको थियो, आखिर त्यो सम्भव नहुने भयो ?
मंसिरमा शिलान्यास गर्ने मैले भनेको हुँ, त्यसका निम्ति पूर्वतयारीको काम अन्तिम चरणमा पुगेको छ । छिट्टै मनित्रपरिषद्को बैठकबाट पूर्वतयारीको कामको स्वीकृति लिएपछि शिलान्यासको कामको प्रक्रिया अघि बढ्छ । कुनै पनि नागरिक अदालतमा जान पाउनु उसको नैसर्गिक अधिकार हो । सम्मानित अदालतले नेपालको विकास र सरकारले अघि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहनालाई सार्थक पुग्ने गरी विवेकसंगत ढंगले निर्णण गर्छ भन्ने मैले विश्वास लिएको छु ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउला ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने र त्यहाँबाट हवाई उडान सुरु गर्ने समयावधि (सन् २०२० को मार्च्भित्र) किटान गरेका छौँ, त्यही समयमै सकिनुपर्छ । यो धराशायी अवस्थामा रहेको आयोजनालाई हामीले यहाँसम्म ल्याएका छौँ । हामी यो देखाउन चाहन्छौँ कि नेपालमा ठूला आयोजना असफल छन्, समयमा सम्पन्न हुँदैनन् भन्नेलाई नेपालले ठूला राष्ट्रिय गौरवका आयोजना समयमै सफलतापूर्वक सम्पन्न गर्ने क्षमता राख्छ भन्ने सन्देश यही विमानस्थलबाटै प्रमाणित गर्न चाहन्छौँ ।

त्यहाँ मैले र मन्त्रालयका सचिवले स्थलगत अवलोकन गरी दैनिक प्रगति विवरण लिइरहेका छौँ, अहिले विमानस्थलको भौतिक प्रगति ९० प्रशितभन्दा माथि छ । मलाई विश्वास छ, हामी निर्धारित समयमै सञ्चालन गर्छौं । सञ्चालनको पूर्वतयारी पनि एकसाथ गरिरहेका छौँ । विमानस्थलको निर्माणसँगसँगै, भन्सार, अध्यागमन, इन्धन व्यवस्थापन आदिको काम टुंग्याइसकेका छौँ ।

नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनको क्रम कहाँ पुग्यो ?
अहिले हामी निगमको आन्तरिक सुधारको प्रक्रियाबाट अघि बढिरहेका छौँ । त्यसका निम्ति हाल गठिन नयाँ कार्यदल र पुराना बनेका कार्यदलका सुझाब प्रतिवेदनका आधारमा काम अघि बढाइएको छ । प्रतिवेदन र सरोकारवालाको समान मत के छ भने निगमलाई अहिलेको अवस्थाबाट सुधार्नैपर्छ, निगमलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरेर यसको वित्तीय क्षमता बढाउनुपर्छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि थप जहाज खरिद गर्नुपर्छ । कुन मोडलबाट पारदर्शी खरिद गर्ने यो तय गरिनुपर्छ । यो संस्थाका लागि हामी अन्तर्राष्ट्रिय साझेदार पनि खोज्छौँ । यसले हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउँछ । यही प्रक्रियाबाट मन्त्रालय अघि बएको छ, व्यवस्थापन सुधारको काममा पनि लागेको छ ।

निगमको संस्थागत सुधारका निम्ति वर्तमान नेतृत्व परिवर्तन गर्ने कुरा पनि उठेको थियो नि ?
मन्त्रालयको तर्फबाट मैले निगमका कार्यकारी अध्यक्ष र उहाँहरूको टिमलाई यसको व्यावसायिक क्षमता बढाउने, संगठनात्मक संरचना चुस्ता बनाउने र सेवा क्षमता बढाउने सन्दर्भमा केही प्रश्नसहित कार्ययोजना मागेको छु । कार्यकारी प्रमुखले दिनुहोला । एक चरण ब्रिफिङ पनि गरियो । अब आउने कार्ययोजनामा मन्त्रालयले छलफल गर्नेछ ।

उहाँहरूको कस्तो प्रस्तुति रहन्छ, सोही आधारमा निर्णय हुन्छ । कुनै पनि मानिसले यदि दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नसक्ने स्थिति रहेन वा कहिलेकाहीँ त्यो परिस्थितिले प्रतिकूल हुनसक्छ, त्यस्तो हो भने जिम्मेवार व्यक्तिले ठाउँ ओगटेर संस्थालाई डुबाउनुभन्दा बाटो खुल्ला गरिदिएर त्यो संस्थालाई अगाडि आउने मौका दिनुपर्छ । यो शाश्वत कुरा हो । मन्त्रालयको जिम्मेवारीमा पर्यटनका साथै संस्कृति नागरिक उड्डयनको क्षेत्र पनि पर्छ ।

अहिले भ्रमण वर्षमा मात्रै केन्द्रित हुँदा ती पक्ष ओझेलमा परेको महसुस त गर्नुभएको छैन ?
वास्तवमा यो मन्त्रालय देख्दा एउटा भए पनि कामको हिसाबले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीनवटा कार्यक्षेत्रको जिम्मेवारी छ । कामको हिसाबले नागरिक उड्डयनको बढी प्रसंग आउँछ, यहाँ स्वभाविकरूपमा ठूला परियोजना सञ्चालित छन् । भ्रमण वर्षको महत्वलाई पनि ध्यान दिनैप¥यो । संस्कृतिको पक्ष ओझेलमा परेको भन्ने मलाई बारम्बार गुनासो आइरहेको छ । हामीले भ्रमण वर्ष मनाइरहँदा प्राकृतिकस्थल मात्र होइन सम्पदा प्रवद्र्धन तथा सांस्कृतिक पदमार्ग विकासको काम पनि अघि बढाइरहेका छौँ ।

तपाईं मन्त्री बन्ने र नबन्ने भन्ने लामो प्रतीक्षापछि यो जिम्मेवारीमा आउनुभएको छ, आफ्नै अनुभवमा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कस्तो अनुभव गर्नुभएको छ ?
सम्माननीय प्रधानमन्त्रीले मलाई विश्वास गरेर यो जिम्मेवारी दिनुभएको छ । र, आमजनताले मबाट जुन आशा र भरोसा गरेका छन् । जनताको आशा टुट्न नदिने र प्रधानमन्त्रीको विश्वास पनि टुट्न नदिने उद्देश्य लिएर मैले सकेको काम गर्नेछु ।

पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको मन्त्रालयगत कार्यप्रगतिमा पर्यटन मन्त्रालय पछि परेको भन्ने आयो नि ?
यसबारे जुन मिडियामा समाचार आयो, म आफैँ छक्क परेको छु । यही मंसिर ९ गते प्रधानमन्त्रीको उपस्थितिमा भएको बैठकमा सम्पूर्ण मन्त्रालयको कामको बारेमा समीक्षा भएको थियो । त्यहाँ प्रस्तुत गरिएको विवरणमा हाम्रो मन्त्रालयले त्यसअवधिमा सम्पन्न गर्नुपर्ने आयोजना जम्मा २९ वटामध्ये छ वटा सम्पन्न भएको र चालू १७ र सुरु भएका ६ वटा रहेको प्रस्तुत गरिएको थियो । त्यहाँ प्रस्तुत भएको तथ्यांकमा हाम्रो मन्त्रालयको चौमासिक प्रगति पुँजीगत खर्च ४७ दशमलव ९ प्रतिशत थियो । यो वार्षिक बजेटको १४ दशमलव ९ प्रतिशत हो । त्यसकारण हाम्रो मन्त्रालयको कामको प्रगति एकदम उत्कृष्ट थिएन तर औसतभन्दा माथि हो । अब प्रथम चौमासिकमा हुन नसकेको कामलाई दोस्रो चौमासिकमा अघिल्लो चौमासिकमा पूरा हुन नसकेका कामको पूर्ति गर्नेछौँ ।

भनेपछि तपाईं एक सफल मन्त्री भएर निस्कनुहुनेछ ?
त्यो त मैले आफैँ सफलताको प्रमाणपत्र दिन मिल्दैन । कपी जाँच गर्नेहरूले दिने कुरा हो । मैले सकेको काम गर्ने हो ।

प्रतिक्रिया