नेपाल साहित्य महोत्सव पोखरामा

पोखरा । आइएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण गत मंसिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा भएको छ ।

महोत्सवबारे जानकारी दिन आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले महोत्सवको अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई उभ्याउने जानकारी दिए । यसअघिका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासो र सुझाब आएको बताउँदै उनले यसपटक ९८ प्रतिशत नयाँ वक्तालाई महोत्सवमा ल्याउन लागिएको जानकारी दिए । महोत्सवमा ११० भन्दा बढी वक्ता सहभागी हुनेछन् । त्यसमध्ये एक दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले बताए ।

उक्त महोत्सवमा अन्तर्राष्ट्रिय लेखकलाई पनि ल्याउन लागिएको तथा त्यसले यहाँको साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखिएको उनले जनाए । महोत्सवमा ४० भन्दा बढी सत्र समावेश गरिएका छन् । महोत्सवको पहिलोदेखि चौथो संस्करण काठमाडौंमै गरिएको थियो भने पाँचौँ संस्करणदेखि पोखरामा थालिएको हो ।

निर्देशक बरालले तत्कालीन समयमा काठमाडौंमा भूकम्प गएर पोखरामा आयोजना गर्नुपरे पनि अहिले पोखराकै महोत्सव भएको बताए । भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेको र अहिले पोखरा नै उत्तम ठाउँ भएको बताउँदै बरालले यो पोखरेलीको पनि महोत्सव भएको उल्लेख गरे ।

त्यस्तै, अर्को आयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले महोत्सवले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगेको दाबी गरे । यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीवीलाई नै सहभागी गराउन पाउँदा आफूहरू खुसी भएको उनले बताए । नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकका रूपमा आएको ह्वाट द बुक क्लबकी उपाध्यक्ष अनिशा बराइलीले बताइन् ।

महोत्सवमा डिएससी पुरस्कार प्रदान गरिने
त्यसैगरी, उक्त महोत्सवमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डिएससी पुरस्कार प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर नगद २७ लाख ५० हजार राशि बराबरको उक्त पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षदेखि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया