अस्पतालको फोहोर व्यवस्थापनमा ध्यान दिऔँः ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालबाट निस्किएको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका छन् । फोहोर सार्वजनिक स्थानमा फाल्दा उपचार पाएका बिरामीभन्दा बढीलाई संक्रमण हुने हुँदा व्यवस्थापनमा ध्यान दिन उनले आग्रह गरेका हुन् ।

‘स्वस्थ नेपालका लागि एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ एवं स्वच्छता अभियान’ सम्बन्धी तीनदिने कार्यशाला गोष्ठीमा उनले यस्तो बताएका हुन् । त्यस्तै अस्पतालले प्रदूषणसँगै सामाजिक प्रदूषण पनि हटाउनुपर्ने बताए ।

कार्यक्रममा सचिव खगराज बरालले अस्पताल खोल्ने समयमै फोहर व्यवस्थापन गर्ने विधि भएपछि मात्र स्वीकृति दिने व्यवस्था भए पनि मानिसमा भएको चिन्तनको कार्यान्वयनमा समस्या भएको बताए । अस्पताल बनाउँदै फोहोर व्यवस्थापन गर्नुपर्ने उल्लेख छ तर कार्यान्वयन हुँदैन उनले गुनासो पोखे ।

विभागका महानिर्देशक डा. रोशन पोखरेलले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि देश सुहाउँदो अन्तर्राष्ट्रिय मान्यताप्राप्त विधि तय गर्न कार्यशालाले सहयोग गर्ने बताए । विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले गोष्टिमा आपूm उपस्थित भई सक्रिय सहभागिताको लागि सबैलाई धन्यवाद दिँदै वृहत अध्ययन र सिकाई साटासाट भएको बताए ।

वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन शाखा प्रमुख चुडामणि भण्डारी, नेपालका लागि जर्मनी राजदूत रुमान सेफर्ड, कुनै क्षतिविना स्वास्थ्य सेवाका अन्तर्राष्ट्रिय विज्ञान एवं नीति संयोजक रुठ स्ट्रिन्जरलगायतले अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि अपनाउनुपर्ने विधिका विषयमा प्रस्तुती दिएका थिए ।

दीर्घकालीन रणनीति तय गर्ने
त्यस्तै १२ बुँदे प्रतिवद्धता जारी गर्दै सम्पन्न भएको गोष्ठीले नीतिगत परिवर्तनलाई पहिलो आवश्यकता र औचित्य पहिल्याएको छ । प्रतिवद्धताको पहिलो बुँदामा नै वातावरणीय स्वास्थ्यलाई कायम गर्न दीर्घकालीन रणनीति तय गर्ने, आवश्यक नियम कानुन परिर्वतन गर्न त्यसको प्रभावकारी संरचना तयार गर्ने प्रतिवद्धता जनाइएको छ ।

त्यसैगरी स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनको मार्गचित्र बनाई अभियान अगाडि बढाउने, फोहोरमैला व्यवस्थापनको नमुना विकास गरी सिकाइको आधारमा तीनै तहमा जाने, इकाई स्थापना गरी काम अगाडि बढाउने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । पत्रमा फोहोरमैला संकलन तथा व्यवस्थापन गर्नेहरूको पेशागत र सामाजिक सुरक्षामा प्रोत्साहन गर्ने, अस्पताल जन्य फोहोरमैला व्यवस्थापन गरी प्रगति प्रतिवेदन र अभिलेख तयार गर्ने, दक्ष जनशक्तिद्धारा स्वास्थ्य संस्थाको स्थापना, संचालन, नवीकरण स्तरोन्नति गर्ने क्रममा फोहोरमैला सुनिश्चितताको लेखाजोखा अनिवार्य गराउने रहेको छ ।

वातावरणीय स्वास्थ्य, स्वास्थ्यजन्य फोहोरमैला, स्वास्थ्य संस्थाहरूमा खानेपाली सरसफाइ र सुरक्षित शौचालयको लागि तीनै तहमा निजी क्षेत्रको समन्वय सहकार्य र साझेदारीमा एकीकृत काम गर्ने उल्लेख छ । जलवायु परिर्वतनले स्वास्थ्यमा परेको प्रभाव न्यूनीकरण गर्न त्यस अनुकूलका स्वास्थ्य सेवा कार्यक्रम प्रवद्र्धन गर्ने, प्लास्टिकजन्य फोहोरलाई व्यवस्थित बनाउँदै लैजाने गोष्ठीले आँैल्याएको छ ।

वातावरणीय स्वास्थ्य, स्वास्थ्यजन्य फोहारमैला व्यवस्थापन, खानेपानी सरसफाइ र स्वच्छतामा तीनै तहका सरकारको जिम्मेवारीलाई आत्मासाथ गर्दै समन्वय, सहकार्य तथा सहअस्तित्वमा आधारित भै प्रारम्भिक डिजाइनदेखि नै योजना तथा कार्यक्रम अगाडि बढाउने र यस क्षेत्रमा भएका अध्ययन अनुसन्धान, अन्वेषण तथा प्राप्त नतिजालाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख छ

१ बिरामीबाट प्रतिदिन १.७ केजी फोहोर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयअघि स्वास्थ्य सेवाप्रदायक क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापन क्षेत्रमा गरेको एक अध्ययनमा एक बिरामीले औसत प्रतिदिन १ दशमलव ७ केजी फोहोर उत्पादन गर्ने तथ्य उजागर गरेको थियो । यसमध्ये २० प्रतिशत संक्रामक फोहोर हुने गरेको पाइएको थियो ।

फोहोर व्यवस्थापनमा स्वास्थ्यसंस्थाको प्राथमिकता नहुनु, यसबारे कर्मचारीलाई क्षमता अभिवृद्धिको प्रत्यक्ष तथा अप्रत्यक्ष तालिम तथा अभिमुखीकरणको अभाव, उचित ज्ञान, सीप र प्रविधिको कमी, वस्तुजन्य फोहोर छुट्याउने व्यवस्थापन गर्ने पद्धतिको विकास नहुनु, वर्तमान मापदण्ड र कानुनको प्रभावकारी कार्यान्वयन नहुनु आजको प्रमुख चुनौतीका रूपमा रहेको वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख चूडामणि भण्डारी बताउँछन् ।

प्रतिक्रिया