भारतसँग नेपाल पुनः पराजित ९ महिनामा छैटौँ हार, प्रशिक्षकद्वारा राजीनामा

पोखरा । सागको महिला फुटबलको स्वर्ण पदकका लागि नेपाली टोली पुनः एकपटक निराश बनेको छ । चिरपरिचित प्रतिद्वन्दी भारतसँग नेपाल पराजित बनेको हो । पछिल्लो ९ महिनामा नेपाल भारतसँग छौटौँ पटक पराजित बनेको छ ।  पोखरा रंगशालामा सोमबार भएको फाइनल खेलमा भारतले नेपाललाई २–० गोलले पराजित गर्दै स्वर्ण पदक जितेको हो । नेपाली टोलीले पहिलो र दोस्रो हाफमा एक एक गोल खाएको थियो । सुरुआती एकपछि अर्को गोलको सिकार भएको नेपाल खेलमा फर्किन सकेन् ।

पोखरेली दर्शकको भरपुर साथ पाए पनि नेपाल १७ औँ मिनेटमा पहिलो गोल खान पुग्यो । भारतकी बालादेवीले नेपालकी गोलकिपर एन्जीलो तुम्बापो सुब्बालाई विट गर्दै प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा १–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि खेलमा फर्किन सकेन् ।

दोस्रो हाफको सुरुआतमै नेपालले अग्रता लिने अवसर पायो । सावित्रा भण्डारीले पेनाल्टी क्षेत्रभित्र तीन डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई भारतीय गोलरक्षक अदितिले उत्कृष्ट बचाउ गरिन् । तर, त्यसको केही मिनेटमै नेपालले गोल खान पुग्यो ।  भारतीय बालादेवीलाई नेपाली डिफेन्डरले रोक्नैै सकेन् । उनले ५५ औँ मिनेटमा वान भर्सेस वानमा गोल गरेकी थिइन् । बाँकी समय आक्रमक बनेको नेपालले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो । हारसँगै महिला टोली रजत पदकमा सीमित भएको छ । यसअघि लिग चरणको खेलमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।

११ औँ सागबाट समावेश भएको महिला फुटबलमा नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन । अघिल्लो संस्करणमा पनि नेपाल आयोजक टिम भारतसँग २–१ गोलले पराजित हुँदा रजतमै चित्त बुझाउन बाध्य भएको थियो । पछिल्लो खेलसँगै महिला टोलीको प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् । प्रशिक्षक खड्काले आफूले नैतिकताको आधारमा राजीनामाको घोषणा गरेको बताए ।

यसैबीच महिला राष्ट्रिय फुटबल टोली कप्तान निरु थापा र मनमाया लिम्बु अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । निरु फरवार्ड र मनमाया डिफेन्स हुन् । निरुले सागमा टोलीलाई स्वर्ण पदक दिलाएर सन्यास लिने चाहना रहेको बताउँदै आएकी थिइन् । तर, उनको इच्छा भने पूरा हुन सकेन ।

प्रतिक्रिया