‘महोत्सवले उद्योग व्यवसाय प्रवर्धनमा सहयोग पुग्छ’

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई टेवा पुर्याउन मुलुकमा बेला बेलामा आयोजना हुने गरेका विभिन्न किसिमका महोत्सवले यहाँका कला, संस्कृति, उद्योग र व्यवसायको प्रवद्र्धनमा ठूलो जोड पुग्ने बताएका छन् ।

झम्सिखेल युथ क्लबले आयोजना गरेको ‘झम्सिखेल महोत्सव –२०७६’ उद्घाटन समारोहमा शनिबार उनले विकसित देशले आफ्ना देशमा रहेका उद्योग र व्यवसाय प्रवद्र्धनका लागि समय समयमा विभिन्न प्रकारका महोत्सव गर्ने गरेका उल्लेख गरे ।

उनले भने, ‘हाल मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेकोले यहाँ विभिन्न किसिमका महोत्सव आयोजना हुनुले बढीभन्दा बढी पर्यटकको मन जित्न सफल हुने अपेक्षा गरको छु ।’ सो महोत्सवले प्लास्टिक मुक्त झम्सिखेल बनाउने योजना अघि बढाएकामा आफू निकै खुशी भएको मन्त्री थापाले बताए ।

झम्सिखेल समृद्ध भयो भने सम्पूर्ण मुलुकनै समृद्ध हुने गृहमन्त्री थापाको बुझाइ छ । त्यस्तै प्रतिनिधिसभा सदस्य पम्फा भुषालले ललितपुर महानगरपालिकाको वडा नं ३ लाई सिङ्गै पर्यटन क्षेत्रका रूपमा विकास गर्न विभिन्न कार्यक्रम अघि बढाइरहेको बताइन् । यसैगरी प्रदेशसभा सदस्य जीवन खड्काले यस क्षेत्रमा घरवास सञ्चालन गर्ने व्यवसायीलाई प्रदेश सरकारले सहयोग गर्ने विश्वास दिलाए । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नजिकै आएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन ललितपुरमा आवश्यक पर्ने खुलकूदको व्यवस्था गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले महोत्सवले ललितपुरलाई विदेशीमाझ चिरपरिचित गराउने औँल्याए । क्लवका अध्यक्ष सन्दन थापा मगरले झम्सिखेलको स्थानीय स्रोतसाधनलाई बढावा दिन क्लबले प्रत्येक चार चार वर्षमा महोत्सवको आयोजना गर्ने गरेको जानकारी दिए । महोत्सवमा कला, संस्कृति र हस्तकलाका विभिन्न सामग्री राखिनुका साथै विभिन्न किसिमका कक्षहरू राखिएका छन् ।

प्रतिक्रिया