बलात्कार गरेकै ठाउँमा इन्काउन्टर

नयाँ दिल्ली । दक्षिण भारतको हैदरावादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार संदिग्ध व्यक्तिहरू ‘प्रहरी इन्काउन्टर’मा मारिएका छन् । एक हप्तासम्म हिरासतमा रहेका ती संदिग्ध आरोपी व्यक्तिहरू शुक्रबार बिहान दक्षिणी भारतीय सहर हैदराबादमा भाग्न खोज्दा गोली हानिएको प्रहरीले जानकारी दिएको छ ।

ती संदिग्ध आरोपीहरू सुरक्षा अधिकारीबाट हतियार लिन खोज्दा सुरक्षाबलले गरेको कारबाहीमा उनीहरू मारिएका उप प्रहरी आयुक्त प्रकाश रेड्डीले एएफपीलाई बताएका छन् । यी चार जनामाथि गत नोभेम्बरमा भारतको हैदरावाद सहर निवासी २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार गरी हत्या गरेको आरोप छ ।

तेलंगना प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार शुक्रबार बिहान ३ बजेतिर उनीहरूको एउटा ‘भिडन्त’ मा मृत्यु भएको हो । घटनास्थल हैदरावादबाट ५० किलोमिटर पर रहेको छ । यी चारै जना संदिग्ध अपराधीलाई पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर प्रहरीले अनुसन्धान गर्न खोजेको हैदरावादका प्रहरी प्रमुखले बताए ।

त्यहाँ उनीहरूले आफूहरूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार यस झपडमा परी दुई प्रहरी अधिकारी घाइते भएका थिए । पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिहरूलाई कडा कारबाहीको माग गर्दै भारतभरी प्रदर्शन जारी रहेको छ ।

२६ नोभेम्बरको बेलुकी घर फर्कँदै गर्दा बाटोमा ती पशुचिकित्सक युवतीको स्कुटर पंचर भएको थियो । पंचर भएको स्कुटरलाई नजिकैको एक टोल प्लाजामा छाडेर ती युवती ट्याक्सी चढी घर फर्कने निर्णयमा पुगिन् । घर पुगेर उनी फेरि राति ९ बजेतिर स्कुटी लिन टोल प्लाजा पुगिन् ।

त्यतिखेर उनी आफ्नी बहिनीसँग कुरासमेत गरिरहेकी थिइन् । फोनमा उनले आपूmलाई सडकमा एक्लै उभिन डर लागेको, आफ्नो अगाडि अचानक केही मानिस आएको र स्कुटर ठिक पारिदिने कुरा गरिरहेको जानकारी दिएकी थिइन् । ती चिकित्सकले बहिनीलाई दिएको जानकारी अनुसार एकजना ट्रक ड्राइभर आफू नजिकै उभिएको र उसले बिग्रिएको स्कुटर ठिक गरिदिने बताएको थियो । तर, ती चिकित्सकले ट्रक ड्राइभरको प्रस्ताव अस्वीकार गरिदिएकी थिइन् । त्यसपछि ड्राइभरले युवतीलाई निरन्तर पछ्याउन थाल्यो ।

खतराको अवस्था देखिएपछि बहिनीले ती चिकित्सकलाई टोल प्लाजामा स्कुटर रोकेर त्यहीँ उभिन सल्लाह दिएकी थिइन् । तर, सबै मानिसहरूले आपूmलाई घुरेर हेरिरहेको भन्दै उनले त्यहाँ स्कुटर राख्न इन्कार गरिदिइन् । साथै, उनले आपूmलाई निकै डर लागिरहेको पनि बहिनीलाई बताएकी थिइन् ।

कुरा गर्दा–गर्दै युवतीले बहिनीलाई केही समयपछि फोन गर्ने बताइन् र फोन काटिन् । तर, केही क्षणपछि सम्पर्क गर्न खोज्दा उनको फोन स्वीच अफ थियो । त्यसपछि उनका परिवार टोल प्लाजाको वरिपरि आए, चिकित्सक युवतीलाई खोजे । तर, कतै नभेटेपछि स्थानीय प्रहरी चौकीमा हराएको भन्दै निवेदन दिए । बेपत्ता युवती खोज्न हिँडेको प्रहरीले गत बिहीबार बिहानै एक निर्माणाधीन पुलको तल आधा जलेको अवस्थामा एक शव बरामद गर्यो ।

उक्त शव हराइरहेकी युवतीकै रहेको पुष्टि उनका परिवारले गरे । युवतीको हत्यारा खोज्न खटिएको प्रहरीले चारजना संदिग्धलाई पक्राउ गरेको थियो । अनुसन्धान र केरकारपछि चारैजनाले हत्यामा आपूmहरूको संलग्नता रहेको स्वीकारे । ती युवतीलाई जलाएर मार्नुअघि अभियुक्त चारैजनाले पालैपालो बलात्कार गरेको स्वीकारेका थिए ।

प्रतिक्रिया