सम्झनामा नारायणगोपाल

काठमाडौं । संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापा सम्मानित भएका छन् । उनीहरूलाई स्वरसम्राट नारायण गोपालको २९औँ स्मृति दिवसका अवसरमा ‘स्वरसम्राट स्मृति सम्मान २०७६’ बाट सम्मानित गरिएको हो । नारायण गोपाल संगीत कोषले गजमेर र थापालाई जनही २५ हजार नगद र सम्मानपत्रसहित सम्मानित गरेको हो ।

थापालाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानपत्र हस्तान्तरण गरे । गजमेर कार्यक्रमका अनुपस्थित थिए । उनी काम विशेषले बाहिर भएकाले कार्यक्रममा अनुपस्थित रहेको कोषले जनाएको छ ।

उक्त कार्यक्रममा राज्यमन्त्री मानन्धरले नेपाली सांगीतिक फाँटमा स्वरसम्राट नारायण गोपालको अतुलनीय योगदान रहेको बताए । उनले भने, ‘स्वरसम्राटको स्मृतिसभामा सहभागी हुन पाउनु नै सौभाग्यको विषय हो । नेपाली संगीतलाई उचाइमा पु¥याउन नारायणगोपालले दिएको योगदान र लगानी नेपालकै लागि गौरवको विषय बनेको छ ।’

त्यस्तै कोषको नयाँ निर्माण हुने भवनको शिलान्यास काठमाडौं महानगरका प्रमुख शाक्यले गरे । उनले नेपाली सांगीतिक क्षेत्रमा नारायणगोपालले निकै शक्तिशाली गीत दिएको जिकिर गरे । उनले भने, ‘कला, साहित्य र संस्कृतिले समाजलाई समृद्ध बनाउने भएकाले यस क्षेत्रमा महानगर आवश्यक काम गरिरहेको छ ।’ कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो । उनको ०४७ साल मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली सांगीतिक जगतका चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ । यस अवधिमा नेपाली संगीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी सफल पनि भएका छन् । उनका गीत नेपालीका मनमनमा अहिले पनि जीवन्त छन् ।

उनका गीतले नेपाली गीत–संगीतको स्वरूपलाई फरक धारमा लैजान महत्वपूर्ण भूमिका खेलेको छ । हिन्दी गीत संगीतबाट प्रभावित त्यतिवेलाको नेपाली समाजमा उनका कर्णप्रिय गीतले दर्शक स्रोताको मन जित्न सफल भए । उनका एकपछि अर्को गर्दै आएका विभिन्न गीतले नेपाली दर्शक स्रोतालाई प्रभाव पा¥यो । उनले राष्ट्रिय भावले ओतप्रोत भएका थुप्र गीत गाए ।

उनले २०१७ सालमा पहिलो गीत रेकर्ड गरेर सांगीतिक यात्रा सुरु गरेका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले नारायणगोपालले प्रेम र देशभक्ति गीत गाउन रुचाउने तथा शब्द र संगीतलाई निकै ध्यान दिने गरेको बताए । उनले भने, ‘परम्परागतरूपमा चलिआएको संगीतमा नारायण गोपालले आधुनिकता भर्ने काम गर्नुभयो । जति गीत गाउनुभयो सबै उत्तिकै राम्रा छन् ।’

त्रिचन्द्र कलेजको वार्षिकोत्सवमा नारायण गोपाल पहिलोपटक साथीहरूको साथ तबलावादकका रूपमा स्टेज चढेका थिए । कुलपति रायनले भने, ‘नारायण गोपालले नराम्रा गीत गाउनलाई अस्वीकृत गरेर शब्द र संगीत उत्कृष्ट भएका गीतहरू मात्रै गाउनुभयो ।’ उनले गाएका गीत अहिलेका पुस्तामाझ पनि निकै कर्णप्रिय छन् । उनले उत्कृष्ट आधुनिक गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा देखिएको रिक्ततालाई भर्न सफल पनि भए । साथै नारायण गोपालले प्रेमसम्बन्धी गीत गाएर लाखौँ युवाको मनमुटुमा बस्न सफल पनि भए । नारायण गोपालले नेपाली सुगम संगीतमा महत्वपूर्ण योगदान दिएका छन् ।

सयभन्दा बढी गीतमा आवाज दिएका उनका प्रायः गीत कालजयी छन् । उनका गीतले सबै वर्ग र समुदायका मानिसको मनोभावलाई छुने र तान्न सक्ने सामाथ्र्य राखेको विज्ञ ताउँछन् । सांगीतिक यात्राका क्रममा उनले केही असफलतासमेत व्योहोर्नुपरेको थियो । उनी पहिलोपटक नै स्वर परीक्षामा अनुत्तीर्ण भएका थिए भने चलचित्र माइतीघरको गीत गाउन जाँदा गाउन नसकेर अस्वीकृत हुनुपरेको थियो । त्यस्तै, उनले भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन पूरा नगरी छाडेका थिए ।

नारायण गोपालको घरमा शास्त्रीय संगीतबाहेक आधुनिक गीतमा रम्न मनाही थियो । बुबाले आधुनिक संगीतलाई हलुका रंगिन ठान्थे । पूर्वपश्चिम राजमार्गको निर्माण कार्य चलिरहेका बेला उनले ‘जाग लम्क चम्क हो नौ जवान हो…’ बोलको गीतमा स्वर दिएर ऊर्जा थपेका थिए । उनी गायक, संगीतकारका साथै इतिहासका जानकार, फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा समेत परिचित थिए । उनले मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए । ०२७ साल फागुनमा पेमालासँग विवाह गरे पनि उनीहरूबाट सन्तान भने जन्मिएनन् ।

उनका यति धेरै माया दिई, ल सुन मेरो रामकहानी, एउटा मान्छेको मायाले कति, म त लालीगुराँस भएछु, आँखा छोपी नरोऊ भनी, यो सम्झिने मन त, पर्खी बसेँ आउला भनी, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, यति चाखो यति मिठो, तिमीलाई म के भनु लगायतका दर्जनौँ गीत निकै लोकप्रिय छन् ।

प्रतिक्रिया