प्रधानमन्त्रीको स्वास्थ्यमा चिकित्सकको सल्लाह लिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य अवस्थाको बारेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चिकित्सकको सल्लाह लिने भएको छ ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गौला प्रत्यारोपणको बारेमा चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री ओलीको मिर्गौलाको डाइलासिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।

बैठकमा प्रवक्ता श्रेष्ठले शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव समेत पारित गरिएको बताए । उनले भने, ‘आवश्यकताअनुसार डायलासिसको प्रक्रिया भइरहेको र मिर्गौला फेर्ने नफेर्नेबारे प्रधानमन्त्री डिस्चार्ज भएपछि चिकित्सकको सल्लाहअनुसार निर्णय गरिनेछ ।’ उनले थपे, ‘महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उहाँको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुँदै गएको छ ।’

सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मंसिर १० गते केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । यता सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार देखिएको बताएका छन् ।

प्रतिक्रिया