नेकपा यथावत रहदाँ कांग्रेसले ७ प्रतिशत बढायाे

काठमाडौं । उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको पपुलर(लोकप्रिय) मतमा थोरै गिरावट आएको देखिएको छ । सिट संख्याको हिसाबले दुई सिट बढे पनि कुल मतदानको प्रतिशतमा भने विगतको भन्दा केही घटेको हो ।

उपनिर्वाचनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पपुलर मतमा भने ७ प्रतिशतले वृद्धि भएको देखिएको छ । कांग्रेसको पक्षमा यो उपनिर्वाचनमा कुल मतदाता मध्ये ४० प्रतिशतले मतदान गरेका छन् । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपाले ४७ प्रतिशत पपुलर मत ल्याउँदा नेपाली कांग्रेसले ३३ प्रतिशत मत ल्याएको थियो । बाँकी २० प्रतिशत मत अन्य दलले ल्याएका थिए ।

यसपटकको उपनिर्वाचनलाई आधार मान्ने हो भने नेकपाले आफ्नो पुरानो मत कायमै राख्न सफल भएको देखिन्छ । नेकपाले उपनिर्वाचनमा ४६ दशमलव ५ प्रतिशत मत प्राप्त भएको छ । जुन विगतको भन्दा शून्य दशमलव ५ प्रतिशत कम हो । तर, कांग्रेसले भने ७ प्रतिशतले मत आफ्नो पक्षमा पार्न सफल भएको छ । कांग्रेसले नेकपाको मतमा असर नपारे पनि साना दलको मतलाई भने ह्वात्तै आफ्नो पक्षमा तान्न सफल भएको छ । नेकपाको मत नभई अन्य साना दलको मत आफ्नो पक्षमा ल्याउन सफल भएको हो ।

उपनिर्वाचनमा २ लाख ९७ हजारको हाराहारीमा मत खसेको थियो । जसमा नेकपाले एक लाख ३८ हजार बढी मत प्राप्त गर्दा कांग्रेसले एक लाख २० हजार मत कटाएको छ । कुल मतदानको ८६ दशमलव ५ प्रतिशत नेकपा र कांग्रेसले आफ्नो पक्षमा पार्न सफल भएका छन् । बाँकी १३ दशमलव ५ प्रतिशत मत अन्य दल र स्वतन्त्र उम्मेदवारले ल्याएको देखिएको छ ।

सख्याको हिसाब गर्ने हो भने नेकपाले थप दुई स्थानमा जित हासिल गर्न सफल भएको छ । उपनिर्वाचन भएका ५२ मध्ये २८ स्थान नेकपाबाट निर्वाचित जनप्रतिनिधिको निधनका कारण खाली भएका थिए । यस हिसाबले समग्र नतिजामा नेकपाले २ स्थान थप गरेको छ । तर,गाउँपालिका अध्यक्ष र उपाध्यक्ष थप गर्दा एउटा प्रदेशसभा र धरान उपमहानगरपालिका गुमाएको छ ।

नेकपाले कास्की–२ प्रतिनिधिसभा सदस्यसहित दाङको प्रदेशसभा र उपनिर्वाचन भएका सबै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचन भएका देशभरका ४३ वडामध्ये धरान उपमहानगरपालिका–७ सहित २४ वडाध्यक्ष नेकपाले जितेको छ । बाग्लुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने प्युठानको ऐरावत गाउँपालिका ३ को वडाध्यक्षमा स्थानीय नेकपा नेताहरूको समर्थनमा उम्मेदवार बनेका बागी उम्मेदवारले जितेका छन् ।

नेकपा र नेकपा समर्थित उम्मेदवार सहित ३२ स्थानमा वामपन्थीले जितेका छन् । यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउपालिका उपाध्यक्ष र यसअघि राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पनि नेकपाले जितेको छ ।

नेपाली कांग्रेसले आफ्ना पुराना केही क्षेत्रमा पराजय व्यहोरे पनि उसले राष्ट्रिय राजनीतिमा महत्व राख्ने दुई महत्वपूर्ण स्थानमा जित निकालेको छ । कम्युनिस्टको लालकिल्लाको रूपमा रहेको धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसले २०४८ पछि पहिलो पटक जित निकालेको छ । यस्तै, भक्तपुर क (२) मा पनि जित निकालेको छ । यसअघिको निर्वाचनमा दुवै ठाउँमा नेकपाले जित हासिल गरेको थियो ।

१२ वटा वडाध्यक्ष, एक गाउँपालिका प्रमुख र एक उपप्रमुख कांग्रेसका उम्मेदवारको निधनका कारण खाली भएका थिए । संख्यात्मक हिसाबले कांग्रेसले उपचुनावबाट एक स्थान गुमाएको छ । १४ सिट कांग्रेसको खाली भएकोमा उपचुनावमा कांग्रेसले १३ स्थान जितेको छ । त्यस्तै समाजवादी पार्टीले चार वडाध्यक्ष जितेको छ भने राजपाले ३ वडाध्यक्ष जितेको छ । समाजवादीले एउटा वडा थप गरेको छ भने राजपाले एउटा गाउँपालिका अध्यक्ष गुमाएको छ ।

वडाध्यक्षतर्फ भने नेकपा र कांग्रेसले आ–आफ्नो संख्या कायम राख्न सफल भएका छन् । तर नेकपाले यसअघि कांग्रेसले जितेका ७ वडामा आफ्नो जित निकालेको छ भने नेकपाले यसअघि जितेका ५ वडामा कांग्रेसले जितेको छ । नेकपासँग गठबन्धन गरेको जनमोर्चाले यसअघि जितेको बाग्लुङ–२ (ख), प्रदेशसभा सदस्यमा पुनः जित हासिल ग¥यो भने प्युठानको ऐरावती–२ मा वडाध्यक्षमा यसपटक जित्न सकेन ।

प्रतिक्रिया