नक्कली बिजक बनाएर ८७ लाख कर छली

काठमाडौं । वस्तु तथा सेवा खरिद नै नगरी मूल्य अभिवृद्धि कर(भ्याट)को झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजश्व छली गरेको तथ्य फेला परेको छ । यसरी कर छली गर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ का रामप्रसाद चौलागाईं र सोही जिल्लाको चौँरी देउराली गाउँपालिका–५ का रामकृष्ण ढकाल रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

झुटा बिजक बनाएर उनीहरूले झण्डै ८७ लाख रुपैयाँ बिगो बराबरको राजश्व छली गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरूविरुद्ध बिगोको दोब्बर जरिवाना तथा तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ । मैनालीका अनुसार उनीहरूले कम्पनीमार्फत राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसुर गरेकाले मुद्दा चलाइएको हो ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–९ बस्ने प्रभा इन्टरप्राइजेजका सञ्चालक रामप्रसाद चौलागाईँले ५९ लाख र सोही जिल्लाको चौँरी देउराली गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने जिपिसी ट्रेडर्सका सञ्चालक रामकृष्ण ढकालले झण्डै २८ लाख रुपैयाँ बिगो बराबरको राजश्व छली गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया