धानका बाला टिप्दै विद्यार्थी

वीरगञ्ज । पर्सा जिल्लाका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, दलित छात्रछात्राहरू धान कटानीमा व्यस्त रहेका कारण विद्यालय जान छाडेका छन् । प्रत्येक वर्ष १० वर्षदेखि माथिका गरिब, दलित विद्यार्थीहरू धान–गहुँ काट्ने सिजनमा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएको छ । यसपटक पनि धान कटानीको वेला विद्यालयमा गरिब, दलित बालबालिकाहरूको संख्या घटेको छ ।

धान कटानी हुने ठाउँमा छुटेका धानका बाला बटुल्ने, खेतमा कटानीमा संलग्न हुने जस्ता कार्यमा विद्यार्थीलाई देख्न सकिन्छ । आर्थिक अवस्था कमजोर भएको कारण उनीहरूले धान र गहुँ कटानीको वेला विद्यालय नजाने र त्यसमा संलग्न हुने गरेका हुन् । पर्सागढी नपाका शिक्षा शाखा संयोजक एवं नेरामावि बर्वाछटौलीका प्रअ रामबहादुर चौधरीले धान, गहुँ काट्ने बेलामा गरीब, दलित बालबालिकाहरूको अनुपस्थिति हुने गरेको बताए । उनले प्रत्येक वर्ष यो प्रक्रिया दोहोरिँदै आएको र यसपटक पनि बालबालिकाहरू धान काट्न, धानको बाला बटुल्न खटेकाले विद्यालय नआएका जानकारी गराएका छन् । दलित, गरिबका बालबालिकाहरू विद्यालयमा छात्रवृत्ति वितरण र पोसाक वितरणमा अनिवार्यरूपमा उपस्थित हुने गरेका र नपाएपछि विरोध गर्दै आएको बताए ।

गरिब, दलित बालबालिकालाई विद्यालय भर्ना गराउन वर्षमा एकपटक विद्यालय भर्ना अभियान सञ्चालन गर्नुका साथै विद्यालय नआउने बालबालिकाका अभिभावक र विद्यार्थीलाई सम्झाउँदै आएको भए पनि प्रतिफल सन्तोषजनक नभएको प्रअ चौधरीले बताएका छन् । छात्रवृत्ति, पोसाक वितरणका लागि विद्यालयमा ६० प्रतिशत विद्यार्थीको उपस्थिति अनिवार्य छ । तर गरिब, दलितको संख्या बढी भएको र उनीहरू नै विद्यालय नआउँदा बेलाबखत यस्तो समस्या आउने गरेको उनले बताए ।

प्रतिक्रिया