‘ठेकेदारले काम नगरे म आफैं अनसनमा बस्छु’

निजगढ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको बताएका छन् । नेकपा प्रदेश–२ ले बाराको निजगढमा मंगलबार गरेको कार्यक्रममा उनले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैँ आएर अनशन बस्ने बताएका हुन् । ‘यदि ठेकदारले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु । यदि सरकारलाई सुन्न गाह्रो प¥यो भने म नै अनसनमा बसेर भए पनि तपार्इंहरूको साथमा रहनेछु’, उनले भने ।

मधेससँग आफ्नो लभ परेको दोहो¥याउँदै उनले लभरलाई दुःख दिनेविरुद्ध आफैं लड्ने प्रचण्डले बताए । तराई मधेसको जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको भएको भन्दै उनले यो प्रक्रियामा अवरोध आयो भने जनतासँग मिलेर आन्दोलन गर्ने धारणा राखे । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश–२ का अध्यक्ष प्रभु साहले तराई मधेस क्षेत्रको विकासले गति लिन नसकेको गुनासो गरेका छन् ।

प्रदेश–२ अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बाराको निजगढस्थित सहिद हिरालाल रंगशालामा नेकपा प्रदेश–२ कमिटीद्वारा मंगलबार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपस्थित अतिथिहरूमाथि प्रश्नको वर्षा गर्दै यस्तो गुनासो गरेका छन् । निरंकुश शासन व्यवस्थाविरुद्ध लामो समय संघर्षमा बिताएको जनताको प्रतिनिधिको रूपमा आफू उपस्थित भएको बताउँदै अध्यक्ष साहले प्रदेश–२ को विकास तथा समृद्धिका लागि सरकारले गरिरहेको कामको हिसाबकिताब माग गरेका छन् ।

‘हामी पार्टी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेललगायत उपस्थित मन्त्रीज्यूलाई सोध्न चाहान्छौँ कि यस प्रदेशको विकासका लागि हाम्रो पार्टी र पार्टी नेतृत्वको सरकारले के गर्दै छ ?’, अध्यक्ष साहले भने, ‘विकासको सम्भावनै सम्भावना भएको यस प्रदेशमा जारी राष्ट्रिय गौरवको आयोजनाहरूले किन गति लिन सकेको छैन ? हामी जवाफ चाहन्छौँ ।’ नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले कार्यक्रममा सहभागी शीर्ष नेताहरूसँग यस्तो प्रश्न गरेपछि सहभागीहरूले ताली बजाउँदै तथा हुटिङ गर्दै उपस्थित हजारौँ प्रदेशवासीले समर्थन जनाएका थिए ।

शाहले भने, ‘फास्ट ट्रयाकमा हामी प्रदेशवासी कहिले यात्रा गर्ने, कुरा मात्रै सुन्ने कि पूरा पनि हुने हो म उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सोध्न चाहन्छु । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट हामी प्लेन चढने पनि हो कि कथा मात्र सुन्ने हो ? हुलाकी सडकलाई १२ मिटरमा खुम्च्याएर मधेस विकासको कस्तो सपना देखाउनुभएको हो हामीले बुझ्न सकेका छैनौँ । कम्तिमा ५० मिटर सडकसीमामा निर्माण गर्ने होइन भने हुलाकी सडक बनाउनुको के नै अर्थ हुन्छ र ? म सोध्न चाहन्छु । हामी जनताले के गर्नुपर्छ हामी सबै गर्न तयार छौँ तर हाम्रा सबै आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुप¥यो ।’

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य तथा प्रदेश अध्यक्ष प्रभु साहको अध्यक्षतामा आयोजित जनसभामा महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री रामेश्वर यादव, प्रदेश पदाधिकारीसहित सयौं नेताको उपस्थिति रहेको थियो । ५० हजारभन्दा बढी जनतालाई उपस्थित गराएर सत्तारूढ दलकै प्रदेश कमिटीले सरकारमाथि दबाब सिर्जना गरेको यो पहिलो कार्यक्रम हो ।

प्रदेश–२ मा काठमाडौं–तराई मधेस द्रुतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारा, हुलाकी लोकमार्ग, पूर्व–पश्चिम रेलमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, कोसी कमला डाइभर्सनजस्ता राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् । यस्तै विभिन्न राष्ट्रिय महत्वका आयोजनाहरू समेत सञ्चालन भइरहेको छ । सभामा राष्ट्रिय गौरवका आयोजना कार्यालयका प्रमुखद्वारा प्रगति पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया