गीतमा कालापानी

काठमाडौं । हालै भारतीय सरकारले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेपछि कलाकारले त्यसको विरोधमा गीत गाएका छन् । कलाकारको समूहले भारतको उक्त कदमको विरोधमा ‘सिमानामा हाम्रो माटो मिच्न नखोज’ बोलको गीत सार्वजनिक गरेका हुन् । नेपालको भूमि अतिक्रमण गरेर भारतले राम्रो नगरेको नेपाली कलाकारले प्रतिक्रिया दिएका छन् ।

उक्त गीतमा चर्चित गायक यम बराल र गायिका रितु गुरागाईंको आवाज रहेको छ । विइ स्टार नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दर्जनभन्दा बढी कलाकारको अभिनय छ । ज्ञानेन्द्र गदालको शब्द रहेको गीतमा चेतन सापकोटाको रहेको संगीत छ ।

गीतको भिडियो पनि गायक तथा संगीतकार चेतन सापकोटाले नै निर्माण गरेका छन् । गीतमा चेतनसँगै प्रेमकुमार राई, युवराज वाइवा, पवित्रा गुरुङ र लक्ष्मी स्याङ्तानको समेत स्वर रहेको छ ।
गीतको भिडियोमा कलाकार नीर शाह, भुवन चन्द, बसुन्धरा भूसाल, कोमल वली, शम्भुजीत बाँस्कोटा, प्रेमराजा महत, अर्जुनजंग शाही, दीपकराज गिरी, दिपाश्री निरौलालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया