दाइजोको निहुँमा श्रीमतीको हत्या !

धनुषा । मिथिला बिहारी नगरपालिका–३ कि २२ वर्षीया कुसुमकुमारी मण्डलको दाइजोको निहँुमा हत्या भएको माइती पक्षले आशंका गरेको छ ।  २५ वर्षीय प्रकाश मण्डलले कुटपिट गरी कुसुमको हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । शुक्रबार राति खाना खाएर सुत्ने वेलामा करिब ११ बजेतिर घरायसी विवादपछि कुटपिट गर्दा कुसुमको मृत्यु भएको माइती पक्षको भनाइ छ । छोरीलाई कुटपिट गरी हत्या गरेको मृतक कुसुमकी बुबा जिवछ मण्डलले दाबी गर्दै घटनाबारे आफूहरूलाई नातेदारले बिहान खबर गरेपछि मात्र थाहा पाएको बताए । उनको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याएपछि मात्र स्थानीयबासीले माइती पक्षलाई खबर गरेका थिए ।

माइती पक्षले विवाहमा दाइजो स्वरूप दिएको मोटरसाइकल प्रकाशको नाममा नामसारी गर्न नसक्दा हत्या गरेको बताएका छन् । प्रकाशले पटकपटक कुसुमलाई मोटरसाइकल आफ्नो नाममा पास गर्न दबाब र यातना दिँदै आएका थिए । छोरीको विवाह गर्दा आफूले सबै रकम साहु महाजनबाट ऋण लिएको र मोटरसाइकलसमेत किस्ताबाट एक लाख उधारोमा खरिद गरेकाले तत्कालै ज्वाइँको नाममा नामसारी गर्न नसकेको जिवछले बताए । ‘आफूले जसोतसो एक महिना पहिले किस्ताको बाँकी रकम तिरेको र केही ब्याजबापतको रकम मात्रै बाँकी भएकाले माघ महिनामा तिरेर ज्वाइँको नाममा मोटरसाइकल नामसारी गराउने योजनामा थिएँ’, उनले भने । मोटरसाइकलकै नामसारीको निहुँमा छोरीलाई कुटपिट गरी हत्या गरेको उनले दाबी गरेका छन् ।

यता, मृतक कुसुमको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । प्रहरीले मृतक मण्डलको पति प्रकाश र ससुरा रामचन्द्र मण्डललाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा दुई जनालाई पक्राउ गरेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।  २०७५ साल वैशाख २८ गते सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा भाइजी टोलका जिवछ मण्डलकी २२ वर्षीया छोरी कुसुमकुमारी मण्डल र धनुषाका मिथिला बिहारी नपा–३ बजारचोक बस्ने रामचन्द्र मण्डलका २५ वर्षीय प्रकाश मण्डलबीच हिन्दु परम्पराअनुसार मागी विवाह भएको थियो ।

विवाहमा माइती पक्षले नगद १ लाख ५० हजार, २ तोला सुन, १५ तोला चाँदी, फर्निचर र मोटरसाइकल दाइजोमा दिएका थिए । सो विवाह गर्दा करिब १५ लाख खर्चेर विवाह गरेको मृतक कुसुमकी आमा शेलोदेवी मण्डलले बताइन् । जिल्ला प्रहरी कार्यालय धनुषामा शनिबार भेटेकी मृतककी काकी पुनम देवीका अनुसार करिब ८ दिन अगाडि धनुषाको मिथिला बिहारीस्थित परशुराम तलाउमा भतिजी, ज्वाइँ र उनको सासुलाई भेटेर भलाकुसारी गरेको बताइन् । पुनमले भेटेको वेलामा भतिजी सासुसहित आएकी थिइन्, कुराकानी सामान्य रूपमा भए पनि उनको अनुहारमा निकै बेचैनी देखिएको बताइन् । भेटेको समयमा सासुले तिम्रो भतिजी मात्रै घरमा अरू बुहारीभन्दा कमजोर र काली भएकी बताएकी पुनमकुमारीले जानकारी दिइन् । निर्दयीले ज्वाइँले भतिजी कुटपिट गर्दै मारेको भन्दै उनलाई पक्राउ गरी कारबाहीको लागि प्रहरीमा उजुरी गर्न आएको बताइन् ।

प्रतिक्रिया