‘लोभ नगर्नु र इमान नगुमाउनु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूलाई पहिलो दिन नै निर्देशन दिदै लोभ नगर्न र इमान नगुमाउन भनेका छन् । नवनियुक्त मन्त्रीले पदभार ग्रहणको केही घण्टा बित्न नपाउँदै बसेको मन्त्रिपरिषद् बैठकपछि निर्देशन दिँदै एक दुई पैसाको लोभमा नफस्न चेतावनी समेत दिए ।

प्रधानमन्त्री ओलीले सरकारप्रति जनअपेक्षा ठूलो रहेकाले इमानका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन् । ‘कतिपय देशको भन्दा हाम्रो देशमा मन्त्रीहरूको तलब माथि छ,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन दिँदै भने, ‘हामीले हाम्रो देशका श्रमिकलाई हेर्नुपर्छ । एक दुई पैसाको लोभ गरेर बदनामी कमाउनु हुँदैन ।’ उनले लोभ नगर्न र इमान नगुमाउन मन्त्रीहरूलाई कडा निर्देशन दिएका हुन् । एक मन्त्रीका अनुसार ओलीले काममा बिलम्ब आपूmलाई कदापि स्वीकार्य नहुने निर्देशन दिएको बताए ।

‘जनताले गफ होइन काम र त्यसको प्रतिफल चाहेका छन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै मन्त्रीले भने, ‘उपयुक्त र उचित समयमा उचित मूल्यमा काम गर्नुहोला ।’ उनले मन्त्रीहरूलाई कुरा भन्दा बढी काममा ध्यान दिन समेत निर्देशन दिएका छन् । सरकारको कामप्रति नराम्रो हल्ला जनतामा गएको भन्दै प्रधानमन्त्री ओलीले यसलाई चिरेर अघि बढ्न सबै मन्त्रीहरूलाई निर्देशन दिए ।

आफू नयाँ नेपाल निर्माणको प्रक्रियामा रहेकाले आफूलाई सबैको साथ आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग भएकाले देखिएको सीमा विवादलाई कूटनीतिक हिसाबले समाधान गर्न आफूले कदम चालिसकेको जानकारी गराएका छन् ।

प्रतिक्रिया