नेपाली दर्शन प्रकाशित

काठमाडौं । नेपालमा प्रचलित विविध दर्शन समेटिएको पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट वार्षिक रूपमा दर्शनशास्त्र सम्बन्धी प्रकाशित हुँदैआएको ग्रन्थ ‘दर्शनावली’ को भाग–६ बजारमा आएको छ । प्रतिष्ठानको दर्शनशास्त्र विभागको संयोजनमा प्रकाशित हुने ‘दर्शनावली’ मा विविध नेपाली दर्शनका बारेमा विद्वान्हरूले लेखेका महत्वपूर्ण लेखहरू समावेश गर्ने गरिन्छ ।

दर्शनशास्त्र विभागका प्रमुख एवं सदस्य सचिव प्रा. जगत उपाध्याय ‘प्रेक्षित’ र विष्णु प्रभातद्वारा सम्पादित उक्त ग्रन्थमा दर्शनको आयाम र महत्वलाई नजिकबाट नियाल्ने काम गरिएको छ । नेपाली दर्शनको आयाम र वैभवतालाई ग्रन्थमा समेटिएको सदस्य सचिव प्रा. उपाध्यायले बताए । उनले समाजलाई नियाल्ने आँखिझ्यालका रूपमा विकसित विचारलाई ग्रन्थमा चर्चा गरिएको जिकिर गरे ।

उनले भने, ‘समाजको वैभवता, संस्कृति, सभ्यता, सम्पन्नता, जीवन र जगतलगायतका विविध विषयलाई हेर्ने दृष्टिकोणका रूपमा दर्शनको विकास भएको हो । तिनै विषयको गहिराइलाई दर्शनले छाम्ने भएकाले यसको महत्व पछिल्लो समय झनै बढेर गएको छ । प्रतिष्ठान यही महत्वलाई मध्येनजर गर्दै नेपालमा विकसित भएका दर्शनका विविध आयाम र पक्षलाई ग्रन्थका रूपमा प्रकाशित गरेको हो ।’

उनले प्रत्येक विषय वा जीवन र जगत्लाई हेर्ने दृष्टिकोण नै दर्शन भएको हुनाले मानवजीवनका लागि गन्तव्य पहिल्याउन र लक्ष्यमा पुग्न दर्शनको अपरिहार्य भूमिका रहेका विचार व्यक्त गरे ।

उक्त ग्रन्थमा नेपाली दर्शनको परिचय, संस्कार रूपान्तरणको आवश्यकता र चुनौती, दर्शन र शिक्षा, प्रकृतिपूजक बोन दर्शन, मानवतावादी दर्शनमा जयपृथ्वीबहादुर सिंहको योगदान, सांख्य, वेदान्त, मीमांसा, वैशेषिक, न्याय, बौद्धलगायत विभिन्न दर्शनसँग सम्बद्ध २०ओटा आलेखहरू समावेश गरिएको छ । ३१२ पृष्ठको उक्त पुस्तकको मूल्य ३३० रुपैयाँ रहेको छ । पुस्तक प्रज्ञाको पुस्तक प्रदर्शनीमा आकर्षक छुटका साथ बिक्री भइरहेको पुस्तक प्रदर्शनी सहव्यवस्थापक महेश्वर थापा मगरले जानकारी दिए

प्रतिक्रिया