हाम्रो नेपाली भू–भाग कुनै पनि हालतमा छोडिदैनः महामन्त्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएकोमा नेपाली कांग्रेसको पनि समर्थन रहेको बताए ।

महामन्त्री कोइरालाले नेपाल विद्यार्थी संघमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख छ भन्दै नेपाली कांग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको बताए । उनले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाली कांग्रेसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताए ।

कांग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताँउदै महामन्त्री कोइरालाले रौतहटका नेपाली कांग्रेस नेता अफताव आलमको विषयमा मुद्दा न्यायालयमा गएकोले केही बोल्नु उपयुक्त नहुने धारणा राखे । उनले मुलुकको विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनमा नेपाली काँग्रेसको समर्थन बढिरहेको बताए ।

प्रतिक्रिया