एनएमएको चुनावः प्रजातान्त्रिक समूहले टुंगो लगायो

काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचनको लागि प्रजातान्त्रिक समूहले सबै पदाधिकारीको टुंगो लगाएको छ । आगामी माघ महिनामा हुने एनएमएको निर्वाचनका लागि नेपाली कांग्रेस निकट चिकित्सकहरूको समूह (प्रजातान्त्रिक चिकित्सक संघ) ले महासचिव पदमा डा. बद्री रिजाललाई उठाउने भएको छ ।

संघको पूर्वअध्यक्ष एवं प्रजातान्त्रिक समूह निकटका चिकित्सकले पटक–पटकको बैठक र छलफलपछि महासचिवमा डा. बद्री रिजाललाई उठाउने तय भएको बताइएको छ । पदाधिकारीमा समेटिएका अधिकांश चिकित्सकले महासचिवको दावी गरेकाले थोरै असन्तुष्टि जनाएपछि चुनावी मैदानमा भने एक भएर उत्रिने प्रतिबद्धता पूर्वअध्यक्षहरू समक्ष जनाएका छन् ।

त्यसैगरी अन्य पदाधिकारीमध्ये बरिष्ठ उपाध्यक्षमा डा. शिवकुमार श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, सहसचिवमा डा. प्रकाश बुढाथोकी, कोषाध्यक्षमा डा. शिवजी पौडेल र सह–कोषाध्यक्षमा विश्वराज दवाडीको नाममा सैद्धान्तिक सहमति जुटेको हो । समूहबाट अध्यक्षका लागि डा. लोचन कार्कीलाई उठाउने सहमति विहीबारै भएको थियो । वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने, ‘अन्य पदमा पनि सैद्धान्तिक सहमति भइसकेको छ, साथीहरूले इच्छा नदेखाएमात्रै नयाँ मान्छे तय होला, नभए सदस्य मात्रै टुंगो लगाउन बाँँकी छ ।’

तर, महाचसचिव पदमा आफूभन्दा जुनियरलाई ल्याएमा आफू कार्यसमितिमा नबस्ने डा. बुढाथोकीले बताएका छन् । डा. बुढाथोकीले महाचसिवमा दाबी गरिरहेका छन् । तर, बैठकले उनलाई सह–सचिवमा उठाउने निर्णय गरेको छ । डा. बुढाथोकीले भने ‘पदाधिकारीको नामको औपचारिक जानकारी मैले पाएको छैन ।’ उनले थपे, ‘म संघमा लामो समयदेखि काम गरिरहेको व्यक्ति हुँ, त्यसकारण मभन्दा जुनियरलाई महासचिवमा उठाइयो भने म कार्यसमितिमा रहन्न ।’

प्रजातान्त्रिक समूहबाट एनएमएको यस आउँदो महाधिवेशनका लागि डा. रिजालसहित डा. विश्वराज दवाडी, डा. अनिल कार्की, डा. प्रकाश बुढाथोकी, डा. शिवजी पौडेलले इच्छा देखाएका थिए । यीमध्ये रिजाललाई उठाउने निर्णय भएको हो । आइतबार सहमति जुट्न नसकेपछि सोमबारको छलफलपछि भने सहमति जुटेको हो । चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम)बाट एमबिबिएस गरेका रिजाल सरकारी चिकित्सक संघका समेत पूर्वअध्यक्ष हुन् । डा. अनिलले भने, आफू निर्णयप्रति सहमत हुन नसक्ने भन्दै आफ्नो दाबी महासचिवमै रहने बताए ।

प्रगतिशील समूहले सरकारी चिकित्सकमध्येबाटै महासचिवमा उठाउने तयारी गरिरहेको अवस्थामा प्रजातान्त्रिक समूहले सरकारी चिकित्सक समूहका संस्थापकलाई नै मैदानमा ओलार्ने निर्णय गरेको हो । डा. रिजाल सरकारी चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । सरकारी चिकित्सक संघमा रहँदा डा. रिजालले राम्रो काम गरेको भन्दै प्रजातान्त्रिक समूहले उनलाई संघको महासचिवमा उठाउने निर्णयमा पुगेको समूहका एक चिकित्सकले जानकारी दिए ।

यता अन्य आकांक्षीले भने रिजाललाई महासचिवमा उठाएको भन्दै विरोध जनाएका छन् । आफूभन्दा जुनियरलाई माथिल्लो पोस्टमा ल्याएको भन्दै उनीहरूले स्वतन्त्र उम्मेदवारका रूपमा उठ्नेसम्म चेतावनी दिएका हुन् । महासचिवका आकांक्षी डा. कार्कीले आफूहरूलाई नसोधी मनोमानी ढंगले उम्मेदवार छनौट गरेको आरोप लगाएका छन् । डा. कार्कीले भने, ‘म भन्दा जुनियरलाई म कसरी महासचिव मानेर काम गर्छु । बरू स्वतन्त्र महासचिवमा उठ्छु ।’ महासचिवका अर्का आकांक्षी डा. बुढाथोकीले पनि आफूभन्दा जुनियरलाई महासचिवमा उठाए आफू चुनावमै सरिक नहुने बताए । यसैगरी डा. पौडेलले पनि यो निणर्य सहमतिबाट नआएको बताए ।

प्रतिक्रिया