मानन्धरलाई नवीन कलाश्री पुरस्कार

काठमाडौं । नेपाली समसामयिक कला क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर पुरस्कृत भएका छन् । ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’द्वारा स्थापित ५० हजार राशीको ‘नवीन कलाश्री पुरस्कार’ बाट मानन्धरलाई पुरस्कृत गरिएको हो ।

पोखराका अग्रज कलाकार क्षेत्रलाल कायस्थले स्थापना गरेको प्रतिष्ठानले पुरस्कार प्रदान तथा प्रदर्शनीको आयोजना गरेको हो । प्रतिष्ठानद्वारा आइतबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले २०७६ सालको सो पुरस्कार कलाकार मानन्धरलाई प्रदान गर्दै प्रदर्शनीको उद्घाटन गरे । नेपाली कला क्षेत्रमा पाँच दशकदेखि क्रियाशील मानन्धरले नेपाल लगायत विश्वका दर्जनौँ मुलुकमा कला प्रदर्शनी गरिसकेका छन् । सो अवसरमा अग्रज कलाकार कायस्थको १३ आँै चित्रकला प्रदर्शनी गरिएको हो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली कलामा पोखरेली कलाकारको विशिष्ट योगदान रहेको जिकिर गरे । उनले भने, ‘विशेषगरी पोखराको सौन्दर्यलाई चित्रकलाका माध्यमबाट कलाकार कायस्थका सिर्जनाले अतुलनीय भूमिका खेलेका छन् । उहाँका कलाकारितालाई कलाका पारखीले त चिनेका छन् । अब सरकारले चिन्न सक्नुपर्छ ।’

जोशीले आधुनिक चित्रकलाको इतिहास सटिकरूपमा लेख्न आवश्यक रहेको बताउँदै कला क्षेत्रमा राज्यले निकै काम गर्न आवश्यक रहेको धारणा राखे । उनले भने, ‘नेपाली कलाको विकास र विस्तारका लागि राज्यले वातावरण बनाउनुपर्दछ । नेपालको पहिचान दिने भनेकै कला र संस्कृतिले हो ।’

नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कलाकार कायस्थका कलाले पोखराको सौन्दर्यका साथमा मानवीय जीवनका विविध क्षेत्रलाई सटिकरूपमा चित्रण गरेका बताए । उनले भने, ‘नेपालको समसामयिक कलामा कायस्थले निरन्तर योगदान दिइरहनु भएको छ । कलाप्रतिको लगावले उहाँ नेपाली कला क्षेत्रको सम्मानित व्यक्तित्वका रूपमा परिचित बन्न सक्नुभएको हो ।’

त्यस्तै, पुरस्कृत व्यक्तित्व मानन्धरले प्रकृति, हिमाल र जलको उत्कृष्ट संगमस्थल पोखराका कलाकारले नेपाली कला क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘पोखराका कलाकार कायस्थले सिर्जना गरेका कला आधुनिक पुस्ताका लागि विश्वविद्यालय बन्न सक्छन् । उहाँले रचना गरेका कलामा पोखरेली सुगन्ध पाइन्छ । साथै उहाँले कलाका विविध शैली र पक्षलाई कलामा उतारेर आफ्नो पहिचान स्थापित गर्न सफल हुनुभएको छ ।’

कलाकार मानन्धरले आफू पहिलो पटक काठमाडौंदेखि पैदल हिँडेर पोखरा पुगेको स्मरण गरे । कार्यक्रममा पूर्व मुख्यसचिव केशवराज राजभण्डारीले कलालाई जीवनको सौन्दर्य र जीवनको सौन्दर्यलाई कलामा ढाल्न आफ्ना बालसखा कलाकार कायस्थ खप्पिस रहेको भनाइ राखे । उनले नेपाली कला क्षेत्रमा कलाकार कायस्थले विशिष्ट योगदान दिएको बताउँदै भने, ‘सानैदेखिको कलाप्रतिको समर्पणले कायस्थ नेपाली कला जगतमा स्थापित व्यक्तित्व बन्न सक्नुभएको हो ।’

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले प्रकृतिका अनुपम छटा, मानवीय संवेदना र जीवन जगतका आयामलाई कलाकार कायस्थले सूक्ष्मरूपमा उतारेको बताए । उनले भने, ‘कलाकार कायस्थले प्रकृति, मानवीय संवेग तथा जीवन र जगतका विविध परिवेशलाई कलामा उतानुभएको छ ।

उहाँका सिर्जनामा अन्तरआत्माको स्पन्दन प्रवाहित भएको पाउँछौँ ।’ कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सु्ष्मा राजभण्डारीले नेपाली कला क्षेत्रमा कायस्थको निरन्तरको लगाव नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताइन् । उनले मोफसलमा चित्रकलालाई निरन्तरता दिन कठिन भएको जिकिर गर्दै कलाकार कायस्थ निरन्तर छ दशकदेखि यसैमा तल्लीन हुनु पोखरा र देशमा लागि गौरवको विषय भएको धारणा राखिन् ।

कार्यक्रममा कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानका अध्यक्ष लोकबहादुर गुरुङले कलाको माध्यमबाट जीवनलाई उत्साहित बनाउन कलाकार कायस्थका कलाले जोड दिएको चर्चा गरे । उनले प्रतिष्ठानले पहिलोपटक वरिष्ठ कलाकार मानन्धरलाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको बताए ।

कलाकार कायस्थले आफूले भावनात्मकदेखि प्रकृतिका विविध विषयमाथि केन्द्रित रही कलाकृति तयार पारेको बताए । उनले भने, ‘रङ र विषयमार्फत मैले आफ्नो मनोभावलाई कलामा उतारेको छु । प्रदर्शनीमा राखिएका कलामा विविध शैली र विचार समेटिएका छन् ।’

प्रदर्शनीमा कायस्थले सिर्जना गरेका कलाका विविध शैलीका कलाकृति राखिएको छ । उनले माछापुच्छ«े हिमाल र फेवातालको मनमोहक कलामा उतारेका छन् । ‘कलायात्रा–७६’ समुद्रको तटदेखि हिमालपारिसम्मका विषयमा केन्द्रित रही तयार पारिएका चित्रमा नेपालदेखि अस्ट्रेलियासम्मका विषयवस्तु समेटिएका कला राखिएको छ । कलाकार कायस्थका कला स्वदेश र विदेशमा गरी हालसम्म १२आँै पटक प्रदर्शनी भइसकेका छन् ।

कलाकार कायस्थले आफ्नो ७६ औँ जन्मोत्सव पारेर गरेको प्रदर्शनीमा ७६ वटै चित्र राखेका छन् । बुधबारसम्म चल्ने उक्त प्रदर्शनीमा कायस्थले आफ्नो जीवनका प्रारम्भमा तयार पारेका कलाकृतिदेखि पछिल्लो समय बनाएका चित्र राखेका छन् ।

प्रतिक्रिया