सरकारबारे समाजवादीमा विवाद

काठमाडौं । समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । पार्टीले संविधान संशोधनका लागि पहल गर्ने भएको छ ।

संघीय परिषद् र केन्द्रीय सदस्यहरूले संविधान संशोधन प्रक्रियाअघि नबढेको भन्दै सरकारबाट बाहिरिन दिएको सुझाव बेवास्ता गर्दै समाजवादीले सरकारमै रहेर संविधान संशोधनको विषय कार्यान्वयन गर्न थप प्रयास गर्ने भएको छ ।

राजधानीमा दुई दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले सरकारका बारेमा थप निर्णय लिने जिम्मा पदाधिकारीलाई दिएको छ । ‘सरकारबारे सबै पक्ष समय ख्याल राख्दै, कहिले कुन तरिकाबाट छोड्ने भन्ने अन्तिम निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ’, प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

सरकारले संविधान संशोधन नगरेमा मात्र आन्दोलनमा जाने निर्णय पनि गरेको छ । संविधान संशोधन गर्न आवश्यक दुई तिहाई पु¥याउन सरकारमा सहभागी भए पनि १७ महिनासम्म प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा चासो नदेखाएको भन्दै सहभागीहरूले सरकार छाड्न दबाब दिएका थिए । संघीय परिषद्को बिहीबार बसेको बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्दै सरकारमा संलग्नताबारे गम्भीर समीक्षा जरुरी रहेको बताएका थिए ।

शनिबार बोल्ने क्रममा छन्दबहादुर पन्थीले सरकारमा बसेर तेस्रो धार र वैकल्पिक पार्टी नबन्ने र सांगठनिक विस्तार पनि नहुने भएकोले सरकार छोड्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए । तर यस विषयमा केन्द्रीय कार्यकारिणी समिती (पदाधिकारी) बैठकलाई जिम्मा दिएर बैठक समापन गरिएकोमा केही नेताहरूले असन्तुष्टि जनाएका छन् । यसअघि नेताहरूले अल्टिमेटम दिएर सरकार छोड्ने बताए पनि त्यसमा भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव सहमत नभएका हुन् । यादव हाल सरकारको उपप्रधानमन्त्री छन् ।

सरकार छोडेर मधेसी, आदिवासी र सबैको अधिकार संविधानमा लिपिबद्ध गर्न आन्दोलनमा जानुको विकल्प नभएको बताउने भट्टराई नै सरकार छोड्ने पक्षमा नहुनु दुःखद् भएको ती नेताले बताए । बैठकले पार्टीको नियमावली र संगठनात्मक कार्यविधि संसोधन गर्न पनि पदाधिकारीलाई जिम्मा दिएको छ ।

प्रतिक्रिया