भत्ता नपाउँदा ज्येष्ठ नागरिकको चाड खल्लो

आठ महिनादेखि सामाजिक सुरक्षा भत्ताबापतको रकम नपाउँदा सप्तरीको बलान बिहुल गाउँपालिकाका लक्षित समुदाय दुःखी हुँदै लौरो टेकेर जिल्ला प्रशासन कार्यालयसम्म पुगेका छन् । उनीहरूले लामो समयदेखि आफूले पाउनु पर्ने भत्ता वापतको रकम पाउन सकेका छैनन् । भत्ताको आसमा उनीहरूले दसैं, तिहार र छठ जस्ता ठूला पर्व खल्लो गरी मनाउन प¥यो ।

सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाएपछि यहाँका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला र दलित समुदायले गाउँपालिकाका वडाध्यक्ष र गाउँपालिकाका अध्यक्षसँग ‘हाम्रो भक्ता किन आएन’ भनेर दिनहुँजसो गुनासो र प्रश्न गर्दे आएका छन् । तर, उनीहरूको गुनासो गुनासोमा मात्रै सीमित भएको छ । भक्ता पाउने र समस्या टार्ने छाँटकाट भने देखिँदैन ।

दिनहुँ गुनासो गर्दा पनि स्थानीय तहले आज हुन्छ, भोलि हुन्छ भन्दै आलटाल गर्न थालेपछि निराश भएका ज्येष्ठ नागरिकहरू लौरो टेक्दै केही दिन अघि राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, सप्तरीमा हुल बाँधेर आएका थिए । विकट बाटोमा सास्ती खेप्दै ३० किलोमिटरसम्म टाढाबाट राजविराज आउनेमा १ सय ८ वर्षीय तेतर सदादेखि दृष्टिविहीन सजन भण्डारीसमेत गरी ४० जना थिए । उनीहरू आफूले पाउनुपर्ने भक्ता स्थानीय तहले दिन नसकेका कारण बाध्य भएर राजविराज आक्एा हुन् ।

भक्ताको माग गर्ने आएका उनीहरूले जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालसमक्ष आर्थिक वर्ष ०७५÷७६ को अन्तिम किस्ताबापतको रकमसमेत नपाउँदा कठिनाइ भोग्नुपरेको गुनासो गरे । भक्त नपाएका कारण आफ्नो दैनिकी समेत लचाउन गाह्रो भएको उनीहरूले बताए । बलान बिहुल गाउँपालिका वडा नं ३ ले आव २०७५÷७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म वितरण गर्न सकेको छैन । सरकारले देला र खाउला भरेर आसमा बसेका उनीहरू पाउनु पर्ने रकम नपाउदा निराश बनेका हुन् ।

अन्य स्थानीय तहका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, असहाय, एकल महिलाले आर्थिक वर्ष ०७६÷७७ को सामाजिक सुरक्षा भत्ता लिइसकेको भन्दै ६८ वर्षीया मिथलीदेवी पासवानले आफूहरूले गत आर्थिक वर्षको समेत नपाएको दुःखेसो पोखिन् । ‘हरेक वर्ष असार महिनामा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थियौँ, यो वर्ष कात्तिक बित्न लाग्दासमेत भक्ता पाएका छैनौँ,’ पासवानले भने, ‘वृद्धभत्ता नपाउँदा घरमा नून, तेलसहित दैनिक उपभोगका सामान किन्न समस्या भएको छ ।’ उनले आफ्ना समस्या सुनाइन् ।

समयमा रकम नपाउँदा दसैँ, तिहार र छठजस्ता महत्वपूर्ण पर्वमा इच्छा लागेका कपडा किन्न र खानेकुरा खान नपाएको भन्दै उनीहरूले दुःखेसो पोखे । सबैले वर्ष दिनको चाडपर्व रमाइलोसँग मनाउन पाउनुपर्नेमा चाडपर्वमा उत्साह नै मार्ने काम भएको उनीहरूले बताए । समयमा भक्ता नपाएका कारण आफूहरूले औषधोपचार गर्न नपाएर स्वास्थ्य समस्या बल्झिएको ७० वर्षीया सहजीदेवी पण्डितले बताइन् ।

सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा सरकारबाट पाउने सुविधासमेत स्थानीय सरकारबाट रोकिदिँदा अपमान महसुस भएको ७१ वर्षीय राजलाल पासवानले बताए । उनले अविलम्ब सामाजिक सुरक्षाबापतको भत्ता उपलब्ध गराउन माग पनि गरेका छन् । तर, उनको माग कहिले पूरा हुन्छ यकिन भने छैन । अहिलेसम्म आफूहरूको भक्ता रोकिनुको कारणसमेत प्रष्टसँग थाहा नपाएको उनीहरूको भनाइ छ ।

गाउँपालिका र वडा कार्यालयको कमजोरीका कारण झण्डै तीन सय जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । भतिजा रामकृपाल मण्डलको घरमा वडा कार्यालय स्थापना गरेका वडाध्यक्ष कपलेश्वर मण्डलले छोरा विष्णु मण्डललाई कार्यालय सहयोगीमा राखेका छन् ।

अन्य कर्मचारी नभएको वडा कार्यालयमा अनियमितता गर्नकै लागि सचिवलाई कार्यालयमा बस्न नदिएको गुनासो गर्दै ६५ वर्षीय श्याम दासले लक्ष्यित समुदायको लाखौँ रुपियाँ आठ महिनादेखि आफूखुसी उपभोग गर्ने र ऋणमा लगाएर ब्याज खानेमाथि कारवाही हुनुपर्ने माग गरे ।

उनको भनाइलाई आधार मान्ने हो भने स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिकै कारण पनि लक्षित समूहले समयमा आफूले पाउनुपर्ने भक्ता पाउन सकेका छैनन् । स्थानीय तहमा जनप्रतिनिधि आए पछि जनताका काम र समस्या सहज रूपमा होला भनेर आस गरेका जनतामा यसले निराशा बढाएको छ । यदि त्यो सत्य हो भने त्यसको पनि उचित छानबिन हुन आवश्यक छ ।

सामाजिक सुरक्षा भत्ता नपाउँदा यो वर्षको सबै चाडपर्व समेत खल्लो भएको जेष्ठ नागरिक लुखिया सदाले भने । उनले भत्ता आउँला र चाडपर्व टारौंला भन्ने आशामा बसेका आफूहरूको हातमा अहिलेसम्म पैसा नपरेपछि गुनासो गर्न राजविराज आएको बताए । चाडबाडमा रमाइलो गर्ने र मिठो खाने चाहना सबैमा हुन्छ ।

ज्येष्ठ नागरिक रामनारायण गुप्ताका अनुसार वडामा तीन सय जना सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । उनले भने, ‘वडा कार्यालय र गाउँपालिकामा दिनहुँजसो गुनासो गरे पनि अल्झाउने काम मात्र भए पछि गुनासो गर्न जिल्ला प्रशासन कार्यालय आएका हौँ ।’

बलान बिहुल गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको वडागत अभिलेख अद्यावधिक नरहेको महालेखा परीक्षकले जनाएको छ । अद्यावधिक नहुँदा महालेखा परीक्षकले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन कार्यविधिबमोजिम सामाजिक सुरक्षा भत्ता पाउनेको आवश्यक सम्पूर्ण विवरण खुल्ने अभिलेख खाता अद्यावधिक गर्न र सोही आधारमा भत्ता वितरण गर्न गत वर्ष निर्देशन दिएको थियो ।

अभिलेख अद्यावधिक नभएको, थपघट भएको विवरण लेखा परीक्षणार्थ पेश नभएको, नेट नभएको भन्दै एमआइएस विवरणको उपयोग नगरेकाले सुरक्षा भत्ताको रकम पाउनुपर्नेले नै पाएको भन्न सक्ने आधार नभएको भनी यसअघि लेखापरीक्षणले प्रतिवेदन दिएको थियो । गत वर्षको आर्थिक विवरणमा देखाएको रकममा एकलाख २७ हजार फरक पर्न गएको देखिएकाले यस्तो फरक रकमको मिलान (रिकन्साइल) हुनुपर्ने समेत लेखा परीक्षण प्रतिवेदनमा औँल्याइएको छ ।

गत जेठ–असारमै बाँड्नुपर्ने रकम अहिलेसम्म पनि उपलब्ध नभएपछि आक्रोशित शुभक रामले भने, ‘सरकराले भने अनुसार घरदैलोमै पाउनुपर्ने रकमका लागि महिनौदेखि लौरो टेकेर धाउनुपरेको छ र पनि भत्ता पाउन सकिएको छैन ।’

स्थानीय तहमा जनप्रतिनिधि भएपछि सहजरूपमा हुनुपर्ने काम नभए पनि उनीहरू आक्रोशित भएका हुन् । सरकरले घरमा नै भत्ता पुर्याउने भने पनी उनीहरूले त्यो सुविधा पाउन सकेका छैनन् । आफूहरूले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता समयमा नै सहजरूपमा पिउनुपर्ने उनस्हरूको माग छ ।

प्रतिक्रिया