शिल्पा पोखरेलले आफुलाई पक्राउ नगर्न माग गर्दै हालेको मुद्दा खारेज

काठमाडौँ । बहुविवाहको आरोप झेलिरहेकी नायिका शिल्पा पोखरेलले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णयलाई चुनौती दिँदै दायर गरेको निवेदन सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडा र मनोजकुमार शर्माको इजलासले मंगलबार नायिका पोखरेलको उक्त निवेदन खारेज गर्न आदेश दिएको हो ।

जिल्ला अदालतले फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको थियो । बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो।

जिल्ला अदालतले पुर्जी जारी गरेपछि अभिनेत्री पोखरेल उच्च अदालत हुँदै सर्वोच्च पुगेका थिइन् । शिल्पाले २०७६साउन २९ गते रिट हालेकी थिइन्। उक्त रिटमा सुनुवाई गर्दै भदौ १ गते अदालतले शिल्पालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले दिएको आदेश अनुसार पक्राउ पुर्जी कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशपछि नायिका शिल्पा खुल्ला रुपमा हिड्न पाएकी थिइन्। जिल्ला अदालतको पक्राउ पुर्जीपछि छवि र शिल्पा दुवै फरार रहेका थिए ।

प्रतिक्रिया