भारतीय रुपैयाँ फिर्ती अन्यौलमा

भारतले तीन वर्षअघि प्रतिबन्ध लगाएका उसका नोटहरू नेपालबाट फिर्ता लिन नेपालले गरेको आग्रहहरू विफल हुँदै आएको छ । नेपाल राष्ट्र बैंकमा प्रतिबन्धित पाँच सय र एक हजारका पाँच करोड भारतीय रुपैयाँ रहेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताएका छन् ।

सर्वसाधारणले पनि आफूसँग रहेका त्यस्ता नोट साट्न पाइन्छ भन्ने आशा त्याग्न नसकेको बताउँदै आएका छन् । तर, पूर्व डेपुटी गभर्नर कृष्ण मानन्धरले भारतले आफ्ना प्रतिबन्धित नोट फिर्ता लिने सम्भावना अब शून्यमा पुगेको बताएका छन् । उनको भनाइको आधारमा पनि अब त्यस्ता नोट फिर्ता होला भन्ने अन्यौल अझै बढेको छ ।

उनी भन्छन्, ‘भारतका लागि त्यो ठूलो रकम होइन । तर, पनि नेपालले बारम्बार आग्रह गर्दा त्यसलाई हेरौँला, छलफल गरौँला भन्नुले फिर्ता लिन नचाहेको देखिन्छ ।’ नेपाल र भुटानमा भारतीय नोट सजिलै प्रयोग गर्ने गरिन्छ । भुटानमा भएका आफ्ना नोट भारतले फिर्ता लिइसकेको छ ।

२०५१ सालअघि नेपालमा एक सय भारतीय रुपैयाँभन्दा ठूला भारु नचल्ने भए पनि अनौपचारिक रूपबाट यहाँ आएका पाँच सय रुपैयाँका झण्डै २८–२९ करोड भारु लगिदिएको थियो । तर यतिखेर नेपालमा औपचारिक रूपबाटै ल्याइएका पैसा भए पनि नेपालबाट ती नोट फिर्ता नलिनुले भारतीय नियत प्रस्ट हुने कतिपयको बुझाइ छ । लामो समयदेखि बसेका ती नोट लाने बारेमा भारतीय पक्षले चासो नदिएको देखिन्छ ।

को सँग छ बाँकी नोट ? नेपाल राष्ट्र बैंकसँग पाँच करोड भारतीय रुपैयाँ बराबरका नोटहरू रहेको छ । भारतमा हरेक वर्ष हजारौँ नेपालीहरू रोजगारीका लागि जाने गर्छन । नेपाली बजारमा भारतीय मुद्रा सहजै चल्ने हुनाले ती नेपालीहरूले आफूसँगै भारतीय मुद्रा बोकेर आएका हुन्छन् ।

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय त्यस्ता कामदारका घरका परिवारका सदस्यहरूले आवश्यक परेका बेलामा खर्च गर्ने भनेर राखेका हुनसक्ने बताउँछन् । यति मात्रै होइन्, कैयौँ नेपालीहरू उपचार, अध्ययन वा भ्रमणका लागि भारत पुग्छन् । उपचार वा भ्रमणका क्रममा बाँकी रहेको रकम घर फिर्ता ल्याएर थन्क्याउने गर्छन् । त्यसरी विभिन्न कारणले नेपाल भित्रिएका भारतीय नोट राष्ट्र बैंकलगायत सामान्य नागरिकसँग पनि हुनसक्छ ।

त्यस्ता नेपालीहरूमध्ये कतिपयले विभिन्न पहुँचमार्फत् त कतिपयले नोटको मूल्यभन्दा सस्तोमा त्यतिबेलै प्रतिबन्धित नोट साटिसकेका पनि छन् । तर त्यस्तो प्रबन्ध मिलाउन नसकेका कैयौँसँग अझ पनि त्यस्ता नोट बाँकी छन् । पूर्वराजदूत उपाध्यायले त्यसबेला दिल्लीमा रहेकाले कैयौँ नेताहरूका त्यस्ता पैसा साट्ने प्रबन्ध मिलाइदिएका थिए ।

भारतको आनाकानी किन ? भारतले फिर्ता लगोस् भनेर बारम्बार नेपाली अधिकारीले गरेको आग्रह आलटाल गर्नुमा भारतभित्रै प्रणालीमा नफर्केको कालो धन तस्करमार्फत नेपाल आइपुग्ने र नेपालबाट त्यो रकम भारत पुग्ने त्रास भारतीयहरूमा रहेको बताइन्छ ।

पूर्वअर्थमन्त्री समेत रहेका भारतीय नेता अरुण जेट्लीले बारम्बार त्यस्तो त्रास आफूसँगको कुराकानीमा व्यक्त गरेको पूर्व राजदूत उपाध्याय बताउँछन् । यस्तै उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्षले भारतमा नोट प्रतिबन्धित भएका बखत नेपालमा त्यस्तो रकम अरबौँ रहेको भन्ने अभिव्यक्ति दिएपछि भारत झस्केको जानकारहरूको भनाइ छ ।

पूर्वडेपुटी गभर्नर मानन्धर भन्छन्, ‘भारतको केन्द्रीय बैंकले प्रतिबन्धित नोट ९७ प्रतिशत फिर्ता भइसकेको एक रिपोर्टमा जनाएको छ ।’ ‘त्यसैले तीन प्रतिशतमा नेपालबाट आउने रकम निकै न्यून हो । त्यसैले पनि नेपालबाट जाने नोट त्यति समस्याकारी नमान्नुपर्ने हो ।’

आर्थिक हिसाबले नेपालको अर्थतन्त्रलाई भारतीय नोटको कुरालै खासै समस्या नपर्ने जानकारहरू बताउँछन् । तर सर्वसाधारणले दुःख गरी कमाएको रकम गुमाउनुपर्दा भने उनीहरू मर्कामा पर्नेछन् । त्यससँगै नेपालमा भारतले गुमाउँदै गएको भनिएको साखमाथि झन धक्का लाग्न सक्छ ।

त्यसै पनि पछिल्लो नाकाबन्दीयता चुलिएको भारतविरोधी मनोभावमा उस्तै प्रकृतिको नोट भुटानबाट लग्ने नेपालबाट नलग्ने गरेकाले भारतको मिचाहा प्रवृति उजागर भएको कतिपयको भनाइ छ । पूर्वराजदूत उपाध्याय नेपालले भारतले उसका पैसा फिर्ता लगोस् भनेर प्रयत्न कायमै राख्नुपर्ने बताउँछन् । भारतीय अधिकारीहरूसँग बारम्बार कुराकानी गरेर पनि फिर्ता लग्न बाध्य बनाउनुपर्ने उनको तर्क छ ।

तर, यसको समाधान कहिले हुन्छ भन्ने बारेमा सरकारी अधिकारीहरू समेत अनविज्ञ छन् । उता भारतले भने पैसा फिर्ता लाने चासो पनि देखाएको छैन र त्यसको कारण पनि प्रस्ट पारेको छैन । राष्ट्र बैंक र साधारण नागरिकको घरमा थन्किएको भारतीय रुपैयाँको सटही र उपयोग कहिले हुन्छ भन्ने अन्यौल नै छ । बिबिसी

प्रतिक्रिया