अन्तर्वार्ता

मैले जानाजानी गरेको बिराम त्यही थियो

सौर्य अनलाइन २०७६ कार्तिक २३ गते ९:२१ मा प्रकाशित

माधव काफ्ले, साहित्यकार

माधव काफ्ले, नेपाली निबन्ध क्षेत्रका परिचित अनुहार हुनुहुन्छ । रौतहट चन्द्रनिगाहपुरमा बसेर साहित्य साधना गरिरहनुभएका काफ्लेका चारवटा साहित्यिक कृति प्रकाशित भएका छन् । उहाँका लिगलिग कोट, जीवन एउटा थोत्रो स्क्रिन र लाक्षागृह निबन्ध संग्रह तथा खुसीको पीरो धूवाँ संस्मरण संग्रह प्रकाशित छन् । शिक्षण पेसाबाट अवकाशप्राप्त निबन्धकार काफ्ले नेपाली साहित्यलाई फराकिलो बनाउन गहकिला कृति लेखिनुपर्नेमा जोड दिनुभएको छ । नेपाली निबन्ध र साहित्यका बारेमा काफ्लेसँग सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संक्षिप्त संवादः

 

 

० साहित्यप्रतिको अनुरागका बारेमा बताइदिनुस् न ?
विशुद्ध कर्मकाण्डी चेतना प्रबल भएको परिवारमा हुर्केको हुनाले साहित्यिक अनुरागको त्यहाँ कुनै गन्धसमेत टुसाउन सकेको थिएन । साहित्य के हो भन्ने कुराको चासो परिवारमा न त कसैले लिनुभएको नै थियो न त मैले बुझ्ने खोजेको नै थिएँ ।

वास्तवमा अनुभूतिजन्य चेतना सतहमा सहज र स्वभाविक किसिमले गतिशील हुनको साटो अस्वभाविकरूपमा बांगिँदै, बटारिँदै टेढो र खुँडे हुँदै गएको महसुस गर्न थालेपछि कुण्ठाहरू निकासको लागि मनभित्र हुँडलिन थाले । अभिव्यक्त गर्नसक्ने आकर्षक कला मसँग अलिकति पनि थिएन । उकुसमुकुस र छट्पटी दम्को बनेर मुटुमा टुसाउन थालेपछि त्यसको धङधङीबाट अमलेख हुन कुनै न कुनै माध्यमको खोजीमा थिएँ । पछि बढ्दै जाँदा, पढ्दै जाँदा अक्षरसँग नजिकिँदै गएँ ।

अन्य संसाधनभन्दा यसको माध्यमबाट आफ्ना अनुराग व्यक्त गर्न सहज र स्वभाविक लाग्दै गयो । अव्यक्त अनुरागलाई अक्षरमा उतार्दै जाँदा त्यसमा मिठास भर्नका लागि तत्सम्बन्धी विधाका पुस्तकहरू पढ्न थालेँ । पढेका किताब मन पर्दै गए । अरू पनि पढ्न थालेँ । रहरमा गरिएको अनुष्ठान पनि कालान्तरमा बानी बन्यो । यही बानी नै स्थायी भएर जीवनसँग जोडिन आएको हुनाले अहिले हामी एक अर्काका पुरक हुन खोज्दैछौँ ।

 

० यहाँको निबन्धप्रतिको अभिरूचि कहिलेदेखि जागरुक भयो ?
खासमा निबन्ध विधा मलाई पटक्कै मन नपर्ने विधामध्येको एक हो । भनौँ बन्न पुगेको थियो । पढ्न त परै जाओस् निबन्धको किताव देख्दा पनि परक्क मुन्टो बटारेर पन्छिन खोज्थेँ । एकाउन्न सालमा झरना साहित्य परिवार मकवानपुरले साहित्यिक कार्यक्रममा मलाई पनि डाकेको थियो । त्यस कार्यक्रममा बालकृष्ण पोखरेल सरसँग म विशेष किसिमले नजिकिएँ । कार्यक्रम समापनपश्चात् भर रात हामी गफमै मस्त भयौँ । राति दुई बजेतिर आँखा लोलाउन थालेपछि पोखरेल सरसँग क्षमायाचना गर्दै म सुतेँ । त्यसवेला त्यहाँ जान फुर्केचौरसम्म पैदलनै हिँड्नुपथ्र्यो । वीरगञ्ज कलैयाका साथी चार बजेतिर उठेर हिँड्ने तर्खर गर्न लागेको देखेपछि म पनि लोलिएका आँखा बटार्दै पछि लागेँ ।

जेठको घटना हो यो । मंसिर लागेपछि देवकोटा स्मृतिसभा कलैयाको व्याख्यान कार्यक्रममा सहभागी हुन जाँदा बसबाट उत्रनासाथ भाइ हरिकृष्ण काफ्लेले अँध्यारो मुख लगाउँदै भन्नुभयो– ‘दाजु तपाइँलाई त छतिवनको कार्यक्रममा नराम्रो आक्षेप पो लगाएछन् हगि !’

उनको कुरा सुन्ना साथ म छक्क परेँ । कुनै अवगाल आउने खालको त्यस्तो तामसी काम त केही गरेको थिइनँ । बेलुका केही साथीले निःशुल्क सोमरस पानका निमित्त आमन्त्रण गरे पनि त्यसको छोइछिटोबाट अलग्गै बसेको थिएँ । बिहान त उज्यालो भुइँमा खस्न नपाउँदै बाटो लागिहालेँ ।

निकै कर गरेपछि उनले त्यसको सविस्तार बयान गरे । उनको कुरा सुन्नासाथ रिसले तोरीको फूल देख्न पुगेँ । छतिवनमा बालकृष्ण सर र मसँगै एउटा कोठामा सुतेका थियौँ । बिहान अरू उठेर हिँड्न लाग्दा म पनि उठेँ । भर्खर सुत्नुभएको बूढोमान्छेलाई उठाएर निन्द्रा कचल्ट्याइदिने आँटै आएन । उहाँसँग बिदावारी हुन असाध्यै मन हुँदाहुँदै पनि अररो मानसिकता लगाएर बाटो लागेको हुँ । मैले जानाजानी गरेको बिराम त्यही थियो ।

पोखरेल सर उठेर बाटो लाग्न खोज्दा गोजी छाम्न पुग्नुभएछ । भएको गोजी रित्तो देखेपछि झसंग हुँदै चारैतिर खोज्नुभएछ । हिँड्न आनाकानी गरेको देख्ता आयोजकले के भयो भनेर सोद्धा पैसा हराएको कहिरन भन्नुभएछ । एक त चोरीको मामला । त्यसमा पनि बालकृष्ण पोखरेलको । अवगाल आइलाग्ने डरले सबै पन्छिएर एकमुष्ठ आक्षेप मेरो निर्दोष थाप्लामा खन्याएर पन्छिएछन् । कार्यक्रम अवधि र तत्पश्चात पनि उहाँसँग म नै थिएँ ।

भएको के थियो भने सुत्नेवेलामा उहाँले झोला मिलाउनु भयो । भोलिको यात्रामा जुत्ता लगाउने भएको हुनाले चप्पल झोलामा हाल्न खोज्नुभयो । चप्पल तल्लो तलामा फुकालेर आउनुभएको थियो । भ¥याङमा पर्याप्त उज्यालो नभएको हुनाले बूढा लड्ने पो हुन् कि भनेर उहाँलाई रोक्तै मैले चप्पल ल्याएर उहाँले भनेबमोजिमको स्थानमा राखी दिएँ । चप्पल राख्न खोज्दा गोजीको पैसा पनि त्यहीँ राख्ता सुरक्षित हुने भनेर उहाँकै निर्देशन अनुसार गनेर राखिदिएको थिएँ । हिँड्ने वेलामा उहाँले बिर्सनुभएछ । पछि आयोजकले चन्दा संकलन गरेर भर्ताल तिरेपछि उहाँ बाटो लाग्नुभएछ ।

घर पुगेपछि पैसा भेट्नुभएछ र यो समाचार शाम्ब ढकाललाई भन्नुभयो । तर, छतिवनका साथीसँग पटक पटक भेट्ता पनि पैसा फिर्ता गर्नुभएन । न त उहाँले मसँग नै केही गुनासो गर्नुभयो । उहाँको यस्तो लिच्छड मनोवृतिबाट आहत भएपछि मैले ‘या अल्लाह’ शीर्षकको एउटा निबन्ध लेखेको थिएँ । त्यो ०५६ साल मंसिरको मधुपर्कमा छापियो । धेरै पाठकले मनपराएर यस्तै लेख्न अभिप्रेरित गर्नुभएको हुनाले नजानिँदो गरी म यो विधातर्फ लहसिँदै गएँ । पहिले त एउटा संग्रहसम्म तयार पार्न सक्छु कि भन्ने दोधारमा पर्दै लेखेको थिएँ । लेख्तै गएपछि संख्या पाखा लाग्यो । यही विधा नै मेरो परिचयको संवाहक बन्यो ।

० धेरै निबन्ध पौराणिक विषयवस्तुसँग जोडिएका छन् । के पुराण आदि विषय नजोडी निबन्ध लेख्न सकिँदैन ?
कुरो त्यसो होइन । पौराणिक आख्यानका पात्र, प्रवृति र चरित्र व्यापक छन्, प्रभावशाली छन्, प्रेरणादायी छन् । प्रसंग आएको ठाउँमा विना हिच्किचाहट मैले त्यस्ता प्रवृतिप्रति चासो देखाउन खोजेको हुँ । त्यति मात्रै हो । त्यसैलाई आधार बनाएर निबन्धको वैतरणी तर्न खोजेको चाहिँ किमार्थ होइन । संसारमा जेजति उच्चस्तरका निबन्ध लेखिएका छन् ती पौराणिक आख्यान इतरका विषयमा नै लेखिएका छन् र तिनले भावी पुस्तासमेतलाई बाटो देखाएर अगाडि बढ्न अभिप्रेरित गरेका छन् ।

० संस्मरण लेखन र निबन्ध लेखनमा उस्तै शैली अपनाउनुभएको देखिन्छ नि ?
नजानेर पनि त्यसो भएको हुनसक्छ । स्कुलिङ कमजोर भएको कारणले गर्दा पनि त्यस्तो हुनपुगेको हो । स्वअध्ययनको लिँडे तुजुकभन्दा बाहेक देखाउन सक्ने गतिलो सामल आफूसँग नभएपछि हुने परिणामको स्वरूप यस्तै हो भन्ने ठम्याइ छ मेरो ।

० यसमा साहित्यलाई सञ्चारमाध्यमले प्रभाव पारेको जस्तो लाग्दैन र ?
सञ्चारमाध्यमबाट अछुतो संसारमा कोही मान्छे बस्न सकेको छ होलाजस्तो मलाई लाग्दैन । नैसर्गिक प्रतिभा मनग्गे हुने वाग्देवीका उपाशकहरू यस्ता खाले प्रसंगबाट प्रभावित भए पनि त्यसलाई पचाएर लेख्न सक्छन् । उनीहरूको जठराग्निमा नै मेधाशक्तिको मौलिक ब्रह्मतेज पर्याप्त हुने हुनाले यस्ता सतही कुराले उनीहरूलाई छुन पनि सक्तैन । कमानी खुकुलो भएको म लठेब्राले पचाउन सकिनँ होला ।

० साहित्य सम्बद्ध पुरस्कार सम्मानप्रति सन्तुष्ट हुनुहुन्छ ?
पुरस्कार र सम्मान भन्ने कुरा अशक्त, अपाहिज र पचहत्तर नाघेर बेत बस्न पुगेका मान्छेलाई दिइनुपर्ने संशाधन हुन् । म भर्खर त साहित्यको मूलबाटोमा आइपुगेको छु । सिमाना तोकिएकै छैन, बाजी थापिएकै छैन, दौडन थालिएकै छैन अनि पुरस्कार र सम्मानको के कुरा गर्नु ।  तपाइँले देख्नुभएकै होला अमर न्यौपानेजस्ता सचेत सिकारु लेखकलाई मदन पुरस्कार दिएर उनको सिर्जनशीलतालाई कसरी बिट मारिदिइएको छ ।
पुरस्कार, सम्मान भनेको गह्रौँ भारी हो । बोक्न सक्ने साहसीहरूले निर्विवाद बोकेका पनि छन् र कमजोर मानसिकता भएकाहरू बोक्न, थेग्न नसकेर थला पनि परेका छन् ।

मेरो लेखनको प्रारम्भिक मार्ग अथवा अन्तिम मुकाम पुरस्कार र सम्मान होइन । पुरस्कार र सम्मान पाउने तिर्सना बोकेर पेटमा पटुका कस्तै म यो मार्गमा लागेको पनि होइन । यसको अपेक्षा राखेर लेख्न थालेको पनि होइन । यो मेरो बाटो होइन । जो–जो भोका, प्यासा भएर सतहमा छट्पटाइरहेका छन् उनीहरूसँग यसको सही जवाफ होला । मसँग छैन ।

 

० प्रकाशन र प्रसारण पक्षलाई हेर्दा केन्द्र र मोफसलमा के कस्तो भिन्नता देख्नुहुन्छ ?

वैयक्तिक र निर्वैयक्तिक दुई बाटोबाट आज संसार अग्रगमनको पहारिलो चमक छरेर अगाडि बढेको छ । कोही कागताली पारेर र कोही अपुताली सोहोरेर अगाडि बढिरहेका छन् । पहुँच र पावरको पाश्र्वछायामा उभिएर हिन्हिनाउँदै आएका छुचुन्द्राहरूको आर्तनादले छपक्क छोप्तै लगेको छ परिवेशलाई । स्वाभिमानीहरू राजधानीमा बसेर पनि विस्थापित नागरिकको पीडा भोगिरहेका छन् । छट्टुस्यालहरू दशगजा पारी बसेर पनि राजधानीको सुविधा निर्बाध, निसंकोच भोगिरहेका छन् ।

विभेद नै विभेदको चुलीमा अडेस लागेर बसेको छ सिंहासन । मुलुक शक्तिको उन्मादमा छचल्किएर देशको खाका कोर्न उद्यत हुँदैछ । शक्तिको वरिपरि म हिजो पनि थिइनँ, आज पनि छैन र भोलि पनि रहने छैन ।

० सांस्कृतिक पूर्वाधारका निमित्त कस्तो साहित्य आवश्यक छ ?
जहाँ निश्कलंकित चरित्र हुन्छ, निष्पक्ष न्याय हुन्छ, नैतिक इमानदारिता हुन्छ र मानवीय संवेग हुन्छ त्यहाँ सांस्कृतिक चेतना र सांस्कृतिक जडताका कुरा हुन्छन् । उठ्छन् । खोजिन्छन् र त्यसको सापेक्ष अर्थ र औचित्य पनि हुन्छ । विवेकले निर्णय गर्नसक्ने चेतना भए पूर्वाधार खोज्नुको महत्व होला । अविवेकको बन्दी बनेको वैचारिक विचलनको धुरीमा चढेर गर्जनुको कुनै प्रभाव होलाझैँ लाग्न छोडिसकेको छ । होइन भने आकाशतर्फ फर्केर थुक्नुको परिणाम सोध्नुको के अर्थ हुन्छ र ?

० आत्मप्रकाशन गर्ने क्रममा आख्यानमा पनि हात हाल्नुभएको छ । विधा परिवर्तनले लेखनमा असर पार्दैन ?
संस्मरण पनि आख्यानकै एउटा लघु एकाइ हो । मात्र फरक के लाग्छ भने संस्मरणमा घटना, पात्र र प्रवृति साँचा हुन्छन् भने आख्यानमा भने अलिकति घटना र पात्रहरू काल्पनिक हुन्छन् । विषय र प्रस्तुति अनुसार पात्र, प्रवृति र चरित्रमा हेरफेर गरिन्छ भनौँ गर्नुपर्ने रहेछ । राम्रै लागिरहेछ । यसले लेखनमा असर पार्नुको साटो नयाँ उर्जा दिएझैँ महसुस गरिरहेको छु ।

प्रतिक्रिया