इगोले हिरासत पुगेका रूपज्योति

काठमाडौं । ठगी आरोपमा प्रक्राउ परेको पूर्वराज्यमन्त्री रूपज्योति र उनकी छोरी सुरूची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । पक्राउ परेको भोलिपल्ट शुक्रबार जिल्ला अदालत काठमाडौंमा प्रहरीले पेश गरेको थियो । प्रहरीले सात दिनको समय माग गरेपनि अदालतले भने केवल तीन दिनको मात्र दिएको हो । रूपज्योति पक्राउ पर्नुको कारण भने सामान्य खालको देखिएको छ ।

ट्रेडिङ र उद्योग तथा सेवा क्षेत्रमा केन्द्रित रहेको ज्योति ग्रुपले घरजग्गा व्यवसायमा हात हाल्ने निर्णय गरेको थियो । बाँसवारीस्थित सहिद गंगालाल अस्पतालको दुई सय मिटर दुरीमा ६ रोपनी ११ आनाको जग्गाको एउटा प्लट लियो । जसको मालिक हो, ल्यान्डमार्क डेभलपर्स प्रालि । जसको सेयरधनी ज्योति ग्रुपअन्तर्गतका स्याकार एन्ड कम्पनी, जय स्पिनिङ मिल र ज्योति एन्ड कम्पनी रहेका छन् ।

कम्पनीले सो जग्गालाई कोलनीको रूपमा विकास गर्ने योजना अनुरूप बुकिङ आह्वानसमेत ग¥यो । कम्पनीले बाँसवारी कोलोनीका नाममा यसलाई १२ वटा प्लटमा बाँड्यो । त्यसमध्ये एकदेखि ७ नम्बर प्लटको जग्गा ज्योति आफँैले राखे । सो जग्गामध्ये कित्ता नम्बर २३८ को २२२.५३ बगै मिटरको जग्गा र घरका लागि २०७१ साल भदौमा ल्यान्डमार्क हाउजिङलाई बालुवाटारका बिजेन्द्र मल्लले १ करोड ३६ लाख रुपैयाँ दिए ।

सम्झौताअनुसार ६ आना ३ दाममा साढे २ तलाको घर बनाएर कम्पनीले दिनुपर्ने थियो । ल्यान्डमार्कले घर बनाउने जिम्मा सिई कन्सट्रक्सनलाई दिएको थियो । घर बनाएर बेच्ने व्यवसाय थालेका ज्योतिले एकदेखि सात नम्बर प्लटलाई एउटै बनाएर घर बनाउन थाले । घर बनाउँदै गर्दा उनले बाँकी जग्गा पनि लिएर बगौँचा बनाउने इच्छा राखे । ज्योतिको सो इच्छा आउनु अगावै पाँच जनाले बाँकी जग्गा किनिसकेका थिए । उनको इच्छाअनुसार कम्पनीले कुरा पनि ग¥यो । पाँचमध्ये दुई वटालाई उसले आफ्नो पानीपोखरीस्थित हाउजिङ परियोजनामा सा¥यो । बाँकी दुई वटाले क्षतिपूर्तिसहित पैसा फिर्ता लिए । बाँकी रह्यो मल्लको प्लट । मल्लका दाजु रूपज्योतिका साथी पनि भएका कारण त्यो मामिलालाई त्यहीँ मिलाउन पहल भयो ।

छलफल चल्दै गर्दा यो विषय ज्योति र मल्लका लागि ‘इगो’ का रूपमा विकसित हुन थाल्यो । विवादकै बीच २०७४ कात्तिक २४ गते यो प्लट ल्यान्डमार्क डेभलपर्सले एक करोड ३२ लाख रुपैयाँमा क्वालिटी डेभलपर्सलाई बिक्री ग¥यो । बुकिङ गरेको जग्गा नै बिक्री भएपछि ज्योति र मल्लबीच विवाद झन चर्किन थाल्यो । यो विषय प्रहरी प्रशासन हुँदै अदालतमा पनि पुग्यो । ल्यान्डमार्क डेभलपर्सले मल्लसहित जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर २०७५ असारमा मुद्दा हाल्यो । मुद्दा हारेपछि रूपज्योतिले पैसा तिरेर समस्याको समाधान गर्न खोजेका थिए । तर, यो विषय मुद्दा मामिलामा गएपछि इगोको रूपमा झनै विकसित हँुदै गयो ।

ज्योतिले विषयलाई अदालती प्रक्रियाबाटै टुंग्याउन खोजे । उनले मल्ललाई एक करोड २७ लाख रुपैयाँ तिर्न चाहेको र त्यसको चलनचल्तिको ब्याज पनि तिर्न पाउनुपर्ने माग गर्दै २०७५ मंसिर १३ मा जिल्ला अदालतमा निवेदन लिएर गए । तर, मल्ल भने १६ गते ज्योतिले ठगी गरेको भन्दै निवेदन लिएर महानगरीय प्रहरी परिसरमा गए । उनको निवेदनका आधारमा जिल्ला अदालत काठमाडौंले ज्योतिलाई पक्राउ पूर्जी जारी ग¥यो । जिल्ला अदालतको पक्राउ पूर्जीविरुद्ध ज्योति मंसिर २४ गते सर्वोच्च अदालत गए । सर्वोच्चले जिल्ला अदालतको पक्राउ पूर्जीमा स्टे अर्डर दियो । यो मुद्दामा कात्तिक १८ गते अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतले आफ्नो स्टे अर्डर खारेज ग¥यो । त्यसपछि उनी पक्राउ परे । तर, रूपज्योतिले यो विषय हिरासतमै रहेर लड्ने बताएका छन् ।

प्रतिक्रिया