नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ताजकिस्तानसँग ६–० गोलले पराजित भएको हो । पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो । सुरुआती समयदेखि निकै नै दबाबमा देखिएको नेपालले पहिलो हाफमा ताजकिस्तानको पोस्टमा एक मात्र प्रहार गर्न सक्यो ।

ताजकिस्तानका खेलाडीले बारम्बार नेपालको पोस्टमा आक्रमण गरिरहँदा गोलरक्षक सुमित कुमार आलेले केही उत्कृष्ट बचाउ गरेका थिए । तर, दोस्रो हाफ सुरु भएको चार मिनेट नबित्दै ताजकिस्तानका खेलाडीले थप तीन गोल गर्दा उनको स्थानमा अनिस श्रेष्ठ मैदान प्रवेश गरे । दोस्रो हाफको पहिलो मिनेटमा नै ताजकिस्तानले गोल गर्दै नेपालमाथि ४–० को अग्रता बनायो ।

त्यसपछि चौथो मिनेटमा दुई गोल ग¥यो । पहिलो हाफभन्दा दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको नेपालले केही अवसर समेत सिर्जना गरेको थियो । तर, पाएको अवसरलाई नेपालले सही सदुपयोग गर्न सकेन । पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै सहप्रशिक्षक गौरभ बस्नेतले नेपाली खेलाडीको प्रदर्शनमा आफू खुसी भएको बताएका छन् ।

‘हामीले अन्तर्राष्ट्रिय फुटसल खेल्न थालेको दुई वर्षमात्र भएको छ । पछिल्लो नतिजासँग यस नतिजालाई हेर्ने हो भने नतिजामा सुधार आएको मान्नुपर्छ,’ सहप्रशिक्षक बस्नेतले भने, ’ताजकिस्तानसँग हामीले धेरै सिक्ने मौका पायौँ । यस खेलमा सिकेका कुरा अर्को खेलमा प्रयोग गर्ने छौँ ।’ ताजकिस्तानका प्रशिक्षक डिजान डेडोभिकले पनि नेपाली टिमको प्रदर्शन राम्रो रहेको बताए ।’

सुरुआती समयमा नेपालको डिफेन्स उत्कृष्ट थियो । तर, पहिलो हाफको अन्त्यतिर नेपालको डिफेन्स कमजोर हुँदा हामीले फाइदा लियाँै, ‘ताजकिस्तानका प्रशिक्षक डेडोभिकले भने । सेन्टर तथा दक्षिण एसियाली छनोटको समूह ए मा रहेको ताजकिस्तानले ३ अंक जोडेको छ । यता खराब सुरुआत गरेको नेपालले आफ्नो दोस्रो खेल बिहीबार उज्ज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया