चितवन राइनोज प्लेअफमा

काठमाडौं । महिला च्याम्पियन्स लिग (डब्ल्यूसीएल) ट्वान्टी–२० क्रिकेटमा पोखरा पल्टन चितवन राइनोजसँग सात विकेटले पराजित भएको छ । हारपछि पोखराको प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ । यो जितसँगै लगातार तीन खेल जितेको चितवन राइनोज भने प्लेअफमा प्रवेश गरेको छ । कीर्तिपुर मैदानमा पोखराले दिएको एक सय २८ रनको लक्ष्य चितवनले १८ दशमवल १ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । चितवनको जितमा काजोल श्रेष्ठले ५१ रनको योगदान दिइन् ।

पहिलो विकेटका लागि काजोल श्रेष्ठ र कञ्चन श्रेष्ठले ७१ रनको साझेदारी गरे । कञ्चनले २९ रन बनाइन् । इन्दु बर्माले २४ रन जोडिन् । बलिङतर्फ अञ्जली चन्दले दुई विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो ।

पोखराका लागि कप्तान सीता रानामगरले सर्वाधिक ६५ रन बनाएकी थिइन् । १७ रन बनाउँदा दुई विकेट गुमाएको पोखराका लागि कप्तान सीता रानामगर र शिला क्षेत्रीले टिमलाई केही उकास्ने प्रयास गरेका थिए । चितवनका लागि ४ ओभर बलिङ गरेकी कविता गौतमले २ तथा रेखा रावलले १ विकेट लिइन् ।

वुमन्स च्याम्पिन्यस लिग क्रिकेटमा क्याट क्वीन्स काठमाडौंले तेस्रो जित निकालेको छ । शनिबार काठमाडौंले विराटनगरलाई ५३ रनले पराजित गरेको हो । विराटनगरको भने यो पहिलो हार हो ।  काठमाडौंले दिएको १४० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ५ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि लक्ष्मी चौधरीले सर्वाधिक ४० रन बनाउँदा डली भट्टले १३ रन बनाएकी थिइन् । बलिङतर्फ काठमाडौंकी सुमन विष्टले २ विकेट तथा रुविना क्षेत्री र ईश्वरी विष्टले १/१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाडांैले निर्धारित ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो । काठमाडौंका लागि रोमा थापाले अर्धशतक पूरा गर्दै जारी प्रतियोगितामा अर्धशतक बनाउने छैटौँं खेलाडी बनिन् । रोमाले शनिबार नट आउट ५३ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले नट आउट ३५ रनको योगदान गरिन् । यसैगरी रश्मी चौलागाईंले ३४ रन जोडेकी थिइन् । बलिङतर्फ विराटनगरकी डली भट्टले एक विकेट लिएकी थिइन् ।

प्रतिक्रिया