श्वेगादोन पेगोड हेर्दै राष्ट्रपति

म्यान्मा । राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले शनिबार यङोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेकी छन् । पच्चीस वर्ष पुरानो सो चैत्य र त्यसको क्षेत्रमा भ्रमण नगरी म्यान्माको भ्रमण पूरा भएको मानिन्न । त्यहाँ राष्ट्रपति भण्डारीले बुद्धको पूजा पनि गरिन् ।

उनलाई त्यहाँ यङोन नगरका प्रमुख माउङ आउन सिओले स्वागत गरेका थिए । सुनौला चैत्य, गुम्बा र विहारहरू रहेको सो पेगोडामा बुद्धका केश रहेको बताइन्छ । स्तूपको माथिल्लो टुप्पा चार हजारभन्दा बढी हीरा जडित छ जसमा सबभन्दा ठूलो ७२ क्यारेटको छ । सोही पेगोडामा लुम्बिनी विकास कोषले आयोजना गरेको ३५ चित्र तथा उत्खनन्बाट भेटिएको बुद्ध महाभिनिष्क्रमणको मूर्तिको प्रतिकृति पनि राखिएको चित्रकला प्रदर्शनीको पनि राष्ट्रपति भण्डारीले उद्घाटन गरिन् । सात दिनसम्म चल्ने प्रदर्शनीमा लुम्बिनी, कपिलवस्तु र रामग्रामसँग सम्बन्धित चित्र राखिएका छन् ।

कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले वर्षेनी २५ हजार म्यान्मालीले शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने बताउँदै नेपाल भ्रमण वर्षमा नेपाल खासगरी लुम्बिनी भ्रमण गर्न म्यान्मालीलाई आग्रह गरे । उनले युनेस्को, दुरहाम विश्वविद्यालय र पुरातत्व विभागबाट लुम्बिनी र कपिलवस्तुको उत्खनन् भइरहेको जानकारी दिए । म्यान्मा बुद्धले प्रवद्र्धन गरेको विपश्यना ध्यानको भूमि पनि मानिन्छ ।

राष्ट्रपति भण्डारीले यङोनास्थित बोग्योक आङ सन संग्र्रहालयको अवलोकन गरिन् । म्यान्माका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको संग्रहालयमा उनका शयन कक्ष, भोजन कक्ष, अध्यययन कक्ष तथा अन्य तस्वीरहरू राखिएका छन् । स्वतन्त्रता सेनानी सन म्यान्माका वर्तमान स्टेट काउन्सिलर आङ सान सु चीका पिता हुन् । संग्रहालमा राष्ट्रपति र प्रतिनिनिधिमण्डललाई यङगोन क्षेत्र सरकार र दलका सामाजिक मामिलामन्त्री नैङ न्गान लिनले स्वागत गरेका थिए ।

यसअघि शनिबार बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रतिनिधिमण्डलले महाविजय चैत्यको अवलोकन गरेको थियो । सो चैत्यमा तत्कालीन राजा वीरेन्द्रले आफ्नो विसं २०३६ को म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको सानो बुद्धको मूर्ति पनि राखिएको छ । सो अवसरमा परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदास तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो ।

प्रतिक्रिया