संस्कृति चुड्कीका भरमा निर्माण हुने कुरा होइन

प्रा. जगत उपाध्याय ‘प्रेक्षित’

प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख हुनुहुन्छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव (रजिस्ट्रार) रहिसक्नुभएका ‘प्रेक्षित’ भैरवी गाउँपालिका–३, लम्जी, (साबिक बडलम्जी गा.वि.स.६) दैलेखमा जन्मिनुभएको हो । उहाँले प्राचीन न्यायवैशेषिक दर्शनशास्त्रमा तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयबाट आचार्य (विश्वविद्यालय प्रथम) गर्नुभएको छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम.ए., बि.एड. गर्नुभएका ‘प्रेक्षित’ ‘न्यायदर्शनसम्मत शाब्दबोधप्रक्रियाको भाषावैज्ञानिक परिशीलन’ विषयमा विद्यावारिधि अनुसन्धानरत् हुनुहुन्छ ।

उहाँका ‘आकुञ्चन’ (संयुक्त कविता संग्रह, २०५०), ‘ज्वाला’ (खण्डकाव्य, २०५४), ‘कमिलाको एकता’ (बालकविता संग्रह, २०५९), ‘समयका छालहरू’ (कविता संग्रह, २०६०), ‘हिमाल हेर्न जाऔँ’ (बालकविता संग्रह, २०६५), ‘सेता हाँस र मुसाहरू’ (सचित्र बालकथा, २०६६), ‘म, माटो र मुटु’ (कविता संग्रह, २०७५), ‘आरम्भ’ (हाइकु संग्रह, २०७५), त्यसैगरी समालोचनातर्फ केही कृति, केही प्रवृत्ति–२०७५, केही आलोचनात्मक भूमिका–२०७५, साहित्यकार श्यामप्रसादः संक्षिप्त परिचय (जीवनी पुस्तिका–२०७३), साहित्यकार श्यामलको संक्षिप्त जीवनवृत्त–(जीवनी पुस्तिका–२०७४) प्रकाशित छन् । त्यस्तै, अनुसन्धानतर्फ नेपाल प्रज्ञा प्रतिष्ठानका गौरवमय साठी वर्ष (अनुसन्धान–२०७४), दैलेख लम्जीको कश्यपगोत्रीय पाण्डेय वंश र ज्यो.पं.हरिप्रसाद उपाध्याय (अनुसन्धान–२०७५) तथा अनुवादतर्फ माक्र्सवादको मूलभूत सिद्धान्त— २०५९, माक्र्सवादको रूपरेखा—२०६४, तर्कामृतम् (विशेष टिप्पणी र व्याख्यासहित)–२०६७ प्रकाशित छन् । दर्जनौँ पत्रपत्रिका तथा पुस्तकको सम्पादन गरिसक्नुभएका ‘प्रेक्षित’ ले उच्च मा.वि.तह, त्रि.वि.तथा ने.सं.वि.प्रमाण पत्र तह (२०६४) को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तक निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । उहाँसँग प्रज्ञा–प्रतिष्ठान तथा नेपालको सांस्कृतिक चरित्र र आयामका बारेमा सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संवादः

० देशको नयाँ संस्कृति निर्माण गर्ने नेपाल प्रज्ञा–प्रतिष्ठान जस्तो संस्था अहिले कहाँ अल्मलिइरहेको छ ?
नेपाल प्रज्ञा–प्रतिष्ठान देशकै सबैभन्दा जेठो र उच्च प्राज्ञिक संस्था हो । नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन, सामाजिक शास्त्र, कला, विज्ञानलगायत वांमयका विभिन्न विषय क्षेत्रहरूको अध्ययन, अनुसन्धान गर्ने, सृजनात्मक परिवेश निर्माण गर्ने, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गोष्ठी, सम्मेलन, कार्यशाला, प्रवचन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, नयाँ सृजना र अनुसन्धान भएकामध्ये उपयुक्त देखिएका कृतिहरूलाई प्रकाशन गर्ने एवम् वांमयका क्षेत्रमा विशिष्ट योगदान गरेका प्रतिभाहरूलाई सम्मान गर्ने उद्देश्यले वि.सं.२०१४ असार ९ गते नेपाली साहित्य कला एकेडेमीका नामबाट यस संस्थाको स्थापना भएको हो ।

पछि कालक्रममा नेपाल एकेडेमी, रायल नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै २०६२÷०६३ को ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको सफलतापछि जनभावनाअनुरूप गणतन्त्रको स्थापनासँगै २०६४ सालमा जारी ऐनअनुसार हाल यो नेपाल प्रज्ञा–प्रतिष्ठानका रूपमा सञ्चालित हाल नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र गरी पाँचओटा विषय क्षेत्रमा विशिष्टीकृत भएको छ । यी पाँचओटा विषय क्षेत्रभित्र रहेर नेपाल प्रज्ञा–प्रतिष्ठानले एघारओटा विभागहरू गठन गरेको छ । यी विभागहरूले वार्षिक रूपमा अध्ययन अनुसन्धान, गोष्ठी, सम्मेलन, कार्यशाला, प्रवचन र अन्तरक्रिया तथा प्रकाशनका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । वर्तमान प्राज्ञ परिषद्को गठन र विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट गरिएको ६÷७ महिनाको अवधिमै गत आर्थिक वर्ष २०७५÷०७६ मा चार दर्जनभन्दा बढी अनुसन्धान, सतासीओटा गोष्ठी, सम्मेलन, कार्यशाला र बहत्तरओटा पुस्तक तथा अठारओटा पत्रिका प्रकाशनका कार्य सम्पन्न भएका छन् । यो प्रस्तावित योजना र कार्यक्रममा लगभग शत प्रतिशत प्रगति हो । यसरी उद्देश्यअनुसार आफ्ना प्राज्ञिक गतिविधिलाई तीव्रतासाथ अगाडि बढाइरहेको अवस्थामा प्रज्ञा–प्रतिष्ठानलाई अल्मलिएको भन्न मिल्दैन ।

जहाँसम्म देशमा नयाँ संस्कृतिको निर्माण गर्ने कुरा छ, त्यो अत्यन्त गम्भीर र महत्त्वपूर्ण विषय हो । यस सन्दर्भमा दुईओटा कुरामा प्रस्ट हुनुपर्दछ भन्ने मलाई लाग्दछ । पहिलो, हाम्रा परम्परागत संस्कृतिप्रतिको हाम्रो धारणा र दोस्रो, नयाँ संस्कृतिको स्पष्ट खाका । परम्परागत संस्कृतिलाई हेर्ने सम्बन्धमा दुई थरी अतिवादी धारणा नेपाली समाजमा व्याप्त रहेका पाइन्छन् । तीमध्ये एउटा बुझ्दै नबुझिकन परम्परागत संस्कृतिप्रति अन्धभक्ति गर्ने र त्यसको अन्धानुकरण गर्ने अनि अर्को परम्परागत संस्कृतिका मानवीय मूल्य र हितसँग सम्बन्धित पक्षहरूको समेत ख्याल नगरी सोलोडोलोमा अन्धविरोध गर्ने । यी दुवै प्रवृत्ति नेपाली समाजलाई समान, स्वतन्त्र, स्वाधीन, समुन्नत, सुसभ्य र सुसंस्कृत बनाउने दिशामा घातक र बाधकसमेत छन् भन्ने म ठान्दछु । मैले यसो भन्नुका पछाडि पर्याप्त आधारहरू छन् । संस्कृति कुनै पनि देशको मौलिक पहिचान हो । संस्कृति चुड्कीका भरमा एक दुई घण्टा, दिन, महिना वा वर्षमा निर्माण हुन सक्ने कुरा होइन ।

यो त मानवसभ्यताको विकासक्रमसँगै अधिकतः स्वाभाविक रूपमा मूर्त र अमूर्त स्वरूपमा विकसित र विस्तारित हुन्छ । मानवजातिले सयौँ, हजारौँ वर्ष लगाएर संस्कृतिको निर्माण गरेको हुन्छ । विभिन्न भौगोलिक क्षेत्रमा छरिएर रहेका फरक फरक जातीय र भाषाभाषी समूहका अलग अलग संस्कृति हुन्छन् । परम्परादेखि चली आएका र मान्छेका आचार विचारदेखि दैनिक विधिव्यवहार, चालचलन, रीतिस्थिति आदिसँग जोडिएका ती संस्कृतिलाई विकल्पविना एकै चोटि विस्थापन गर्न सकिँदैन । परम्परागत भन्दैमा सबै अवैज्ञानिक नै छन् भन्ने पनि छैन । हाम्रो जस्तो बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक देशमा त परम्परागत संस्कृतिको विस्थापन झनै जटिल छ । यस्तो वस्तुस्थितिलाई हृदयंगम गरी परम्परागत संस्कृतिका मानवहितसँग सम्बन्धित पक्षहरूको खोजी र पहिचान गरी तिनलाई ग्रहण गर्दै संरक्षण संवर्धन गर्ने तथा युगसापेक्ष नवीनतम संस्कृतिको निर्माण पनि गर्दै जाने नीति अवलम्बन गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । उपलब्ध स्रोत र साधनले भ्याएसम्म यस दिशामा नेपाल प्रज्ञा–प्रतिष्ठान सचेततापूर्वक लागिरहेकै छ ।

 

० देशको आवश्यकतानुसारको संस्कृतिको विकासमा प्रतिष्ठानले ठोस काम गर्न सकेन भन्ने छ नि ?
संस्कृति भन्ने कुरा मान्छेको जीवनपद्धति हो । मान्छे भनेका विभिन्न क्षेत्रको नेतृत्वमा रहेका, पढेलेखेका र वैचारिक सुझबुझ भएका व्यक्ति मात्रै होइनन् । यसका पछाडि त विशाल लोकजीवन र तिनका भावना, आस्था र विश्वाससमेत जोडिएका छन् । लोक आफैँले पनि समयअनुसार कतिपय परम्परागत संस्कृति छोड्दै जान्छ भने कतिपय नयाँ संस्कृतिको निर्माण पनि गर्दै गइरहेको हुन्छ । संस्कृति भनेको पोखरी होइन, जहाँ पानी नित्य निरन्तर जमेर रहेको हुन्छ, जसको निकास हुँदैन । संस्कृति त विशाल नदी जस्तै हो, जो निरन्तर तरंगहरूसँगै प्रवाहशील हुन्छ । त्यसैले संस्कृति आफै पनि गतिशील र परिवर्तनशील हुन्छ । यो लोकजीवनसँगै समयक्रममा आफै निर्मित संस्कृतिको कुरा भयो । जहाँसम्म देशको आवश्यकताअनुसारको नयाँ संस्कृतिको निर्माणको प्रसंग छ, त्यो धेरै गम्भीर र महत्त्वपूर्ण छ भन्ने कुरा मैले अगाडि नै उल्लेख गरिसकेँ । लामो बलिदानपूर्ण संघर्षको परिणामस्वरूप सामन्तवादलाई अन्त्य गर्दै राजनीतिक रूपमा आज हामी गणतन्त्र नेपालका सार्वभौम नागरिक हुन पाएका छौँ । सबै किसिमका मौलिक अधिकारहरूको सुनिश्चितता भएको समाजवाद उन्मुख राष्ट्रको परिकल्पनासहितको संविधान पाएका छौँ । राजनीतिक दृष्टिले यो अभूतपूर्व रूपान्तरण हो । तर यो परिवर्तन बाह्य रूपको मात्र हो । यस उपलब्धिलाई दिगो र टिकाउ तुल्याउन अनि संस्थागत गर्नका लागि त यसमा प्राण भर्नुप¥यो नि ।

त्यो प्राण भनेकै गणतन्त्रअनुरूपको संस्कृति हो । यस्तो संस्कृतिको निर्माण आजको देशको आवश्यकता हो, जसतर्फ सम्बद्ध कुनै पनि पक्षको पर्याप्त मात्रामा ध्यान पुग्न सकेको छैन भन्ने मलाई पनि लागेकै छ । तपाईंले संकेत गर्न खोज्नुभएको कुरा पनि यही नै होला । यसमा सर्वप्रथम त हाम्रा चिन्तन र चरित्रमा देखापर्ने विरोधाभासहरू गम्भीर समस्या हुन् भन्ने मलाई लाग्दछ । हामीले राजनीतिक रूपले सामन्तवादलाई अन्त्य त ग¥यौँ, तर सामन्तवादसँग अभिन्न ढंगले जोडिएका चिन्तन, भाषा, विधिव्यवहार, चालचलन र रहनसहनप्रतिको मोहलाई त्याग्न सकेका छैनौँ । अरूबाट हामी जे अपेक्षा गर्छौं, त्यो हामीले आफैबाट सुरु किन नगर्ने ? चिन्तनमा लोकतान्त्रिक र प्रगतिशील तर आचरणमा अलोकतान्त्रिक र अगतिशील हुने किसिमको विपर्यासबाट मुक्त भएर साँच्चिकै गणतान्त्रिक संस्कृतिको निर्माण र त्यसलाई जीवनपद्धति बनाउन सकियो भने मात्र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सकिन्छ ।

हाम्रो राजनीति, प्रशासन, न्याय, शिक्षा, साहित्य आदि क्षेत्रमा समय समयमा देखापर्ने विसंगत र विद्रूप यथार्थलाई समेत संगत र सुरूप तुल्याउने गरी यस्तो संस्कृति आउनु आवश्यक भइसकेको छ । नेपालका सन्दर्भमा यस्तो संस्कृतिको विकास गरिरहँदा नेपाली भूमिमा उद्भव र विकास भएका प्राचीन वैदिक संस्कृतिदेखि लिएर विभिन्न जातजातिमा प्रचलनमा रहेकामध्ये मानवीय मूल्य, मान्यता, संस्कार, आचरण, समानता, स्वतन्त्रता, भ्रातृता, सहअस्तित्व, पारस्परिक सम्मान, वैयक्तिक स्वार्थत्याग, परोपकार, श्रमप्रतिको निष्ठा, शान्ति, सुख आदिको पक्षपोषण र प्रवर्धन गर्ने किसिमका ज्ञानसंस्कृतिलाई समेत महत्त्वपूर्ण उपजीव्य सामग्रीका रूपमा ग्रहण गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । यति ठुलो र दूरगामी महत्त्वको ठोस काम सीमित स्रोत र साधनका बिचमा नेपाल प्रज्ञा–प्रतिष्ठानले यथेष्ट मात्रामा गर्न नसक्नु स्वाभाविकै हो तर प्रज्ञा–प्रतिष्ठानले विनियोजित बजेटको परिधिभित्र रहेर परिवर्तित सन्दर्भमा आफ्ना अनुसन्धान, गोष्ठी र प्रकाशनहरूलाई सांस्कृतिक रूपान्तरणका दिशामा समेत केन्द्रित गर्दै आएको छ ।

 

० प्रतिष्ठानले वैचारिक संस्थासँग कसरी सहकार्य गरिरहेको छ ?
प्रज्ञा–प्रतिष्ठानले गोष्ठी, सम्मेलन, कार्यशाला, अन्तरक्रिया र प्रवचन जस्ता कार्यक्रमहरू प्रतिष्ठान एक्लैले पनि र अन्य संघसंस्थासँगको सहकार्यमा पनि गर्दै आएको छ । अनुसन्धानका कार्यक्रमहरू भने प्रतिष्ठान एक्लैले सम्बद्ध विषयविज्ञहरूका माध्यमबाट सम्पन्न गर्ने गरेको छ । कतिपय अनुवादसम्बन्धी प्रकाशन गर्दा भाइचारा सम्बन्ध कायम भएका समान स्तर र उद्देश्यका विदेशी प्रज्ञा–प्रतिष्ठानहरूसँग पनि सहकार्य हुने गरेको छ । गोष्ठी, सम्मेलन, कार्यशाला, प्रवचन, अन्तरक्रिया जस्ता कार्यक्रमहरू सहकार्यमा आयोजना गर्न इच्छुक साहित्यिक लगायतका संघसंस्थाहरूबाट प्रस्ताव आएमा विषयको औचित्य र उपयुक्तता हेरेर प्रतिष्ठानले सहकार्यका लागि स्वीकृति दिने गरेको छ । प्रगतिशील लेखक संघ, नेपाली लेखक संघ लगायतका वैचारिक संघसंस्थाहरूसँग पनि यसरी नै सहकार्य हुने गरेको छ ।

 

० पहिलेको एकेडेमीको टिम र अहिलेकोमा तात्त्विक भिन्नता के छ ?
पहिलेको टिमका बारेमा मैले बोल्न मिल्दैन । आफू पहिलेको टिमभित्र रहेर काम नगरेको हुनाले त्यसका बारेमा मलाई आधिकारिक जानकारी हुने कुरा पनि भएन । जहाँसम्म अहिलेको प्राज्ञ परिषद्को कुरा छ, मलाई गर्वको अनुभूति हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा कुशल प्राज्ञिक, प्रशासनिक र व्यवस्थापकीय व्यक्तित्वको छवि बनाउनुभएका एवम् अत्यन्त सुझबुझपूर्ण स्वभावका अनुभवी गंगाप्रसाद उप्रेती कुलपति हुनुहुन्छ । जातीय द्वन्द्वको चपेटाबाट देशलाई बचाउन प्राज्ञिक भूमिका निर्वाह गर्दै आउनुभएका र राष्ट्रमै सबैले पत्याइएका विद्वान् डा. जगमान गुरुङ उपकुलपति हुनुहुन्छ । त्यस्तै आ–आफ्ना विषय र विधाका आधिकारिक विद्वान्हरू अहिलेको परिषद्मा हुनुहुन्छ । सुझबुझयुक्त, ऊर्जाशील र मिलनसार टिम भएकैले छोटो अवधिमै पनि महत्त्वपूर्ण काम गर्न सकिएको छ र भविष्यमा अझै समवेत प्रयत्नका साथ राष्ट्रका प्राज्ञिक आकांक्षाहरूलाई सम्बोधन गर्न सकिने विश्वास हामीमा छ ।

 

० प्रतिष्ठानले कस्ता कार्ययोजना अगाडि बढाइरहेको छ ?
प्रज्ञा–प्रतिष्ठानले नेपाल संघीय गणतन्त्रमा आइसकेपछि वर्तमान प्रादेशिक संरचनालाई झल्काउने किसिमको प्राज्ञिक सामग्रीको अभावलाई पूर्ति गर्ने उद्देश्यले सातओटै प्रदेशको भूगोल र प्रकृतिका साथै त्यहाँ बस्ने जाति र तिनका भाषा, संस्कृति, इतिहास, कला, साहित्य, धर्म, सभ्यता, चालचलन, रीतिस्थिति, परम्परा आदिको स्थलगत अवलोकन र अध्ययनका आधारमा सातओटा ग्रन्थ तयार गराउने अनि तिनको सारसंक्षेपका रूपमा ‘नेपाल दर्पण’ नामक अर्को छुट्टै ग्रन्थ तयार गराई ती आठआटै ग्रन्थलाई पहिले नेपालीमा र लगत्तै अंग्रेजीमा प्रकाशन गर्ने योजना छ । त्यस्तै पौरस्त्य दर्शनको उद्गमस्थलका रूपमा रहेको वर्तमान नेपालमा हाम्रा प्राचीन ऋषि, महर्षिहरूले दीर्घ साधना र तपस्याद्वारा प्रवर्तन गरेका दर्शनहरूको अध्ययन अनुसन्धान गराई ‘नेपाली दर्शन’ नामक ग्रन्थ तयार गराई पहिले नेपालीमा र त्यसपछि अंग्रेजीमा प्रकाशन गर्ने योजना पनि हामीले बनाएका छौँ ।

त्यस्तै सातओटै प्रदेशलाई केन्द्रित गरेर विभिन्न विधाका इतिहास लेखनमा पनि हामी केन्द्रित छौँ । वर्तमान नेपाली बृहत् शब्दकोशको शब्दसंख्यालाई साठी हजारबाट बढाएर एक लाख पचास हजार पु¥याउँदै छौँ र ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशनको अन्तिम तयारीमा छौँ । पुराना महत्त्वपूर्ण कृतिहरूको पहिचान गरी तिनलाई पुनः प्रकाशन गर्दै छौँ । नेपालका विशिष्ट साहित्यकारहरूका जीवनी र कृतित्वसँग सम्बन्धित महत्त्वपूर्ण सामग्रीलाई संग्रह गरेर साहित्यिक संग्रहालय समेत स्थापना गर्ने प्रयत्नमा हामी छौँ । अन्तर्राष्ट्रिय सम्बन्धविस्तारका क्रममा यही असोज २८ गतेदेखि दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन आयोजना गर्दै छौँ । नेपाल प्रज्ञा अन्तरदेशीय साहित्य पुरस्कार, अनुवाद पुरस्कार र नेपाल प्रज्ञालंकार जस्ता नयाँ पुरस्कार सम्मान स्थापना गर्दै छौँ । यी मुख्य योजना हुन् । अरू नियमित त छँदै छन् ।

 

० एकेडेमीलाई जागिर खाने संस्थाको आरोपबाट माथि कसरी उठाउनुहुन्छ ?
संस्कृतमा एउटा भनाइ छ–‘क्रिया केवलमुत्तरम्’ अर्थात् काम गरेर नै यसको उत्तर दिने हो, यस्तो आरोपबाट एकेडेमीलाई मुक्त गर्ने हो ।

 

० प्रकाशन, पुरस्कार/सम्मानमा पछिल्लो समय त निजी संस्थाहरू नै अगाडि देखिएका छन् नि ?
यसरी निजी क्षेत्र समेत प्राज्ञिक प्रकाशन र सम्मान, पुरस्कार स्थापनाका काममा उत्सुक देखिनु प्रशंसनीय काम नै हो । यसलाई अन्यथा रूपमा लिनु हुँदैन भन्ने मलाई लाग्दछ । व्यावसायिक ढंगले सञ्चालित संस्थाहरू र प्रज्ञा–प्रतिष्ठानका उद्देश्यहरू र कार्यक्रमहरू तुलनीय हुन सक्तैनन् ।

 

० प्राध्यापन र प्रशासन कार्यसम्पादनमा के कति फरक पाउनुभएको छ ?
प्राध्यापन विशुद्ध पठनपाठन र अनुसन्धानमा मात्र केन्द्रित हुन्छ भने प्रशासनमा सम्पूर्ण व्यवस्थापकीय, कानुनी र प्राज्ञिक दायित्व समेत रहन्छ । दुवै प्रक्रियाबाट गुज्रँदै आएकाले मलाई त्यस्तो खासै फरक अनुभव भएको छैन ।

 

० प्रतिष्ठानलाई अझ प्रभावकारी, मर्यादित र सबैको भरोसाको केन्द्र बनाउन के गर्नुपर्ला ?
स्पष्ट दृष्टिकोण एवम् अल्पकालिक, मध्यकालिक र दीर्घकालिक योजनासहित सम्बद्ध सबै पक्षलाई प्रज्ञा–प्रतिष्ठान मेरो पनि हो भन्ने अनुभूति र बोध गराउने गरी यसको व्यवस्थापनले सक्रियतापूर्वक उच्च प्राज्ञिक महत्त्वका काम गर्नुपर्दछ । राज्य र जनस्तरबाट समेत यसमा पूर्ण साथ र सहयोग हुनुपर्दछ ।

प्रतिक्रिया