‘महोत्सवमा रैथाने विचार र मुद्दाको बहस हुनेछ’

इलाम सदरमुकाममा शुक्रबारदेखि दुई दिने ‘इलाम साहित्य महोत्सव २०७६’ भइरहेको छ । साहित्यका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले इलाम सहित्य समाज इलामले महोत्सवको आयोजना गरेको हो । महोत्सवले रैथाने संस्कृति, विचार र भावनाका बारेमा बहस गर्ने समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । यसै सन्दर्भमा थाम्सुहाङसँग सौर्य दैनिका लागि राम योङहाङले गरेको कुराकानीको सम्पादित अंशः

साहित्यिक महोत्सवको मुख्य उद्देश्य के हो ?
‘इलाम साहित्य महोत्सव २०७६’ को मुख्य उद्देश्य इलामको पर्यटनलाई अभिवृद्धि गर्नु हो । त्यसैले महोत्सवको नारा नै ‘पर्यटनको लागि साहित्य’ राखिएको छ । साथै, समकालीन नेपाली सहित्य, सिनेमा, संगीत र राजनीतिमा प्रश्रय पाएका नवीन मुद्धाहरूमाथि बहस गर्ने र त्यसबाट निस्किएको निचोडलाई डकुमेन्टेसन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

महोत्सवको लक्षित वर्ग को को हुन् ?
लक्षित वर्ग फेरि पनि आम मानिसहरू नै हुन् । यसकारण आम मानिसलाई प्रत्यक्ष सरोकार राख्ने विषयहरू महोत्सवको विभिन्न सेसनमा राखिएको छ । विशेषतः युवाहरू यसका प्रधान वर्ग हुन सक्छन् । समाजप्रति उनीहरूको जिज्ञासालाई उचित मञ्च प्रदान गर्नु आफैँमा एक चुनौती र उत्तरदायित्व पनि हो जस्तो लाग्छ । समाजभित्रका हरेक वैचारिक चिन्तनहरू जो प्रत्यक्ष रूपबाट आममानिसको जीवनमा सरोकार राख्छन् । जस्तो आर्थिक, सामाजिक, राजनैतिक, साहित्यिक क्षेत्रहरू यसप्रति आममानिसको राय निर्माणमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने हामीले सोचेका छौँ ।

केही महिना अघिमात्र इलामकै मंगलबारेमा यस्तै महोत्सव भएको थियो । खासै प्रभावकारी र सफल नभएको विश्लेषण गरिन्छ । तपाईंहरूको महोत्सव सफल हुने आधारहरू के छन् ?
यो बहुतै सान्दर्भिक प्रश्न गर्नुभयो । प्रत्यक्ष, अप्रत्यक्ष रूपबाट हामी पनि त्यस कार्यक्रममा सहभागी थियौँ । जहाँसम्म मलाई लाग्छ विषयवस्तु छनोटका हिसाबले र सहभागीहरूको उपस्थितिले उक्त महोत्सव प्रभावकारी नै भएको हो । मंगलबारे महोत्सवलाई वर्षा मात्र बाधक भएको हो । प्रकृतिसँग मानव सदैव पराजित भएको इतिहासमा उल्लेख्य दृष्टान्तहरू छन् । तसर्थ प्राकृतिक अप्ठ्याराहरूसँग जुध्दै हामीले गरेको तयारी नै हाम्रो सफलताको आधार हुनसक्छ । हाम्रो सफलताको अर्को विश्वासिलो आधार भनेको हामीले रैथाने मुद्दाहरूलाई बहसको केन्द्रमा राखेका छौँ र स्थानीय लेखक, कवि, चिन्तकलाई बढीभन्दा बढी सम्बोधन गरेका छौँ । यो पनि सफलताको एक आधार हुनसक्छ ।

अन्य महोत्सवभन्दा यो साहित्य महोत्सवमा के भिन्नता छ ?
विगतमा अन्य महोत्सवलाई राजधानी परस्त मात्र बनाइएको थियो । ती महोत्सवमा राजधानीका कवि, लेखक, चिन्तकको बौद्धिक प्रभुत्व बढी देखिन्थ्यो । यो महोत्सवमा राजधानीपरस्त मानसिकतालाई चिर्दै अधिकांश वक्ताहरू मोफसलका राखेका छौँ । स्थानीयतालाई प्राथमिकतामा राख्ने क्रममा इलाम आफैँमा चियाको लागि देशभर ख्याति कमाएको जिल्ला हो । हामीले यो महोत्सवलाई चिया पर्यटनसँग प्रत्यक्ष रूपबाट जोडेको छौँ । स्थानीय समाजको रैथाने जनजीवनसँग जोड्नु आफैँमा भिन्न कुरा हो । महोत्सवले उठान गर्ने अधिकांश विषयवस्तुहरू बौद्धिक विलासिता मात्र बनिरहेको परिप्रेक्ष्यमा समाजलाई सोझै र दीर्घकालीन असर राख्ने विषयवस्तुमाथि डिस्कोर्स गर्नु इलाम महोत्सवको फरकपन हो ।

महोत्सवमा साहित्यकार र राजनीतिज्ञको जमघट हुने भनिएको छ । को–को साहित्यकार र राजनीतिज्ञलाई उतार्दै हुनुहुन्छ ?
यो महोत्सव एक कुम्भ मेला पनि हो । महोत्सवमा पूर्वसभामुख एवं प्रतिनिभिसभाका सदस्य सुवासचन्द्र नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, प्रा.डा. सञ्जिव उप्रेती, साहित्यकार धर्मेन्द्रविक्रम नेम्वाङ, श्रवण मुकारुङ, मोमिला जोशी, मनु मञ्जील, सञ्चारकर्मी विष्णु निष्ठुरी, पत्रकार बसन्त बस्नेत, समीरबाबु कट्टेल, गणेशकुमार राई, आख्यानकार राजन मुकारुङ, साहित्यकार मिश्र वैजयन्ती, उज्जल प्रसाईँ, समालोचक महेश पौडेल, अधिकारकर्मी जेवी विश्वकर्मा, साहित्यकार सीमा आभास, कृष्ण धारावासी, भूपिन, प्रकाश बुढाथोकी, बिना थिङ, कलाकार दयाहाङ राई, स्वस्तिमा खड्का, संगीतकार कोमल निरौला, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालगायतको सहभागिता रहनेछ । साथै नेपाल र भारतका नाम चलेका कविहरूको सहभागिता हुनेछ ।

साहित्यकार, कलाकार र राजनीतिज्ञबीच बहस चाँहि कुन–कुन विषयमा हुनेछन् ?
महोत्सव अलि पृथक ढंगले हुने विशवास हामीले लिएका छौँ । मुख्यगरी महोत्सवमा रैथाने विचार र मुद्दाको बहस हुनेछ । जम्मा १४ वटा बहसका सेसनहरू हुनेछन् । जसमा आलोचनात्मक चेत र लोकतन्त्र, सत्ता कि प्रतिपक्ष ?, ‘अ’ मा अल्झेको इलाम, मानकमाथि प्रश्न, अधिकारको पेवा, किन बिक्न छाड्यो ? पर्यटनको आयाम, पछिल्लो साहित्यिक आन्दोलन, करोड क्लब र अफवाह, नेपाली साहित्यमा मुन्धुम÷मुन्दुम, गीतको दुःख, सिनेमा र सन्देश, गणतन्त्र कसबाट खतरामा ?, साहित्यको राजनीति विषयमा बहस हुनेछन् ।

‘अ’ मा अल्झेको इलाम, मानकमाथि प्रश्न जस्ता सेसनहरू राख्नुभएको छ । यसको उद्देश्य के हो ?
भनिन्छ, इलाम ‘अ’ बाट सुरुआत हुने कृषिजन्य उत्पादनको लागि उर्वरभूमि हो । यी कृषिजन्य उत्पादन अकबरे, अदुवा, ओलन, अलैँची, अम्लिसो लगायतका नगदेवालीहरू इलामको आर्थिक स्रोतको मुख्य आधार हुँदै हो । तथापि इलाममा चियाखेती पनि छ । ‘अ’ बाट स्थापित कृषिजन्य उत्पादनहरूको कारण चिया भने ओझेलमा परेको हो की ? भन्ने कारणले पनि यो सेसन राखिएको हो । यद्यपि पर्यटनका अनेकन् आयामहरू हुन सक्छन् ।

इलामले आफैँलाई अर्को ‘अ’ अग्र्यानिक उत्पादनमा पनि जोड गरिरहेको हुँदा कृषि आफैँमा पनि पर्यटनको नयाँ आयाम हुनसक्छ । बाँकी कुरा सेसनमा हुने बहस र अन्तरक्रियाले पनि निकाल्ने हो । तर इलामले आफैँलाई फेरि पनि ‘अ’ भित्रै मात्र अल्झाइरहने हो ? या अन्य समृद्धिको पाटो पनि खोज्ने हो ? यो सेसनको एउटा मुख्य उद्देश्य यो पनि हो । प्रचलित मान्यताले हाम्रो समाजलाई अग्रगमनको साटो कतै पश्चगमनतिर त लगिरहेको छैन ? मानकमाथि प्रश्नले यही मुद्दामाथि केन्द्रित रहेर बहस गर्नेछ ।

महोत्सवले पर्यटनमा कसरी टेवा पुर्याउन सक्छ ?
पक्कै पनि साहित्यले सामाजिक उत्तरदायित्वबोध गर्नुपर्छ । इलाम साहित्य महोत्सव २०७६ को नारा नै छ, ‘पर्यटनका लागि साहित्य’ । महोत्सवमा चिया पर्यटनको पनि अभ्यास गर्दै छौँ । एउटा सेसन छ, ‘पर्यटनको आयाम’ । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका धेरै कवि, लेखक, कलाकार, राजनीतिज्ञ महोत्सवमा सहभागी हुँदैछन् । समाज र जीवनपद्धति नजिकबाट नियाल्ने मौका पाउनेछन् र फर्किंदा अलिअलि इलाम बोकेर जानेछन् । उनीहरूले इलामको सौन्दर्यको बारेमा केही न केही लेख्नेछन् ।

आर्थिक स्रोत कसरी जुटाउनुभयो ?
कार्यक्रम सफल पार्नु आफैँमा चुनौतीपूर्ण कुरा हो । यसको लागि हामीले धेरै ठाउँ पहल गरेका छौँ । सहयोग पाउनसक्ने ठाउँजति सबैतिर हामीले सहयोगका लागि आह्वान गरेका छौँ । विभिन्न स्थानीय तह, संस्थाहरू, व्यक्तिहरूले सहयोग पठाइरहनुभएको छ । केही शुभेच्छुकहरूले पठाउँदै हुनुहुन्छ । अब आयोजक आफैँको सवालमा, हाम्रो लागि महोत्सव सफल हुनु नै सबैभन्दा ठूलो कुरा हो । हामी सबै लागि दिनरात लागिपरेका छौँ ।

यहाँसम्म आइपुग्दा के–कस्ता समस्या र चुनौती आइपरे ?
समस्या र चुनौती कार्यक्रमको छाँया जस्तै हो । यसका लागि हामी आयोजक मानसिक रूपबाट तयार थियौँ । चुनौतीसँगै सहयोग गर्नेहरू पनि आउनुहुन्छ । जेभए पनि कार्यक्रमलाई प्रभावै पार्ने गरी त्यस्ता चुनौतीहरू आएका छैनन् ।

अन्त्यमा महोत्सव सफल पार्न के आह्वान गर्न चाहनुहुन्छ ?
यो महोत्सव हाम्रो संस्थाको मात्र होइन । हामी समग्र जिल्लाबासीको गरिमाको विषय हो । इज्जत र शान पनि हो । महोत्सव सफल हुनु भनेको हामी सम्पूर्ण जिल्लाबासीको सफलता हो । यो महोत्सव हाम्रो जिल्लाको पर्यटन क्षेत्रलाई समेत देशविदेशमा चिनाउने माध्यम र अवसर पनि हो । त्यसैले हामी सबै यो महोत्सवलाई सफल पार्न आ–आफ्नो स्थानबाट सहयोगमा जुट्नैपर्छ । महोत्सवको सफलताका लागि सबैले सहयोग पु¥याउन आयोजकको तर्फबाट अनुरोध गर्दछु । आइदिनुहोला, हामी स्वागतका लागि तयार भएर बसेका छौँ ।

प्रतिक्रिया