आयुष्मानको चलचित्रलाई चोरी मुद्दा

मुम्बई । यतिवेला चर्चामा रहेका बलिउड अभिनेता आयुष्मान खुराना अभिनीत नयाँ चलचित्र ‘बाला’ लाई चोरीको आरोप लागेको छ । खुराना अभिनीत चलचित्र ‘ड्रिम गर्ल’ ले बक्सअफिसमा कमाइ र दर्शकको प्रतिक्रिया राम्रो पाएको छ । यसअघि उनको चलचित्र ‘आर्टिकल १५’ ले पनि कमाइसँगै राम्रो तारिफ पाएको थियो ।

उनी अभिनीत ‘अन्धाधुन’ ले भारत र चीनमा राम्रो कमाइसँगै राष्ट्रिय अवार्ड नै प्राप्त गर्न सफल भयो । चलचित्रमा सफलताको सिंढी चढिरहेका अभिनेता खुराना नयाँ चलचित्र ‘बाला’ को तयारीमा छन् । तर यसले चलचित्र अहिले नै झमेला खेप्न थालेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्र निर्देशक प्रवीण मोर्चालेले ‘बाला’ का लेखक निरन भट्ट र निर्माता म्याडक फिल्मस्विरूद्ध बम्बई उच्च अदालतमा मुद्दा दायर गरेका छन् । आफ्नो ‘स्क्रिनप्ले’ बाट ‘बाला’ को कथा प्रभावित भएको भन्दै उनले मुद्दा हालेको जनाएका छन् ।
तालु खुइलिँदै गएको एक मान्छेका बारेमा चलचित्रको कथा रहेको छ । प्रवीणले चलचित्रको कथा आफूले धेरै पटक बलिउडका कलाकारलाई सुनाएको र आफ्नो कथा ‘बाला’ सँग मिल्दो भएको आरोप लगाए ।

प्रवीणले भनेका छन्, ‘मैले समाचारबाट थाहा पाएँ कि बाला चाँडै तालु खुइलिन थालेको मान्छेको कमेडी कथा हो । यो आइडिया मैले सन् २००५ देखि नै भन्दै आएको हो । मैले दुई वर्ष यसमा काम गरेर यसको कथा सन् २००७ मा फिल्म राइटर्स एसोसिएसनमा दर्ता पनि गरिसकेको छु । अहिले धेरै स्रोतहरूबाट केलाउँदा बालाको कथा मेरो कथासँग मिल्दो भएको पाएको छु ।’

उनले ‘बाला’ सँग सम्बन्धित कोही पनि व्यक्ति नभेटेको बताएका छन् । उनले भने, ‘यसको मतलब मैले फिल्मकै कसैलाई कथा सुनाएको भनेको होइन । मैले सयौँ मान्छेलाई यो कथा सुनाएको छु । जसको पनि दिमागमा यो रहेको हुन सक्छ । फेरि मैले दर्तै गरिसकेपछि मैले ढुक्क भएर सुनाउँछु नि र कसैले चोर्न सक्दैन ।’ ‘बाला’ का निर्माता म्याडक फिल्मस्ले भने आफूहरूलाई मुद्दाका बारेमा कुनै जानकारी प्रतिक्रिया दिएको छ ।

कम्पनीले विज्ञप्तिमार्फत प्रवीण मोर्चालेले मुद्दा हालेको जानकारी नआएको जनाएको छ । प्रवीणले चलचित्र ‘बाला’ का बारेमा लगाएको आरोप सबै झुटो भएको म्याडकले उल्लेख गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘म्याडकका कोही मान्छेसँग मोर्चालेको भेट भएको छैन । न त तालु खुइलेको मान्छेको कथासँग उनको केही सम्बन्ध छ भन्नेबारे हामीलाई थाहा छ ।’

प्रतिक्रिया