इन्द्रदहमा भक्तजनको भीड

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका दिन स्नानका लागि भक्तजनको भीड लागेको छ । काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट बिहानैदेखि स्नान तथा दर्शनका लागि आउने भक्तजनको विशेष सहभागिता पाइएको छ ।

यस स्थानमा मेला भर्ने तथा स्नान गरेमा पारिवारिक सुख, शान्ति तथा मोक्ष मिल्ने जनविश्वास छ । पौराणिककालमा देवताका राजा इन्द्रले दहमा स्नान गरी स्वर्ग गएको किंवदन्ती पाइन्छ । भक्तजनको करीब सहजताका लागि लाइन व्यवस्थापन, मेला व्यवस्थितरूपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित करीब १५० स्वयंसेवकको व्यवस्था गरेको जनाइएको छ ।

इन्द्र, इन्द्रायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा कुनै पनि विपद् नआओस् भनेर स्थानीय देव देवीको कामना गर्दै शुक्रबार साँझ दीप प्रज्ज्वलन गरिएको थियो । साँझसम्म करीब २५ हजार भक्तजन दर्शन तथा घुम्नका लागि आउने अनुमान गरिएको मेला व्यवस्थित गर्न वडा कार्यालयले रु दुुई लाख उपलब्ध गराएको वडा अध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।

कलङ्कीबाट करीब नौ किलोमिटरको दूरीमा पर्ने इन्द्रदह समुद्री सतहबाट करीब छ हजार फिटको उचाइमा छ भने दहको परिसर करीब २०० रोपनीको क्षेत्रफलमा फैलिएको छ । उक्त डाँडालाई ‘स्वर्ग सोपान’ अर्थात स्वर्ग जाने भर्याङका रुपमा मानिएको छ ।

प्रतिक्रिया