सम्पत्ति सार्वजनिक गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । नेपाली सेनाले सैनिक अधिकृतलाई भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै सबै अधिकृतलाई निर्देशन दिएका हुन् ।

प्रधानसेनापति थापाले विशेष सम्बोधनसहित मंगलबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि जंगीअड्डाले अन्य उच्च अधिकृत, अधिकृत र सैनिकहरूलाई पनि सम्पत्ति विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सबै सैनिक अधिकृतहरूले भदौ मसान्तभित्र सम्पत्ति विवरण सम्बन्धित विभागमा अद्यावधिक गर्ने बताए ।

अधिकृतदेखि सिपाहीसम्मले आफू कार्यरत रहेको युनिट प्रमुख समक्ष सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । त्यो विवरण कुनै पनि वेला मुख्यालयले झिकाएर छानबिन गर्नसक्ने गरी व्यवस्था मिलाइएको प्रवक्ता पाण्डेले बताए । सार्वजनिक पद धारण गरेका अधिकारी तथा कर्मचारीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सम्पत्ति विवरण बुझाउनु पर्छ ।

सेनापति थापाले कमान्ड सम्हालेदेखि नै भ्रष्टाचार नियन्त्रण, आन्तरिक सुशासन तथा जवाफदेहीतामा जोड दिँदै आएका छन् । सेनाभित्र हुने आर्थिक अनियमिततालाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राखिएको छ । सेनाले सो विषयलाई आफ्नै क्षेत्राधिकार भित्र राख्दै सैनिक अदालतबाट मुद्दाको छिनोफानो गर्दै आएको छ ।

प्रतिक्रिया