क्यानभासमा इतिहास र संस्कृति

काठमाडौं । इतिहास, संस्कृति र जीवनशैली झल्किने ‘समयक्रममा नेपाल’ शीर्षकमा चित्रकला प्रदर्शनी भइरहेको छ । अग्रज कलाकार हरिप्रसाद शर्माले बनाएका नेपाली संस्कृति, इतिहास तथा सामाजिक जनजीवनमा आधारित चित्र यतिवेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ ।

सम्राट अशोकले लुम्बिनीमा बनाएको स्तम्भदेखि राजा मानदेवले चाँगुनारायणमा स्थापना गरेको गरुड स्तम्भका चित्रले नेपालको ऐतिहासिक वैभवलाई प्रस्तुत गरेको पाइनछ । इतिहास, संस्कृति तथा परम्परागत जीवनशैलीलाई कलात्मक रुपमा क्यानभासमा उतार्दै आएका शर्माले नेपालको लिच्छविकाल, मल्लकाल, शाह तथा राणाकालका विषयलाई चित्रमा उधिनेका छन् ।

बेलायत भ्रमणमा गएका जंगबहादुर राणा नगरबधुको प्रेमजालमा परेको चित्रले दर्शकलाई तान्छ । शासकमा रहेको स्त्रीलम्पट परिदृश्यले देशको स्रोतमाथिको दोहनलाई चित्रले कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

काठमाडौं उपत्यकाको रहनसहन, जीवनशैली, धार्मिक, सांस्कृतिक तथा सामाजिक परिवेश झल्किने १७ चित्र प्रदर्शनीमा राखिएको छ । विशेषगरी नेवारी परिवेशका विविध विषय क्यानभासमा उधिनेका कलाकार शर्माले तान्त्रिक झारफुक पूजा, नङ्निी र युवती, जुवाको रमिता, तिब्बतमा व्यापारका लागि जाने व्यापारीको लस्करलगायतका चित्रले नेपालको इतिहासकालीन संस्कृतिलाई बुझ्न सकिन्छ ।

शर्माका चित्रका बारेमा कलालेखक तथा कलाकार मदन चित्रकारले भने, ‘कलामा निखारता, बौद्धिकता, कल्पना र सिर्जनाशीलता तथा यथार्थता छ ।’ उनले नेपाली कलामा शर्माको योगदान अतुलनीय रहेको बताउँदै चित्रकारले कलाप्रतिको अनुराग र साधना जोकोहीका लागि अनुशरण गर्नलायक रहेको विचार व्यक्त गरे ।

नेपाली इतिहास, संस्कृति तथा परम्परा बुझ्न शर्माका चित्रले महत्वपूर्ण सघाउँ पु¥याउने नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले बताए । उनले भने, ‘इतिहासको गहन अध्ययनपश्चात् कलाकार शर्माले त्यसवेलाको परिवेश र संस्कृतिलाई चित्रमा उतार्नु भएको पाइन्छ ।’

पाँच-छ वर्षकै उमेरदेखि चित्र कोर्न थालेका कलाकार शर्माले कलाकार जीवरत्न शाक्यसँग कला सिकेको बताए । त्यस्तै, उनले चन्द्रमान सिंह मास्के र कालिदास श्रेष्ठसँग पनि कलाका व्यवहारिक ज्ञान सिके । उनले १९९१ सालमा स्थापना भएको नेपाल आर्ट स्कुल (पछि जुद्धकला पाठशाला) मा पाँच वर्ष कला अध्ययन गरे । अहिले यहाँ ‘समयक्रममा नेपाल’ शीर्षकमा प्रदर्शन भएका ४५ चित्रमा नेपालको इतिहास, जनजीवन, संस्कृतिका विविध पाटोलाई देख्न सकिन्छ ।

शर्माको ०३० सालमा पहिलो एकल प्रदर्शनी भएको थियो । त्यस्तै, ०५९ सालमा दोस्रो, ०६७ मा तेस्रो र ०७२ मा चौथो भएको थियो । उनको अहिले जारी प्रदर्शनी पाँचौँ हो । उनले देश विदेशमा भएका दर्जनौँ सामूहिक कला प्रदर्शनीमा सहभागिता जनाएका छन् । प्रदर्शनी असोज ९ गतेसम्म रहने जनाइएको छ ।

प्रतिक्रिया