पत्रकार पुडासैनी मृत्यु प्रकरणमा अस्मिता कार्की पक्राउ

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा नाम जोडिएकी अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भएका पत्रकार पुडासैनीले चितवनको कङ्गारु होटेलमा आत्महत्या गरेको प्रकरणमा ओखलढुंगा घर भएकी युवती अस्मिता कार्की आज पक्राउ परेकी हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवन महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको छ । अस्मिता पक्राउ परेपछि प्रहरीले न्युज २४ टिभी सिधा कुरा जनतासँगका पत्रकार रवि लामिछाने र युवराज कंडेलमाथि पनि निगरानी बढाएको छ । जानकारी अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको जानकारी दिएका छन् ।

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए । पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि कार्की पक्राउ परेकी हुन्।

प्रतिक्रिया