अध्येता दासको निधन

सप्तरी । इतिहास तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको राजविराजस्थित निवासमा सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा ३६ वर्षसम्म प्राध्यापन गरी अवकाश जीवनयापन गर्दै आएका दास विगत केही वर्षदेखि मुटु तथा मधुमेहलगायतका रोगबाट ग्रसित थिए । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सहप्राध्यापक दासको निधन भएको उनका भाइ प्राध्यापक जुगेश्वरलाल दासले जानकारी दिए ।

लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा वि.सं २०७४ वैशाख २७ गते इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट सम्मानित दासलाई संस्कृति क्षेत्रमा उत्कृष्ट योगदान गरेबापत ०७४ पुस ११ गते १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा ‘मिथिला रत्न’ उपाधिबाट समेत सम्मानित गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट विसं ०४८ मा सम्मानित दास युनिभर्सल पिस फेडरेसनबाट सन् ०१५ मा शान्तिदूत र मैथिली साहित्य परिषद्बाट विसं ०६९ मा शिवदत्त स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए । गहन अध्ययन–अनुसन्धान एवं शोध तथा कृति प्रकाशन गरेबापत दासलाई एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो ।

उनका नेपाल प्रज्ञा प्रतिष्ठानबाट ०६० सालमा ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरूः एक अध्ययन’ र साझा प्रकाशनबाट ०६७ सालमा ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू’ पुस्तक प्रकाशित छन् । ऐतिहासिक गढीका अतिरिक्त प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा दासको अध्ययन अनुसन्धान तथा शोधहरू पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रकाशित छन् ।

मैथिली विषयको कक्षा १० को पाठ्यपुस्तकमा उनको ‘प्राचीन विदेह’ पाठ समावेश गरिएको छ । उनले सप्तरीका साथै मिथिला क्षेत्रको धार्मिक, ऐतिहासिक एवं प्राचीन इतिहासबारे गहन अध्ययन अनुसन्धान गरेका थिए । उनको ०५८ सालमा पहिलो कृतिको रूपमा ‘सप्तरीको राजनीतिक इतिहास एवं प्रमुख धार्मिकस्थलहरू’ लगायत आधा दर्जन पुस्तक प्रकाशित छन् । पिता जयनारायणलाल दास ‘बच्चाबाबु’ र आमा अनसुया देवीको कोखबाट सन् १९४१ नोभेम्वर १४ का दिन सप्तरीको साविकको मलेठ गाविस–६ स्थित गढीयागाउँमा जन्मिएका इतिहासविद् दासको श्रीमती विद्यादेवी दास, दुई छोरी अर्चना, अञ्जली र एक छोरा सन्दीप छन् ।

मैथिली साहित्य परिषद् र चित्रगुप्त सेवा समितिको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका दासले मिथिला क्षेत्रमा रहेका ऐतिहासिकस्थल तथा पुरातात्विक महत्वका स्थलको संरक्षण संवद्र्धनमा सदैव जोड दिँदै आएका थिए । दासको अन्तिम संस्कार पैतृकगाउँ गढियामा मंगलबार गरिएको उनकी श्रीमती विद्यादेवीले जानकारी दिइन् ।

प्रतिक्रिया