सिभिलमा परीक्षणस्वरूप अनलाइन पुर्जा

काठमाडौं । सिभिल सर्भिस हस्पिटल अफ नेपालले बुधबारदेखि अनलाइनमार्फत बिरामी जाच्ने पुर्जा काट्ने सेवा सुरु गरेको छ । बिरामीको सेवा गर्ने उद्देश्यले यस्तो सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दीर्घराज आरसीले बताए ।

पुर्जा लिन लामो लाइन बस्नुपर्ने, बिहानैदेखि ४÷५ घण्टा लगाएर उभिनुपर्ने अवस्थालाई कम गर्न सेवा सुरु गरेको उनले बताए । उनले भने, ‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौँ । अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्न सक्ने भएका छन् ।’ ‘परीक्षणका रूपमा बुधबारदेखि सुरु भएको हो । अब अस्पताल नै आउन नपर्ने त होइन तर युवा पुस्ता वा नेट र मोवाइल राम्रोसँग चलाउन जान्ने बिरामी वा आफन्तलाई सहज होस् भन्ने उद्देश्यले हामीले सेवा सुरु गरेका हौँ ।’

अब पुर्जा लिनकै लागि अस्पतालमा आएर लाइनमा बस्नुपर्ने अवस्था बिस्तारै अन्त्य हुँदै जान्छ र डाक्टरकोमा मात्रै उपचारको लागि जानुपर्ने हुन्छ । निर्देशक डा. आरसीले थपे, ‘कुनै पनि सरकारी अस्पतालमा सुरु भएको छैन, हामी पहिलो अस्पताल हो । अब कस्तो खालको प्रतिक्रिया (रेस्पोन्स) आउँछ त्यसअनुसार यो सेवा विस्तार गर्दै लैजान्छौँ ।’

अब अनलाइनबाट मात्रै अस्पतालको पुर्जा काटिँदैन तर दैनिक प्रतिक्रियापछि १०÷१५ प्रतिशत गर्दै अनलाइनमा पुर्जा राखिने अस्पतालले जनाएको छ । त्यस्तै बिरामीको सुविधाका लागि र भिडभाड कम होस् भनेर सेवा सुरु गरिएको पनि सिभिलले जनाएको छ । हाल पुर्जा लिन पनि पालो पर्खने व्यवस्था हुँदै आएको छ ।

गाउँबाट आएका र विपन्न परिवारका बिरामीहरूका लागि यो सेवा तत्काललाई पु¥याउन नसकिने निर्देशक डा. आरसीले बताए । उनीहरूको विकल्पका लागि पनि पुर्जा सबै अनलाइन नगर्ने र १० प्रतिशत मात्रै पुर्जा अनलाइनमा राख्ने उनले बताए । प्रतिक्रियाअनुसार आफूहरू अगाडि बढ्ने पनि उनले जानकारी दिए । यस सेवाले सरकारी अस्पतालमा लामो लाइन बसेर पुर्जा लिनु पर्ने दुःख अब नहुने भएको हो ।

अब बिरामी वा बिरामीका आफन्तले प्रभु पे मोबाइल वालेटमार्फत सिभिल अस्पतालको ओपिडी पुर्जा लिन सक्छन् । मेडिफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमा नै बसेर पुर्जा लिन सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट पुर्जा लिने व्यवस्था सुरु गर्ने सिभिल पहिलो भएको हो । मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडिफ्लोका सिईओ सुरेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार मेडिफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल वालेटसँगको सहकार्यमा सुरु गरेको छ ।

कार्यकारी निर्देशक डा. आरसीका अनुसार अस्पतालमा हाल दैनिक आठ सय बिरामीहरू ओपिडीमा आउने गरेका छन् । अहिले यो सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल बालेटबाट यो सेवा लिने ग्राहकको लागि विशेष सहुलियतको व्यवस्था गरिने प्रभु टेक्नोलोजीका जीएम खुशल रेग्मीले जानकारी दिए ।

प्रभु पे वालेटमा रजिस्टर भएपछि विभिन्न बैंकबाट आफ्नो रकम जम्मा गर्न सकिन्छ त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्छ । त्यसपछि निजामती (सिभिल) अस्पतालमा क्लिक गर्नुपर्छ । त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने आउँछ, त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्नुपर्छ । त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्छ । त्यसपछि बिरामीले आफ्नो विवरण भर्नुपर्छ र टिकटको रकम आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिन्छ ।

सिभिलले अहिलेलाई जनरल ओपिडी पुर्जा लिनका लागि अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने बिहान ७ बजेसम्म राखेको छ । मोबाइलबाट पुर्जा लिन हाल अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने बिहान १० बजेसम्म तोकिएको छ । त्यस्तै अस्पतालले आफ्नै हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि पुर्जा लिन सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया