सेनेगललाई स्तब्ध बनाउँदै अल्जेरिया च्याम्पियन

एजेन्सी, कायरो । अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । फाइनलमा सेनेगललाई १–० ले हराउँदै अल्जेरियाले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो । अल्जेरियाले यसअघि सन् १९९० को संस्करणको उपाधि जितेको थियो । सन् २००२ मा उपविजेता बनेको सेनेगल यसपटक पनि अभागी रह्यो ।

त्यसवेला पनि सेनेगल पेनाल्टीमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । इजिप्टको कायरो अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा बाघदाद बोउनदेजाको प्रहार सालिफ सानेको खुट्टामा लागेर डिफ्लेक्ट भएको बल गोलमा परिणत भएको थियो । खेलको दोस्रो मिनेटमा नै भएको गोल नै अल्जेरियालाई जित दिलाउनका लागि निर्णायक बन्यो ।

खेलमा सेनेगलले अल्जेरियामाथि दबाब कायम गरे पनि गोल भने गर्न सकेन । खेलमा सेनेगलले अल्जेरियाको पोस्टमा १२ पटक एटेम्प्ट गरेको थियो । जसमा तीनवटा सट फ्रेममा लागेको थियो । दोस्रो हाफमा एमबाए नियाङले दुईवटा उत्कृष्ट मौका गुमाएका थिए । दोस्रो हाफमा सेनेगललाई पेनाल्टी पनि दिइएको थियो । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले त्यो पेनाल्टीको निर्णय उल्टाएको थियो ।

यता, इजिप्टमा सम्पन्न अफ्रिकन कप अफ नेसन्समा गोल्डेन बुट जितेका नाइजेरियाका स्ट्राइकर ओडियोन इघालोले शनिबार अन्तर्राष्ट्रिय खेल जीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन् । ३० वर्षे संघाई सिन्ह्वाका स्ट्राइकर इघालोले प्रतियोगितमा कुल ५ गोल गर्दै शीर्ष गोलकर्ता बनेका थिए । जुन साडियो माने, रियाद महारेज र सेड्रिक बाकाम्बुभन्दा २ गोल बढी हो । नाइजेरियाले ट्युनिसियालई १–० ले हराउँदै प्रतियोगिता तेस्रो स्थान पक्का गरेको थियो ।

मेरो लागि राष्ट्रिय टोलीबाट खेलेका ५ वर्ष स्वर्णिम यात्रा रह्यो तर परिवारका सल्लाहमा अब मैले अन्तर्राष्ट्रिय खेल जीवनमा पूर्णविराम लगाउने निर्णय लिएको छु,’ इघालोले भने, ‘राष्ट्रिय टोलीबाट खेल्न पाउनु मेरा लागि गर्वको कुरा हो । यसबीचमा मैले आपूmले सकेको योगदान दिने हर सम्भव प्रयास गरँे । अब म क्लब फुटबलमा केन्द्रित हुन्छु । राष्ट्रिय टोलीमा युवा खेलाडीले अवसर पाउन् भन्नका लागि पनि मैले सन्यासको निर्णय लिएको हुँ ।’

गत वर्ष रूसमा सम्पन्न विश्वकपमा टोली बाहिरिएपछि आलोचित भएसँगै इघालो गत वर्ष नै राष्ट्रिय टोलीबाट अलग्गिन संघारमा पुगेका थिए । तर प्रशिक्षक ग्रेनोट रोहरले उनलाई सन्यासको निर्णयबाट नलिन सुझाएपछि उनले राष्ट्रिय टोलीबाट निरन्तरता दिएका थिए । इघालोले नाइजेरियाबाट ३५ खेलमा १६ गोल गरेका छन् । उनले २००९ मा इजिप्टमै भएको यु–२० विश्वकपमा नाइजेरियाली युवा टोलीको कप्तानी समेत सम्हालेका थिए ।

प्रतिक्रिया