हेमकार हत्या प्रकरण :आरोपी साधारण तारेखमा रिहा

बाँके । एकै घरका पाँच जनाको हत्या आरोपमा १४ वर्षपछि समातिएका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ । हेमकार हत्याकाण्डका रूपमा चर्चित नेपालगञ्जको त्यो घटनामा बाँके प्रहरीले ढिलै भए पनि ठूलै गतवर्ष आरोपीलाई समातेर ठूलै सफलता हात पारेको चर्चा बटुलेको थियो ।

नेपालगञ्जको सदरलाइनमा सुनको व्यापार गर्दै आएका न्यु दीप ज्वेलर्सका सञ्चालक दीपक हेमकार, उनका बुबा ६२ वर्षीय जगदेव हेमकार, आमा ४५ वर्षीया सीतादेवी हेमकार, हजुरआमा ८२ वर्षीया गुलाबदेवी हेमकार र घरमा काम गर्ने १५ वर्षीय रामशनिस्चर चौधरीको हत्यामा संलग्न भएको आरोपमा भारतीय नागरिक किशोरीलाल सोनीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलासले सो आदेश दिएको हो ।

०६२ साल २३ फागुनमा नेपालगञ्जमा सुन व्यापारी दीपक हेमकारको परिवारका पाँच जनाको हत्या गरी लुटपाट समेत भएको घटनाका मुख्य आरोपी मध्येका एक थिए– किशोरीलाल सोनी । सोनी मृतक दीपक हेमकरका ससुरासमेत थिए । १४ वर्ष पुरानो उक्त हत्याकाण्डमा प्रारम्भिक चरणमै हत्या परिवारकै सदस्यबाट भएको हुन सक्ने निष्कर्ष प्रहरीले निकालेको थियो । तर, आरोपीहरू सबै भारतीय नागरिक भएकाले उनीहरूलाई पक्राउ गरी मुद्दा चलाउन सकिएको थिएन ।

पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र बाँके प्रहरीको विशेष टोलीले आरोपी किशोरीलाल सोनीलाई भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै केही समय अनुसन्धान गरी बाँके प्रहरीले जिल्ला अदालत बाँकेमा हत्या तथा डकैतीको मुद्दा दायर गरेको थियो । सरकारवादी भएको उक्त मुद्दामा जिल्ला अदालत बाँकेले ०७५ साल १४ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यद्यपि, आरोपी किशोरीलाल सोनीले भने आरोप अस्वीकार गर्दै आएका थिए ।

 त्यसपछि सोनी उच्च अदालत दाङमा निवेदन दिँदै साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउन माग गरेका थिए । उच्च अदालत दाङको नेपालगञ्ज इजलासले ०७५ साल २६ पुसमा जिल्ला अदालत बाँकेकै आदेशलाई सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर, त्यस आदेशविरुद्ध सोनीले ०७५ साल ५ चैतमा सर्वोच्च अदालतमा कारागार बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।

 ६ पटकको पेसी तारेखपछि गत २७ असारमा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोनीको माग दावीअनुसार नै उनलाई साधारण तारेखमै छाड्ने आदेश दिएका हुन् । सर्वोच्च अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेशमा ‘तत्काल प्राप्त प्रमाणबाट दोषी नदेखिएको’ उल्लेख गरेको छ । साथै ‘जिल्ला र उच्च अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने गरी गरेको आदेश बेरितको देखिएको’ पनि सर्वोच्चको आदेशमा उल्लेख छ ।

 सर्वोच्च अदालतबाट साधारण तारेखमै छाड्ने आदेश भएलगत्तै कार्यान्वयनको पत्र जिल्ला अदालत बाँके पुगेको थियो । त्यसलगत्तै आरोपी किशोरीलाल सोनी थुनामुक्त भई भारत पुगिसकेका छन् । नेपालगञ्जका सुन व्यापारी दीपक हेमकर परिवारको हत्या उनकै आफन्तबाट भएको अनुमान गरिए पनि उचित आधार र प्रमाण भेटिएको थिएन । तर, प्रहरीले विभिन्न टोली खटाएर हत्याबारे अनुसन्धान गरिरहेको थियो ।

घटनाको करिब ६ महिनापछि हत्यामा दीपककै पत्नी दीपा सोनी, दीपकका ससुरा किशोरीलाल सोनीको संलग्नता रहेको र सो कार्य गर्नका लागि उनीहरूले भारत सीतापुरका तीन जना हत्याराहरूलाई सुपारी दिएको पत्ता लगाएको थियो । प्रहरी अनुसन्धानकै क्रममा दीपककै पत्नी दीपा सोनी र ससुरा किशोरीलाल सोनीको संलग्नता रहेको तथ्यहरू फेला परेको थियो । यसबीच आरोपी दीपा सोनीले दीपकको नाममा रहेको घरसमेत बेचबिखन गरी भारतको लखनउ पुगिसकेकी थिइन् ।

करिब साढे दुई वर्ष लामो अनुसन्धानपछि घटनामा संलग्नहरूको नालीबेली पत्ता लगाई नेपाल प्रहरीले ०७५ साल १३ असोजमा सोनीलाई भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो । तर, सर्वोच्चको यस्तो निर्णयले बाँके प्रहरीको वर्षाैं लामो अनुसन्धान र मिहिनेत खेर गएको छ ।

प्रतिक्रिया