पुस्तकमा ‘परराष्ट्रका पात्र’

काठमाडौं । पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘परराष्ट्रका पात्र’ सार्वजनिक भएको छ । उक्त पुस्तकले नेपालको परराष्ट्र सम्बन्धका विविध विषयमाथि तथ्यपरक जानकारी दिएको छ ।

भट्टराईले भारतको कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल–भारत सम्बन्धमा विद्यावारिधि गरेका छन् । साथै, उनले भारतको वैदेशिक सेवाका विभिन्न पक्षको मूल्यांकन गरी महाविद्यावारिधिसमेत गरेका छन् । नेपालको कुटनीतिक क्षेत्रमा लगभग चार दशक काम गरेको भट्टराईले यस पुस्तकमा विदेश अड्डाका प्रमुख सञ्चालकको भूमिकालाई केलाउने कोशिस गरेका छन् ।

किताब पब्लिसर्सले प्रकाशन गरेको यस पुस्तकमा नेपालको परराष्ट्र मामिलाका विभिन्न कालखण्डमा कस–कसले, कसरी चलाए ? हाम्रो परराष्ट्र नीति कसरी तय हुँदै आयो ? लगायतका विषयलाई उधिनिएको छ । त्यस्तै, परराष्ट्रका मामिलामा कुन नेता वा मन्त्रीको कार्यशैली कस्तो थियो ? जैसीकोठा र मुन्सीखानाजस्ता नेपालका प्रारम्भिक वैदेशिक अड्डादेखि त्यसका सञ्चालकका बारे यस पुस्तकमा थुप्रै नयाँ तथ्य समेटिएको छ ।

उनले भने, ‘यो पुस्तक लेख्नुको मेरो उद्देश्य यस क्षेत्रकै पुरानो परराष्ट्र कार्यालयबारे थप अध्ययन र अनुसन्धान, खोजी र संहिताकरणलाई झकझक्याउनु हो ।’ डा. भट्टराईले पुस्तकमा नेपालको परराष्ट्र कार्यालय र यसका स्रष्टा वा प्रमुख पात्रको भूमिकाको व्याख्या गरिएको जिकिर गरे ।

त्यसैगरी, पुस्तकमा बिपी, गिरिजाप्रसाद र मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, ऋषिकेश शाहलगायतका राजनीतिज्ञ तथा कुटनीतिज्ञका बारेमा चर्चासमेत गरिएको छ ।

परराष्ट्र मन्त्रालयको शाखा अधिकृतका रूपमा सन् १९७७ को लोकसेवा आयोग परीक्षामा प्रथम स्थान हासिल गरी सेवा प्रवेश गरेका डा.भट्टराई सन् २००९–११ सम्म नेपालको परराष्ट्र सचिव भएका थिए ।

जापान र जर्मनीको राजदूत भइसकेका भट्टराई कूटनीति क्षेत्रमा आउनुअघि अध्यापन र पत्रकारिता पेसामा आबद्ध थिए । त्यस्तै, उनले सन् २०१६–१८ सम्म राष्ट्रपतिका परराष्ट्र मामिला एवं कूटनीतिसम्बन्धी सल्लाहकारको रूपमा काम गरे ।

पुस्तक नेपाली कुटनीतिक क्षेत्रका प्रमुख सञ्चालक र उनीहरूले सञ्चालन गरेको कुटनीतिबारे जानकारी दिने उद्देश्य राखेर बजारमा ल्याइएको प्रकाशक किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकालले जनाइन् ।

प्रतिक्रिया