विशेष अदालतमा नयाँ टोली

काठमाडौं । भ्रष्टचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालतको न्यायाधीशको टोली नै परिवर्तन भएको छ । न्यायालय सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना लागु भएको दोस्रो दिनमै न्यायपरिषद्ले विशेषमा नयाँ टोली ल्याएको हो ।

अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीसहित ६ जना न्यायाधीश ल्याइएको छ । ६ जना न्यायाधीशको दरबन्दी रहेको विशेषमा गत फागुनदेखि भने ३ मात्र न्यायाधीश रहेका थिए । विशेषका अन्य पाँच सदस्यमा उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दीपायलका न्यायाधीश बालेन्द्र रुपाखेती, उच्च अदालत सुर्खेतकी न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश चन्द्रबहादुर सारू र उच्च अदालत विराटनगरका न्यायाधीश डा. रविशर्मा अर्याललाई ल्याइएको छ । अधिकारी आउनु अगाडि विशेषमा बाबुराम रेग्मी अध्यक्ष थिए भने सदस्यमा न्यायाधिशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्य रहेका थिए ।

रेग्मीलाई उच्च अदालत जनकपुर सरुवा गरिएको छ भने जोशीलाई उच्च अदालत पोखरा अन्तर्गत बाग्लुङ शाखा र वैद्यलाई उच्च अदालत पोखरामा सरुवा गरिएको छ । विशेषमा भ्रष्टचारसम्बन्धी मुद्दाको चाप बढेरहेका वेला बिहिबार बसेको न्यायापरिषद्को बैठकले ६ जनाकै दरबन्दी परिपूर्ति गरेको हो । विशेष अदालतमा मुद्दा धेरै भएको र हेर्ने न्यायाधीश कम भएको गुनासो हुँदै आएको थियो । भ्रष्टचार जस्तो मुद्दा हेर्ने न्यायलयमा कम न्यायाधीश हुदा त्यसको मार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेप्दै आएको थियो । वर्षौंसम्म पनि मुद्दा किनारा नलाग्ने समस्याका कारण वादी र प्रतिवादी दुवैले सास्ती खेपिरहेका थिए ।

यसैबीच, न्यायपरिषद् बैठकले एकैपटक उच्च र जिल्लाका दुई सय ३४ न्यायाधीशको सरुवा गरेको छ । उच्चका ७८ र जिल्ला अदालतका एक सय ५६ न्यायाधीश सरूवा गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले बताए । परिषद्को बैठकले न्यायाधीशको सरुवाका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गर्ने गरेको छ । प्रधानन्यायाधीशकै अध्यक्षतामा परिषद् रहने भएकाले सो सिफारिस स्वतः लागु हुनेछ । २ वर्ष कार्यकाल पुरा भएका र कतिपय विवादमा तानिएका न्यायाधीश पनि सरुवामा परेका छन् ।

प्रतिक्रिया