रौतहट । कटहरिया नगरपालिका–७ बगहीका ३६ वर्षीय श्रीभगवान् साह गरुडामा हिसाब किताब गरी काठमाडौं जान्छु भन्दै गत वैशाख १७ मा घरबाट निस्किए । गरुडामा रहेको लक्ष्मण कोल्ड स्टोरमा आफ्नो बाइक, मोबाइल, एटिएम लगायतका सामानहरू राखी साँझ करिब पाँच बजेदेखि सम्पर्कविहीन भएका थिए ।
उनी सम्पर्कविहीन भएपश्चात उनका पिता जियालाल साहले त्यसको भोलिपल्ट प्रहरीलाई जानकारी गराएका थिए । लक्ष्मण कोल्ड स्टोरमा साहका सामानहरू फेला परेपछि साहका आफन्तहरूले कोल्ड स्टोरका सञ्चालक रामकुमार चौधरीविरुद्ध अपहरण गरी हत्या गरेको आशंका गर्दै अपहरण तथा कर्तव्य ज्यान मुदा समेत दर्ता गराएका थिए । प्रहरीले चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो भने व्यापारीहरूले सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै आन्दोलनसमेत गरेका थिए ।
घटना रहस्यमय बन्दै गएपछि केन्द्रीय अनुसन्धान व्युरोबाट प्रहरी नायब उपरीक्षक तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोलीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले तीन दर्जनभन्दा बढीलाई बोलाएर सोधपुछ गरेको थियो भने प्रहरीको स्रोत साधनको ठूलो प्रयोग पनि भएको थियो ।
साहलाई खोज्न प्रहरीको अनुसन्धान टोली भारतीय प्रहरीको सहयोगमा भारतको हरिद्वार तथा मुम्बईसम्म पुगेको थियो । लामो समय खोजी गर्दा पनि अपहरणमा परेका भनिएका साह फेला पर्न सकेनन् । नत अपहरणकारी कै फोन आयो । तर, अनुसन्धानकै क्रममा एक सूचना प्रहरीसमक्ष आयो । जसले गर्दा प्रहरी नै झस्कियो ।
प्रहरीलाई आएको सूचना थियो, साह साधुको भेषमा भारतका विभिन्न स्थानमा घुमिरहेका छन् । मुम्बईमा साधुको भेषमा रहेको जानकारी पाउनासाथ मुम्बई पुगेको प्रहरीको टोलीले त्यहाँ साहलाई फेला पार्न नसकेपछि भैरहवाको सीमा नजिक लुकिछिपी साधुको भेषमा रहेको सूचना प्रहरीलाई प्राप्त भयो । उनी त्यहीँबाट प्रहरीको फन्दामा परे । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले साहलाई साधुको भेषमा गत मंगलबार नै भारतबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले बताए ।
पक्राउ परेपछि उनको अपहरणसम्बन्धी नाटक बाहिर आयो । आर्थिक कारोबार बिग्रँदै जान थालेपछि अपहरणको नाटक गरेर साधुको भेषमा लुक्दै हिँडेको प्रहरी समक्ष बताएका छन् । बिहीबार बिहान नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटमा साहलाई साधुकै भेषमा सार्वजनिक गरेको छ । सञ्चारकर्मीसामु साहले आर्थिक कारोबार लथालिंग भएपछि तनाव खप्न नसकेर सम्पर्कविहीन भएको बताए ।
साह कटहरियामा तराई इन्टरप्राइजेज खोलेर आइएमइ र काठमाडौंमा बाजुरा इन्टरप्राइजेज सञ्चालन गर्दै आएका व्यापारी हुन् । पक्राउ परेका व्यापारी साह विरुद्ध सार्वजनिक अभद्र व्यवहार कसुरमा मुद्दा चलाइएको उपरीक्षक खत्रीले जानकारी दिए ।
प्रतिक्रिया