काठमाडौं । उच्च अदालत पाटनले मानव बेचबिखनको एकै प्रकारको मुद्दामा छुट्टा छुट्टै आदेश दिएको छ । मानव बेचबिखनको मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेकालाई निर्दोष सावित गरेको छ भने कम सजाय दिएकालाई दोब्बर कैद सजायको फैसला गरेको हो ।
नेपाली चेलीलाई विदेशमा लगेर बेचेको आरोप लागेका एकलाई उन्मुक्ति र अर्को घटनामा सजाय सुनाएको छ । सोमबार न्यायाधीशद्वय रमेशबहादुर थापा र हरिप्रताप केसीको संयुक्त इजलासले काँग्रेस नुवाकोटका नेता सुनबहादुर गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो । भारतमा चारवटा कोठी रहेको दाबी गरेको केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआईबी)ले अन्तिम पटक पुष ७ गते उनलाई नुवाकोटबाटै पक्राउ गरेको थियो ।
दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष तामाङविरुद्ध तीन जनाले उजुरी दिएका थिए । जिल्ला अदालत नुवाकोटका न्यायाधीश लोकजंग शाहको एकल इजलासले २०७४ सालमा ३७ वर्ष ६ महिना कैद र दुई लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो । जिल्लाको आदेशविरुद्ध सुनबहादुरले २०७५ जेठ २४ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
त्यसमा सोमबार सुनुवाई गर्दै न्यायाधीशद्वयले सुनबहादुरलाई सफाइ दिएका हुन् । फैसलामा पुनरावेदन जिकिर नपुग्ने र दाबी पुग्ने सजाय पनि स्थगित गरिदिन भनिएको छ । काँग्रेसबाट विजयी सुनबहादुरले भारतका विभिन्न ठाउँमा कोठी सञ्चालन गरेको आरोप थियो । भारतका विभिन्न ४ ठाउँमा रहेको कोठी उनकी श्रीमतीले सञ्चालन गर्दै आएको र जबर्जस्ती यौनधन्दामा संलग्न गराउँदै आएको आरोप पत्रमा जिकिर गरिएको थियो । भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा सुनबहादुरसहित ३ जनाविरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए ।
बेचिएको स्थानबाट फर्केका महिलाहरूले दिएको जाहेरीका आधारमा सुनबहादुरबिरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला अदालतको फैसलाले पक्राउ परे पनि उनी सर्वोच्चसम्म आएका थिए । तर, सर्वोच्चले धरौटीमा छोड्न नमानेपछि उनी थुनामा रहेका थिए । तर, उच्च अदालतको आदेशसँगै उनी रिहा भईसकेका छन् । तर, मंगलबार भने उच्च अदालतले यस्तै प्रकृतिको मुद्दामा ओरोपितलाई दोषी ठहर गर्दै सजाय दिएको छ । रूकुमकी सिस्ने हिमाल (नाम परिवर्तन) लाई बेचबिखन गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सफाइ दिएका ज्ञानेन्द्र चनरा र सुनिता मुरमुरलाई जनही २० वर्ष कैद सजाय गरेको हो ।
जिल्ला अदालतले १० वर्ष कैद गरेका श्यामलाल डंगोलको कैद पनि उच्च अदालतले वर्ष पु¥याइदिएको छ । न्यायाधीशद्वय यज्ञराज भट्ट र टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उनीहरूलाई कैद र जनही २ लाख जरिवाना सुनाएको हो । उनीहरूबाट सिस्ने हिमाललाई जनही दुई लाख क्षतिपूर्ति भराउने फैसलामा उल्लेख छ ।
जिल्लाले बिक्री गर्ने मध्येका मुख्य नाइके डंगोललाई १० वर्ष मात्र कैदको फैसला सुनाएको थियो । त्यसमा उच्चले १० वर्ष थप गरिदिएको हो । जिल्लाले ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने भनेकोमा उच्चले एक लाख ५० हजार रुपैयाँ थप गरिदिएको छ । जिल्लाले डंगोललाई मात्र दोषी ठहर गरेको थियो । २०७१ साल वैशाख १ गते ज्ञानेन्द्र, सुनिता र डंगोलले उनलाई रूकुमबाट काठमाडौं ल्याएर विराटनगर काँकडभिट्टा हुँदै भारत पु¥याएका थिए । पाँच दिनपछि भारतको कलकत्ताबाट दुबई हुँदै सिरिया पु¥याएर उनलाई बेचिएको थियो ।
सिस्ने हिमाललाई डंगोलले कम्पनीमा काम लगाइदिने लोभ देखाएका थिए । डंगोललाई भने सिस्नेका देवर पर्ने ज्ञानेन्द्र चनराले भेटाएका थिए । सिस्ने हिमाललाई कलकत्ता पु¥याएर उनीहरूले भक्ते परियार र टोपराज अधिकारीको जिम्मा लगाएका थिए । ती दुवैले सिस्ने हिमालसहित ५ जना केटीलाई कलकत्तादेखि दुबई पठाए । त्यहाँबाट उनीहरूकै च्यानलका एक व्यक्तिले सिरिया पठाएका थिए ।
सिरिया पठाएपछिमात्र आफूलाई सात हजार अमेरिकी डलरमा बेचिएको थाहा पाएको सिस्ने हिमालले अदालतमा बयान दिएकी थिइन् । सिरियामा भएको यो समूहको अफिसले उनलाई एउटा घरमा काम गर्न भन्दै पठाएको थियो । त्यहाँ आफूलाई खान नदिने, यौन शोषण गर्ने, कुटपिट गर्ने, काम गरेको पैसा नदिनेलगायतका शोषण गरेको सिस्ने हिमालले अदालतसमक्ष बयान दिएकी थिइन् ।
प्रतिक्रिया