रौतहट । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडित जनताप्रति सरकार उदासीन बनेको आरोप लगाएका छन् । उपसभापति बिमलेन्द्र निधीसहित सवारीसाधनबाट रौतहट लगायतका जिल्लामा पुगेका देउवाले सरकारले काम गर्न नसकेको बताएका हुन् ।
सभापति देउवा विमानबाट बुधबार बिहान सिमरा हुँदै रौतहट पुगेका हुने भने उपसभापति निधी मंगलबार धनुषा पुगेर बाढी पीडितहरूसँग भेटघाट गरी रौतहट पुगेका हुन् । स्थलगत रूपमा बाढी पीडितको वासस्थानसम्म पुगेर देउवाले जानकारी लिएका थिए । विपदका वेला पनि सरकार जनताप्रति जवाफदेही नभएको बताउँदै देउवाले बाढी पीडितलाई सहयोग गर्न सबै पार्टी तयार रहे पनि सरकारले सकारात्मक भूमिका खेल्न नसकेको दाबी गरे ।
देउवाले बाढी प्रभावित गढीमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी, दुर्गा भगवती गाँउपालिकाको १, २, र ५ वडा तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गरेका छन् । उनले प्रदेश सरकारमा रहेका मधेशवादी दलले पनि मधेशको जनताको भावनसँग खेलवाड गरेर जनमतको अवमूल्यन गरेको बताए ।
प्रतिक्रिया