भागबण्डा टुंगियो, नाममा विवाद

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाको गृहकार्य १४ महिनापछि टुंगोमा पु¥याएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहयोगीसहित प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार घण्टा लामो छलफलले भागबण्डा टुग्याएको हो । यद्यपी नामका विषयमा भने अहिले पनि सहमति जुट्न सकेको छैन ।

भागबण्डा टुंगिएसँगै आइतवार सचिवालय बैठक बोलाएर पारित गर्ने सहमति पनि भएको छ । तत्काल सहमतिको विवरण नखोलिएपनि साउन ५ गते बोलाइएको सचिवालय बैठकमा पारित गरेपछि सार्वजनिक गरिने नेताहरुले बताएका छन् । बिभिन्न विभागको नेतृत्वमाथि शिर्ष नेताहरुविच नै हानथाप हुँदा अध्यक्षहरुबीच नाममा सहमति हुन कठिन भएको थियो ।

सोही कारण सम्पूर्ण विवरण आइतवार सार्वजनिक गरिने नेताहरुले प्रतिक्रिया दिएका छन् । स्रोतका अनुसार जिल्ला इन्चार्जमा ४४÷३३ को भागबण्डा गरिएको छ । पूर्व एमालेको भागमा ४४ र पूर्वमाओवादीको भागमा ३३ जिल्ला परेको छ । ३२ वटा विभाग मध्येपनि १८ वटा पूर्व एमाले र १४ वटा पूर्व माओवादीको भागमा परेको स्रोतले जानकारी दिएको छ । संगठन, स्कुल र प्रचार विभागमा कसलाई राख्ने भन्ने बारेमा नेताहरुबीच अझै पनि विवाद भने कायमै रहेको छ ।

नेकपाका महासचिव विष्णु पौडेलले एकता प्रक्रियाका सम्पूर्ण गृहकार्य सम्पन्न भएको बताए । ‘एकताको गृहकार्य हार्दिकताका साथ सम्पन्न भएको छ’, बालुवाटारमा शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पौडेलले भने, ‘गृहकार्यको निष्कर्ष छिट्टै बस्ने सचिवालय बैठकमा प्रस्तुत हुन्छ । निर्णय गरेर कार्यान्वयनमा जान्छ । सम्पूर्ण विषयमा गृहकार्य सकिएको छ ।’
शीर्ष नेताको सहमतिमा यसअघि नै राजनीतिक प्रतिवेदन पारित गरेर प्रकाशनार्थ पठाइ सकिएको छ । केन्द्रीय निकाय तथा विभाग तथा

जनवर्गीय संगठनको कार्यविभाजनका विषयमा पनि गृहकार्य टुंग्याएको महासचिव पौडेलले बताए । उनले एकताअन्तर्गत सम्पूर्ण नेता कार्यकर्तालाई उपयुक्त जिम्मेवारी प्रदान गरिने निर्णय समेत भएको बताए । यसको विस्तृत विवरण आउँदो सचिवालय बैठकपछि सार्वजनिक गरिने उनको भनाई छ । बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी थिए ।

पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रुप दिइएको छ । संगठन, स्कुल, प्रचार लगायतका विभागमा कसलाई ल्याउने भन्नेमा नेताहरुविच ठूलो रस्साकस्सी छ ।

संगठन विभागमा रामबहादुर थापा बादल र बामदेव गौतमको दाबी छ भने स्कुल विभागमा ईश्वर पोखरल र नारायणकाजी श्रेष्ठको दाबी छ । केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिस्ट मञ्च र तीन आयोगबारे सचिवालयमै छलफल गर्ने सहमति भएको छ । त्यो बैठकबाट जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोक्ने, सम्पर्क मञ्चबारे पनि निर्णय गर्ने सहमति जुटेको छ ।

२०७५ जेठ ३ मा एकीकरण हुँदा तत्कालिन दुवै दलले तीन महिनाभित्र संगठनात्मक एकीकरण समाप्त गर्ने घोषणा गरेका थिए । तर, यति लामो समयहुदा पनि एकीकरणले अन्तिम रुप पाउन सकेको छैन । पछिल्लो समयमा नेताहरुले असार मसान्तको भाका राखेका थिए । एकताको टुंगो लागेको दावी गरेपनि यो भाकामा नेताहरुले निर्णय भने सार्वजनिक गर्न सकेका छैनन् ।

प्रतिक्रिया